६ महिनापछि रसुवागढी नाका सञ्चालन हुँदै

धुन्चे, विश्वब्यापी फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण गत पुसदेखि बन्द भएको रसुवागढी नाका सञ्चालनमा ल्याउन चीन सरकार सहमत भएको छ । चीन सरकार सहमत भएपछि नाका सञ्चालन गर्ने बारे सिमा जोडिएको दुई देशका सीमा प्रशासकबीच नाका कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा बुधबार सिमानामा बैठक भएको छ । कोरोना भाईरस संक्रमण हुन सक्ने भन्दै गत माघ १५ गतेदेखि स्थानीयको दबावमा उक्त नाका बन्द भएको थियो ।

चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आईसकेको छ । शुरूमा स्थानीयले कोरोना भाईरस भित्र्नि सक्ने त्रासमा नाका नखोल्ने अडान लिएकाले नाका सञ्चालनमा आउन सकेको थिएन । नाका खुलेपछि पहिलो चरणमा चीनको केरूङमा अड्किएका अर्बौ राजश्व तिर्ने सामाग्री ल्याउन लागिएको छ । सामान आयात निर्यातको बारे बुधबार सिमामा भएको बैठकले केरूङमा रहेका नेपाल आउन पर्खेर बसेका ट्रक, कन्टेनर कसरी स्वास्थ्य मापदण्ड अपनाएर ल्याउने विषयमा हिजो छलफल भएको छ । चालक तथा सहचालक जाँदा परीक्षण गराएर जाने ब्यवस्था मिलाइने सहमती दुवै पक्षले गरेको छ । नाका सञ्चालन गर्नका लागि कुनै पनि समस्या नरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । अब चीनबाट सामान लोड भएका ट्रक, कन्टेनर नेपाल आउने छ र शुक्रबारदेखि लोड भएका ट्रक, कन्टेनर भन्सारमा आईपुग्ने समेत उहाँले बताउनु भयो ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामाग्री, फलफुल र टेलिकमका सामाग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामाग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवत–जावत गर्ने गरेका थिए । चीनले अन्तराष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा ब्यापारी, ब्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरूङ पुग्न २४ किलोमिटर दुरी पार गर्नुपर्छ । गत फागुन अन्तिमसम्म केरूङमा बसिरहेका तथा केरूङको ब्यवसाय सञ्चालन गर्ने ब्यक्ति जाने तथा आउने गरेका थिए । हाल केरूङमा साना ठुला गरेर १५ सय सवारी साधन गत पुसदेखि अड्किएको ब्यवसायीले बताएका छन् ।