पत्रकारको क्यामेरा खोसेर फरार वडाध्यक्षत्रयलाई प्रहरीले खोज्दै

  • त्रिशूली प्रवाह
  • १९ असार २०७७, शुक्रबार ११:४१
Logo of trishuli prawaha

विदुर, पत्रकारमाथी आक्रमण गरेर क्यामेरा तोडफोड गर्ने नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर गाउँपालिकामा निर्वाचित ३ जना वडाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पिडित पत्रकारहरूले उजुरी दर्ता गरेका छन् ।

शुक्रबार टिभी त्रिशूलीका समाचार प्रमुख सुजित भण्डारीले उजुरी दर्ता गर्नुभएको हो । तारकेश्वर गाउँपालिकाको वडा नं.–१ का अध्यक्ष दयानिधी अधिकारी, वडा नं.–३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं.–६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको नाममा उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले यस विषयमा अनुसन्धान र छानबिन शुरु गरेको छ । प्रहरीलाई समेत आक्षेप लगाएर पत्रकारको क्यामेरा तोडफोड भएको अभिब्यक्ति दिने वडाध्यक्ष पक्राउका लागि प्रहरी परिचालन गरिएको छ । गत असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनको क्रममा पत्रकार सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गर्ने तीनै जना वडाध्यक्षलाई हदैसम्मको कारबाही र क्षतिपुर्तीको माग गरिएको छ । सोही कार्यक्रममा समाचार संकलनका लागि पुगेका त्रिशूली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीलाई समेत हातखुट्टा भाच्ने धम्की वडाध्यक्षत्रयले दिएका थिए ।

घटनाको जिम्मा लिनुको सट्टा वडाध्यक्ष अधिकारी, श्रेष्ठ र तामाङले उल्टै विज्ञप्ती जारी गरेर पत्रकारको हातबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको क्यामेरा तोडफोड कसरी भयो प्रहरीले जानुन् भनेका छन् । पत्रकार भण्डारीको हातबाट खोसेर बाहिर फालिएको क्यामेरा बाहिर लात्ती भकुण्डो भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिलेसम्म फिर्ता नभएको उक्त क्यामेरा गाउँसभा भएको स्थल वरपर क्षतिग्रस्त अवस्थामा देखिएको प्रहरी श्रोतले बताएको छ । घटनास्थलको र क्षति पुगेको क्यामेराको अवस्थाको प्रहरीले मुचुल्ला तयार गरेको छ । क्यामेराका अवस्था दखेकाहरुका अनुसार त्यसमा प्रयोग हुने मेमोेरिकार्ड र ब्याट्री हराएको छ । क्यामेरामा जडित सिसाका भागहरु पूर्णरुपमा ध्वस्त भएको छ । प्रेस स्वतन्त्रताको हनन् र जनप्रतिनिधीले गरेको गुण्डागर्दी शैलीको चौतर्फी आलोचना भएको छ । पत्रकार महासंघ जिल्ला प्रदेश, केन्द्रिय समितिले घटनाको तत्काल छानबिन गरी कारबाही गर्न माग गरिसकेको छ । क्षतिपुर्ती अविलम्व दिलाउन समेत महासंघले माग गरेको छ । त्यस्तै, आदिबासी जनजाती पत्रकार संघ जिल्ला र प्रदेश समिति, फोटो पत्रकार महासंघ जिल्ला, प्रेस संगठन नेपाल, नुवाकोट प्रेस युनियन नुवाकोटलगायतका पत्रकारिता पेशाका छाता संस्थाले घटनाको भत्र्सना गर्दै घटनामा संलग्न वडाध्यक्षत्रयलाई कारबाही हुनुपर्ने माग गरिएको छ ।