स्वास्थ्य शिविर र राहत वितरण

सरस्वती न्योपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–५ ठुलोभार्खुमा स्थानीय समाजसेवी नर्स प्रतिमा तामाङले स्वास्थ्य शिविर गरेर राहत वितरण गत हप्ता गरेकी छिन् ।

बिएसी नर्स एवं समाजसेवी तामाङले सानैदेखि समाजका दिन दुःखीलाई सहयोग गर्नुपर्छ भन्ने मानसिकता बोकी बुबा नेकपा जिल्ला अध्यक्ष कन्र्याल तामाङ र श्रीमान मेगा बैंक जिल्ला शाखा स्याफ्रुवेंशी शाखा प्रबन्धक छोक्याल दोर्जे तामाङको प्रेरणाबाट अध्ययन पश्चात समाज सेवामा तल्लिन छिन् । पढाई सकेर कोमिन स्यामेवाङफेल मा.वि.मा स्कुल नर्सका रुपमा कार्यरत उनले ठुलोभार्खुमा रहेका एकल महिला, एकल पुरुष, बृद्धबद्धालगायत अशक्त र अपाङ्गता भएका मनिसलाई चामल, दाल, तेल वितरण गरेर स्थानीयको स्वास्थ्य जाँच गरी आवश्यकता अनुसारको औषधी निःशुल्क वितरण गरेकी छिन् ।

स्वास्थ्य शिविरमा बिएसी नर्स तामाङ स्याफ्रुवेंशी स्वास्थ्यचौकी इञ्चार्ज सबिना श्रेष्ठ, रसुवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सोनाम घले सहभागी थिइन् । समाजसेवी एवं नर्स प्रतिमाले आफ्नो ब्यक्तिगत रुपमा पहिलो पटक राहत तथा स्वास्थ्य शिविर सञ्चालन गरी औषधी वितरण गरेकोमा हृदयदेखि नै धन्यवाद दिंदै गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले उनले प्रशंसा गर्नुभयो । पालिका प्रमुख कैसाङनुर्पु तामाङ, वडाध्यक्ष सिङ्गी डिण्डुप तामाङ, भार्खु समाज सुधार समितिका अध्यक्ष कान्छा तामाङ, मेगा बैंक शाखा प्रबन्धक छोक्याल दोर्जे तामाङको उपस्थितिमा स्वास्थ्य उपचार र राहत वितरण गरिएको थियो ।