विनपाको नीति तथा कार्यक्रम प्रस्तुत

बट्टार- आगामी आर्थिक वर्ष ०७७/७८ का लागि विदुर नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ ।

अन्तरसरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्थाअनुसार नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ को लागि वार्षिक नीति तथा कार्यक्रम बुधबार नगर सभामा पेस गरेको थियो । नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरसभामा वार्षिक नीति तथा कार्यक्रम ०७७÷७८ को प्रस्तुत गरेका थिए । उनले स्थानीय सरकार स्थापना र सञ्चालन भएको तीन वर्षको अवधिमा स्थानीय आयोजनाको पहिचान, प्राथमिकीकरण, छनोट र मूल्याङ्कनजस्ता क्रियाकलापलाई तथ्यपरक एवम् मापदण्डमा आधारित बनाई हालसम्म भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा थप मजबुद र सुदृढ ढङ्गले सञ्चालन गरिँदै लगिने बताए ।

सो कार्यक्रममा उपप्रमुख गीताकुमारी दाहालले आ.व. ०७७/७८ को लागि वार्षिक योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । उनले सभामा आ.व. ०७५/७६ को यथार्थ आय–व्यय विवरण, आ.व.०७६/७७ को संशोेधित आय–व्यय अनुमान र आगामी आ.व. ०७७/७८ को अनुमानित आय–व्यय विवरण यस नगरसभामा प्रस्तुत गरेकी थिइन् । उनले आ.व. ०७७/७८ का लागि एक अर्ब आठ करोड ७४ लाखको आय र चालू र पुँजीगत व्ययतर्फ त्यति नै एक अर्ब आठ करोड ७४ लाखको व्यय अनुमानित विवरण प्रस्तुत गरेकी थिइन् । नगरसभा सुरु हुँदा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी वडाध्यक्ष र केही नगरसभाका सदस्यहरूले वार्षिक नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने माग राख्दै होहल्ला गरी रोस्ट्रम घेरेर माइक र रोस्ट्रमको बार तोडफोड गरेका थिए । काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष र नगरसभा सदस्यको विरोधलाई सम्बोधन गर्दै प्रमुख प्रशासकयि अधिकृत सुदेशराज पोखरेलले जायज मागको विधि र प्रक्रियाअनुसार सुनुवाइ गर्ने बताएका थिए । होहल्ला र नाराबाजीबीच मेयर र उपमेयरले वार्षिक नीति तथा कार्यक्रम र वार्षिक योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । मेयर पण्डितले तपाईंहरूको माग आवश्यकताको आधारमा छलफल गरेर समावेश गर्न सकिने बताए पनि वडाध्यक्ष र नगर सभाका सदस्यहरू नाराबाजी र होहल्ला गरिरहेका थिए । होहल्ला र नाराबाजीबीच सभा भव्य रूपमा सम्पन्न भएको छ । उक्त सभा बिथोल्न नेपाली काङ्ग्रेसका कार्यकर्ता, पत्रकार र अन्य रूपमा सभाहलमा छिरेका थिए । काङ्ग्रेसको निर्देशनअनुसार वडाध्यक्षहरूले नीति तथा कार्यक्रम जनपक्षीय भए पनि साथ दिन नसकेकाले विरोधमा उत्रिएका केही वडाध्यक्षले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । विदुर नगरपालिकामा नेकपाको बहुमत रहेको छ ।