लकडाउनमा गल्छी–मैलुङमा आठ पुल निर्माण सुचारू

  • त्रिशूली प्रवाह
  • २९ जेष्ठ २०७७, बिहीबार १८:२८

विदुर, गेम चेन्जर प्रोजेक्टको रूपमा निर्माण भईरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी योजनाको सडकमा पर्ने ८ वटा पक्कि पुल निर्माण लकडाउनको अवधीमा पनि सुचारू भईरहेको छ ।

विश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण अधिकांश ठाउँमा कामदार अभावमा केही समय निर्माणका गतिविधी रोकिए पनि अहिले सुचारू भएको छ । राष्ट्रिय गौरवको आयोजना भन्दा माथिको दुईवटा सडकमध्येको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी योजनाभित्रको गल्छीदेखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणले तिब्रता पाएको हो । यो आयोजना अन्र्तगत ११ वटा पुनःनिर्माण हुनेछ । सरकारले महेन्द्र राजमार्गलाई ४ लेनको र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको शहरी क्षेत्रको बट्टार, विदुर, ढुंगेमा ४ लेन र अन्य भागमा डेढिकेटेड डबल लेन निर्माण गर्ने गरी गेमचेन्जर प्रोजेक्टको रूपमा छनोट गरेको हो ।
स्थानिय कामदार भएका कारण आवश्यक सामाग्री जुटाएसँगै पुल निर्माणको कामले तिब्रता पाएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । धादिङको गल्छीस्थित महेशखोला, नुवाकोटको कोल्पुटार स्थित कोल्पुखोला, रातामाटे स्थित ठुलो खोला, गेर्खुखोलास्थित गेर्खुखोलामा पुनःनिर्माणको काम भइरहेको छ । यस्तै, रसुवा र नुवाकोटको सिमाना बेत्रावतीस्थित फलाखुखोला, नयाँपुलस्थित त्रिशुली नदी, चिप्लेटीस्थित त्रिशूली नदी र रसुवाको मैलुङस्थित ठाडो खोलामा पक्कि पुल निर्माण भईरहेको छ ।

११ मिटर चौडाई र १० मिटरदेखि ६० मिटर लम्बाइको पुल निर्माण भईरहेको योजना प्रमुख भण्डारीले बताउनुभएको छ । उक्त पुलको स्टिम ढलान, नदी नियन्त्रण पहुँच सडक फुटपाथ रेलिङ निर्माण, खोला स्याल्ब ढलान, जग ढलान र वीन वाल लगाउने काम भईरहेको छ ।

गल्छीदेखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि अहिले ८ स्थानमा मात्र पुल निर्माणको काम शुरु भएको भण्डारीले बताउनुभयो । नुवाकोटको देविघाटस्थित तादी खोला, रसुवाको मैलुङमा क्यानल क्रसिङ र त्रिशूली खोलामा पुल निर्माण रोकिएको उहाँको भनाई छ । मैलुङमा क्यानल क्रसिङको दुईवटा पुल निर्माणका लागि पुनःडिजाइन गर्नुपर्ने र तादीखोलाको पुल निर्माणका लागि मुआब्जा विवादका कारण शुरु हुन नसकेको भण्डारीले बताउनुभयो ।
मैलुङमा क्यानल क्रसिङको दुईवटा पुल निर्माणका लागि १० मिटरको मात्रै डिजाइन भएको थियो । त्यहाँ ठुलो ठुलो ढुङ्गा रहेकाले बढाउनुपर्ने हुदाँ पुनः डिजाइन गर्नुपर्ने देखिएको छ । तादी खोलामा भने पुल भत्काउदा ब्यक्तिको घर भत्किने हुदाँ उहाँलाई मापदण्ड अनुसारको मुआब्जा दिएका थियौ तर स्थानीयको विवादले निर्माण शुरु हुन नसकेको आयोजनाले जनाएको छ ।

८ वटा पक्कि पुल निर्माणका लागि १ सय ५० जना कामदारले अहिले निरन्तर काम गरिरहेको आयोजनाले जनाएको छ । स्वास्थ्य सुरक्षाको सामाग्री प्रयोग गरेर सुरक्षित रूपमा काम भईरहेको छ । कालिका–तुन्दी–हिम्डुङ एण्ड थोकर जेबीले ५८ करोडको लागतमा धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्मको पक्कि पुल निर्माणका लागि ठेक्का पाएको थियो । उक्त पुल आगामी पुष मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पास उपलब्ध गराई निर्माण सामाग्री ल्याउनका लागि सहजीकरण गरिरहेको योजनाका प्रमुख भण्डारीले बताउनुभयो ।

नुवाकोटसम्म निर्वात रुपमा सामाग्री ल्याउन दिइएपनि रसुवातर्फ भने कोरोना रोकथामका लागि गरिएको कडाईले समयमा निर्माण स्थलमा सामाग्री पु¥याउन समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ । रातको समयमा मात्र आवत–जावत गर्न पाइने र २४ घण्टे क्वारेन्टाईनमा सवारी राख्नुपर्दा ढिलाई हुन थालेको बताइएको छ । लकडाउका समयमा त्रिदेशीय मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकको बाँकी खण्डमा तुन्दी कन्स्ट्रक्सनले कालोपत्रे गर्न शुरु गरेको छ ।

धादिङको गल्छीको महेशखोलादेखि पृथ्वीराज मार्गसँग जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको हो । सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर पिच गर्न थालिएको आयोजनाका योजना प्रमुख भण्डारीले बताउनुभयो । आयोजनाले अहिलेसम्म धादिङ महेशखोला वारि र नुवाकोटतर्फ कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पिपलटार र माझिटार गरी २० किमी सडकको तल्लो लियर पीच गरिसकेको आयोजनाकाले जनाएको छ ।

काठमाडौं–गल्छी–त्रिशूली–धुन्चे–स्याफ्रुवेंशी–रसुवागढीको दुरी १ सय ५२ किलोमिटर छ । तर मैलुङबाट सडक निर्माण भएपछि त्यो दूरी २३ किमी दूरी छोटिन्छ । आयोजनाको लागत ९ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।