नुवाकोटका १५ जनाले कोरोनालाई जिते

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:२१

 

विदुर, नुवाकोट जिल्लाका १५ जनाले कोरोना भाईरसलाई जितेर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमित बढिरहेको छ । शुक्रबारसम्म नुवाकोटमा २४ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । कोरोनाको संक्रमित बढ्न थालेपछि नुवाकोटले पिसिआर मेसिन र केमिकल खरिद गर्ने प्रक्रिया अगाडी बढाएका छन् । पिसिआर मेसिन किन्नको लागि कोरियन सहयोग नियोग (जाईका)ले लगानी गर्ने भएको छ ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्ला अस्पताल त्रिशूलीमा रहेका आईसमेलेसन वार्डमा रहेका म्यागङ गाउँपालिकाका ४२ वर्षिय १ पुरूषमा पिसिआर परीक्षणबाट कोरोना संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त रिपोर्टमा कोरोना संक्रमित भएको जानकारी स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उक्तम खनालले दिनुभयो । उहाँले दिएको जानकारीअनुसार जिल्लामा कोरोना संक्रमित ब्यक्ति २४ जना रहेको, ८ जना त्रिशूली अस्पतालमा र एक जनाको खरानीटार अस्पतालमा उपचार भईरहेको छ । संक्रमितमध्ये १५ जना कोरोनालाई जितेर घर फर्केका छन् ।
गत बैंशाखसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ जना काठमाडौंसँग जोडिएको ककनी गाउँपालिकाका ब्यक्तिमा देखिएको थियो । सरकारले जेठ १ गतेदेखि अन्य जिल्ला र भारतलगायत अन्य देशबाट नागरिक ल्याउन थालेपछि नुवाकोटमा संक्रमितको संख्या ह्वात्तै बढेको हो । डेढ महिनाको अवधिमा संक्रमित २३ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार शुक्रबारसम्ममा जिल्लामा पिसिआरबाट परीक्षण गर्दा २४ जनामा पोजेटिभ देखिएको छ । गत जेठ १ गतेपछि नुवाकोटमा अन्य जिल्ला, भारत र अन्य देशबाट झण्डै १ हजार २ सय जना जिल्ला भित्र्एिका छन् । बाहिरबाट आएकालाई गाउँपालिका र नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाईनमा १४ दिनसम्म राखेर पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएमा घर पठाउने गरिएको छ ।

छिमेकी जिल्ला रसुवामा कोरोना भाईरस (कोभिड–१९) गत हप्ता ९ जनामा संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामै कोरोना संक्रमण फैलिएको छ । रसुवामा पनि बाहिरबाट आएकालाई मात्र कोरोना संक्रमित पुष्टि भएको छ ।