एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन

  • त्रिशूली प्रवाह
  • ६ असार २०७७, शनिबार ०८:४६

विदुर, कोरोना भाईरसको संक्रमण नुवाकोट जिल्लामा बढ्न थालेपछि जिल्लामा रहेका सबै एम्बुलेन्सलाई तयारी अबस्थामा राख्न निर्देशन दिएको छ । जिल्लामा सञ्चालित सबै एम्बुलेन्सले अब स्वास्थ्य कार्यालय नुवाकोटलाई नियमित प्रतिवेदन बुझाउनुपर्ने निर्णय भएको छ ।

गत हप्ता जिल्ला प्रशासन कार्यालय नुवाकोटमा एम्बुलेन्स चालक तथा सञ्चालकको बैठकले नियमित रुपमा एम्बुलेन्सले प्रतिबेदन स्वास्थ्य कार्यालय नुवाकोटलाई बुझाउनुपर्ने निर्णय गरेको हो । कोरोना भाईरसको संक्रमण फैलिरहेकाले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न समेत स्वास्थ्य कार्यालय नुवाकोटले निर्देशन दिएको छ । आपतकालिन अवस्थामा प्रयोग गर्ने साधन र सबारी चालक जुनसुकै अवस्थामा तयारी भएर बस्न भनिएको छ । केही दिन अघि क्वारेन्टाईनबाट कोरोना भाईरस संक्रमितलाई अस्पतालको आईसोलेसनमा पु¥याउन समेत एम्बुलेन्स नपाएपछि यस्तो निर्णय गरिएको हो ।

नुवाकोटमा सञ्चालित सबै एम्बुलेन्स चालक आफु पनि सुरक्षित रहन आग्रह गरिएको छ । ब्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गर्न र त्यसका लागि आवश्यक परेका सम्बन्धीत स्थानीय तहसँग समन्वय गर्न पनि बैठकले आग्रह गरिएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एम्बसुलेन्स चालक जोखिममा पहिलो नम्बरमा रहेकोले सुरक्षित रहन र २४ सैं घण्टा सेवा दिनका लागि तयार रहन आग्रह गर्नुभयो ।
साथै बिरामी बोकेर लैजादा एम्बुलेन्स चालकहरुले सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनु पर्ने पनि निर्णय भएको छ । एम्बुलेन्सले गर्ने सबै काम स्थानीय सरकारको जानकारीमा हुनुपर्ने र जुनसुकै समयमा खोज्दा प्राप्त हुने गरी बसने सहमती भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ ।