एसईई सधैंको लागि हटाउने कि ?

  • त्रिशूली प्रवाह
  • ५ असार २०७७, शुक्रबार ०९:०२

कोरोना भाईरसको माहामारी सकिएको छैन । अझै बिपत्तीले कस्तो रूप लिने हो अड्कलबाजीमै सिमित छ । कोरोना भाईरसले सबै क्षेत्र ध्वस्त बनेको छ । ध्वस्त भएका क्षेत्रलाई के कसरी सुचारू र ब्यवस्थापन गर्ने अन्योलता बढेको छ ।

कोरोनाको प्रत्यक्ष असर नेपालको शिक्षा क्षेत्रमा देखिएको छ । कोरोना संक्रमण, रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन अर्थात बन्दाबन्दी शुरू गरेपछि बन्द रहेका स्कुल, क्याम्पस कहिले खुल्ने ठेगान छैन । कक्षा १ देखि १० सम्मको वार्षिक परिक्षा स्कुलहरूले सिध्याए पनि २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरू हुनु भन्दा एकदिन अगाडी स्थगित भएको थियो । क्याम्पसका विभिन्न तहका परीक्षा केहीको शुरू भईसकेको र केही मिति तोकिएका अवस्थामा लकडाउनको कारण स्थगित हुन पुगेको थियो ।

कोरोना भाईरसको कारण गत वर्ष २०७६ को एसइई परीक्षा यो वर्ष नहुने निर्णय गत बुधबार शिक्षा मन्त्रालयले गरेको छ । मन्त्री परिषद्को निर्णयानुसार एसइई परीक्षा अब नहुने भएको छ । विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानूनी ब्यवस्था हुन लागेको छ । कोरोनाको संक्रमण बढ्दै गएको र विद्यालय पनि क्वारेन्टाईनका रूपमा प्रयोग गरिएकोले पहिला जस्तै गरी परीक्षा लिन अहिले सम्भव देखिदैन । मन्त्री परिषद्ले एसईईको नतिजा आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडसिट दिने निर्णय गरेपछि गत वर्षको एसइईमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडसिट दिने तयारी भईरहेको छ ।

गत चैत्र ६ मा हुने तय भएको एसईईका प्रश्नपत्र परीक्षा केन्द्र नजिकको प्रहरीचौकीमा पुगिसकेका थिए । कोरोनाको जोखिम बढेपछि एक दिनअघि परीक्षा स्थगित गरिएको थियो । एसइईमा १ हजार ९ सय १५ केन्द्रमा ४ लाख ८२ हजार २ सय २९ विद्यार्थी परीक्षा दिने तयारीमा थिए ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को अब कुनै आवश्यकता नरहेकोले खारेजी गर्नुपर्ने निर्णय गरेको छ । समितिले एसइई सधैंका लागि खारेजी गर्न गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको बैठकले शैक्षिक सुधारको क्षेत्रमा चार बुँदे निर्णय गरेको गर्दै कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्था २०७६ सालको एसइई परीक्षा सञ्चालन नगर्ने मन्त्री परिषद्को निर्णय उपयुक्त ठहर गर्दै संविधान र कानुनले नै कक्षा १२ सम्म विद्यालय तहको शिक्षा किटान गरिसकेकोले अब कक्षा १० को अन्तिम परीक्षा पनि विद्यालयको सहकार्यमा स्थानीय तहले लिनुपर्ने निर्णय गरेको छ ।

यस वर्षका लागि स्थगित एसइई परीक्षालाई सधैंका लागि हटाएर कक्षा १० र कक्षा ११ का परीक्षाहरू स्थानीय तहबाट सञ्चालन गर्ने ब्यवस्था मिलाउन समितिले शुक्रबार मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा हुने गरी आवश्यक कानुनी ब्यवस्था गरी यथाशिघ्र कार्यान्वयनमा जानुपर्ने समितिले लिखित निर्देशन दिएको छ । एसइई परीक्षाको कुनै आवश्यकता नभएकोले यसलाई सधैंको लागि हटाउन सबै सरोकारवालाबीच वहश शुरू भएको छ । संसारका प्रायः सबै देशहरूमा कक्षा १२ सम्म विद्यालय तहको शिक्षा रहेको छ ।