रसुवाका होटल तथा पर्यटन ब्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा

धुन्चे, कोरोना भाईरस संक्रमणका कारण रसुवा जिल्लाको होटल तथा पर्यटन ब्यवसाय उठ्न नसंक्ने गरी थलिएको छ । रसुवामा स्वदेशी तथा विदेशी पर्यटकको लागि स्तरीय होटल तथा रेष्टुरेण्ट सञ्चालनमा रहेका थिए । होटल तथा पर्यटन ब्यवसाय चैत्र महिनादेखि नै बन्द भएर असार १ गतेदेखि जसोतसो सञ्चालनमा आएपनि सवारी साधान आवतजावत नहुँदा ब्यापार हुन सकेको छैन ।

चीनमा कोरोनाको संक्रमण शुरू भएसँगै पुसको पहिलो हप्तादेखि नै पर्यटक आउने क्रम जिल्लामा घट्दै गएको थियो । चीन प्रवेश गर्ने रसुवागढी नाका पनि पुसदेखि बन्द भएको थियो । गत चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि जिल्लामा आन्तरिक तथा पर्यटक आउन पूर्ण रूपमा बन्द भयो । लकडाउन शुरू भएपछि जिल्लाका होटल तथा पर्यटन ब्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा भएको होटल तथा पर्यटन ब्यवसायी संघ रसुवाले गरेको सर्वेक्षणले देखाएको छ । तथ्याङ्कअनुसार लाङटाङ क्षेत्रमा ५० वटा, स्याफ्रुवेंशीमा २५, टिमुरेमा १०, तामाङ सम्पदा मार्गमा ७०, गोसाइँकुण्ड पदमार्गमा २१, धुन्चेमा २०, कालिकास्थानमा ९, ठुलोस्याफ्रुमा ३० र एकसय वटा रेष्टुरेण्ट गरी जिल्लामा ३ सय ३५ होटल तथा रेष्टुरेण्ट सञ्चालनमा रहेका थिए ।

लाङटाङ क्षेत्रका होटललाई प्रति महिना १ करोड २५ लाख, स्याफ्रुवेंशीका होटललाई ६२ लाख ५० हजार, टिमुरेका होटललाई ३० लाख, तामाङ सम्पदा मार्गका होटललाई १ करोड ४० लाख, गोसाइँकुण्ड पदमार्गका होटललाई ५२ लाख ५० हजार, धुन्चे रहेका होटललाई ५० लाख, कालिकास्थानमा रहेका होटललाई १८ लाख, ठुलोस्याफ्रुका होटललाई ७५ लाख र अन्य रेष्टुरेण्टलाई १ करोड २५ लाख रूपैयाँ घाटा भएको उक्त तथ्याङ्कले देखाएको छ ।
संघका महासचिव निशान गजुरेलले बताएअनुसार ब्यवसाय बन्द हुँदा कर्मचारी तथा सञ्चालक समेत गरी ८ सय १० जना बेरोजगार भएका छन् । जिल्लामा सञ्चालनमा रहेका होटलले कर्मचारीलाई प्रति महिना १ करोड २१ लाख ५० हजार तलब दिंदै आएको समेत तथ्याङ्मा उल्लेख छ । जिल्लाका होटलले औसतमा १५ हजार दिने र केही होटलमा सञ्चालक आफैं खटिने भएकाले यसमा सञ्चालनको विवरण समेत समेटिएको संघले जनाएको छ ।