स्थानीय सरकारको खबरदारी गर्न काङ्ग्रेसको निर्देशन

विदुर – स्थानीय सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयलाई लिएर नेपाली काङ्ग्रेसले पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिलाई निर्देशन गरेको छ ।
नेकपाको नेतृत्व रहेको स्थानीय सरकारमा काङ्ग्रेस गाउँ तथा नगर इकाइले ध्यानाकर्षणपत्र बुझाएका हुन् । सबै गाउँपालिका र नगरपालिकामा काङ्ग्रेसको तर्फबाट ध्यानाकर्षणपत्र बुझाइसकेको छ । यस्तै, पार्टीको केन्द्रीय नीतिअनुसार काङ्ग्रेसकै नेतृत्व रहेको लिखु गाउँपालिकामा पनि काङ्ग्रेसले ध्यानाकर्षणपत्र बुझाएको छ ।

नेपाली काङ्ग्रेसले स्थानीय सरकारभित्र भ्रष्टाचार संस्थागत बन्दै गएको र कार्यकर्तामुखी बजेट विनियोजन गरेर विकासको नाममा राजनीतिक स्वार्थ पूरा गर्ने काम मात्र हुँदा नागरिकमा परिवर्तनको अनुभूति हुन नसकेको भन्दै आइरहेको छ । नागरिकमुखी र विकासको वास्तविक अनुभूति हुने गरी बजेट निर्माण गर्न सबै स्थानीय सरकार प्रमुखसँग नुवाकोट काङ्ग्रेसले माग गरेको छ ।
स्थानीय सरकारका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउँदै काङ्ग्रेसले विकासको नाममा प्राकृतिक स्रोतको दोहन गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने, बाल विकास सहयोगी र विद्यालय कर्मचारीलाई श्रम ऐनअनुसार पारिश्रमिक उपलब्ध गराइनुपर्ने र क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षण गर्नुपर्ने मागसमेत गरेको छ । नगरपालिका तथा गाउँपालिकामा बेथिति बढ्दै गएको र नागरिकमा स्थानीय सरकारप्रतिको विश्वास घट्दै गएकाले पार्टीभन्दा माथि उठेर नगर विकासमा केन्द्रित रहन आग्रहसमेत गरिएको छ ।

नुवाकोटमा दुई नगरपालिका र तीन गाउँपालिकामा नेकपाको नेतृत्व रहेको छ । नेपाली काङ्ग्रेसको नेतृत्वमा भने नुवाकोटका सातवटा स्थानीय तहमा रहेको छ ।