निजी स्कुलका लेखा र प्रशासन खुल्ला

विदुर, नुवाकोट जिल्लाका निजी विद्यालयले आषाढ १ गतेदेखि लेखा र प्रशासन शाखा खोलेर अभिभावक र विद्यार्थीसँग सम्पर्क गरेका छन् ।

जिल्लाका ५१ निजी विद्यालयका ९ हजार भन्दा बढी विद्यार्थी अनलाईन कक्षा र दुर शिक्षा कार्यक्रममार्फत अध्ययनमा जोडिएका छन् । निजी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक खरीद गरेर घरबाटै पठन–पाठनमा सरिक भईरहेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन नुवाकोटले जिल्लाका सबै निजी विद्यालयलाई अफिस खोलेर अभिभावक र विद्यार्थीसाग सम्पर्क गर्न निर्देशन दिएको थियो । प्याब्सन नुवाकोट अध्यक्ष प्रकाश कुईकेलले विज्ञप्ती प्रकाशित गरेर अभिभावकसँग आर्थिक कुरा नगर्न आग्रह गरेका छन् । विद्यालय दैनिक १० बजेदेखि दिउँसो २ बजेसम्म खोलेर शिक्षकले विद्यार्थीलाई अध्ययनको लागि सहजीकरण गरिरहेका छन् ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई केन्द्रले तयार गरेको दुर शिक्षा कार्यक्रम अन्र्तगत जनता टिभी, टिभी टुडे, योहो टिभीमा कक्षागत पढाई शुरू भईरहेको छ । जिल्लाका केही विद्यालयले स्कुलबाटै अनलाईन कक्षा शुरू गरेर फेसबुक पेजमा होमवर्क दिएका छन् । अर्किड बोर्डिङ स्कुलले अनलाईन कक्षा सञ्चालन गरी शिक्षकले पढाईरहेको प्रिन्सिपल रामहरि रिमालले बताउनु भयो । नजिकका विद्यार्थीको शिक्षक घर–घरमा गएर होमवर्क चेक गर्ने र होमवर्क दिने गरिरहेको समेत उहाँले बताउनु भयो । बट्टारको सुभेनियर बोर्डिङ स्कुलले पनि शिक्षकलाई नियमित हाजिर गराएर फोन गरी विद्यार्थी र अभिभावकसँग सम्पर्क गरिरहेको प्रिन्सिपल ताराबहादुर कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले अभिभावकलाई शुल्कको कुरा गरेका छैनौं, शिक्षकलाई चैत्रदेखि तलव दिन नसकेको विद्यार्थीसँग शुल्क नउठाएकोे उहाँले बताउनु भयो । काम गर्नुस तलब एक दिन त पाईहाल्नु हुन्छ नि भनेर शिक्षक, कर्मचारीलाई थमथमाई रहेको उहाँले बताए ।’ जिल्लाका निजी विद्यालय सञ्चालकहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । सरकारले केही घोषणा गर्ला र अभिभावसँग समन्वय गरेर शुल्क र भर्ना गराउने पक्षमा सञ्चालकहरू रहेका छन् । सरकारले घोषणा गरेअनुसार एक महिनाको शुल्क छुट गर्ने पक्षमा निजी विद्यालयको छात्रा संगठन प्याब्सन र एन प्याब्सनका केन्द्रीय कमिटी लागिरहेका छन् । सरकारले लकडाउनको अवधीको कुनै पनि शुल्क बहाना बनाएर विद्यार्थीसँग नलिन निजी विद्यालयलाई निर्देशन गरेको छ ।