कोरोना भाईरस नियन्त्रण गर्न प्रहरीको अभियान

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:३७

विदुर, कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोधसहित नुवाकोट प्रहरीले प्लेकार्ड र माईकिङ अभियान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले सदरमुकाममा ‘‘दुई मिटरको सामाजिक दुरी कायम गरौं, मास्कको अनिवार्य प्रयोग गरौं, पटक–पटक साबुन पानीले हात धोऔं’’ लगायतका सन्देश लेखिएको प्लेकार्ड प्रर्दशन गरेको थियो । देशभर प्रहरीले विशेष अभियान अन्तर्गत नुवाकोट प्रहरी कार्यालयले पनि प्रहरी र ट्राफिक परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान गत हप्तादेखि शुरू गरेको नुवाकोट प्रहरी प्रमुख एसपी अबिनारायण काफ्लेले जानकारी दिनुभयो । सुरक्षाको लागि खटिएका सबै प्रहरीलाई सचेतना अभियानसहित खटाएको प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोट जिल्लामा मातहत युनिट सहित सबै प्रहरीलाई सुरक्षा गस्तीमा खटिदा सचेतनायुक्त प्लेकार्डसहित गस्तीमा जान नुवाकोट प्रहरी प्रमुख काफ्लेले निर्देशन दिनुभएको छ ।