हाम्रा कुरा : शैक्षिक क्रियाकलाप चलाऊँ

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १२:३६
Logo of trishuli prawaha

कोरोना भाईरसको संक्रमण, नियन्त्रण र रोकथामको लागि गत चैत्र ११ गतेदेखि देशभर लकडाउन अर्थात् बन्दाबन्दी शुरू भयो । बन्दाबन्दीले उद्योग ब्यवसाय क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि अस्तब्यस्त भईरहेको छ ।

सरकारले लकडाउनलाई केही खुकुलो गर्दै असार १ गतेदेखि विद्यालय प्रशासन खोल्ने निर्णय गरेर निर्देशन भयो । उक्त निर्देशनअनुसार देशभरका निजी तथा सरकारी विद्यालयको प्रशासन शाखा खुल्यो । शिक्षक, कर्मचारी दैनिक आउने, हाजिर गर्ने र विद्यार्थी, अभिभावकसँग सम्पर्क गर्ने तथ्याङ्क राख्ने काम थाले । कतिपय स्थानीय तहले कडा सूचना जारी गरेर शिक्षकलाई विद्यालयमा अनिवार्य हाजिर हुन र क्वारेन्टाईन रहेका विद्यालयका शिक्षकले स्वयम्सेवकको रूपमा खटाउने सूचना जारी गरे । त्यसपछि आफ्नो घरमा बन्दाबन्दी खेपिरहेका दुरदराजका शिक्षकहरू यातायात सिफारिस पास, गाडी रिजर्भ तथा अनेक दुःख–कष्ट झेलेर विद्यालयमा पुगिरहेका छन् । प्रायः सबै विद्यालयले विद्यार्थीको तथ्याङ्क संकलन गरेर पाठ्यपुस्तक वितरण समेत गरिसकेका छन् । तर विद्यालयमा पठनपाठन गर्ने औपचारिक अनुमति छैन, अर्कोतिर स्कुल जानु नपरेपछि घरमै रहेका आफ्ना बाबुनानीलाई सम्हाल्न अभिभावकलाई गाह्रो परेको छ । शैक्षिक क्रियाकलाप नभएका कारण यो पुस्तै बिग्रिरहेको अवस्था छ । अभिभावकको नियन्त्रण बाहिर जाँदै गरेका बालबालिकालाई सुधारेर समयमा पठनपाठन गराउन पछि निकै गाह्रो पर्ने सक्छ भन्ने बारेमा चिन्ता ब्यक्त गरिरहेका छन् ।

कोरोना पूरै नियन्त्रण हुने समयको यकिन छैन । यो अवस्थामा कहिलेसम्म शैक्षिक क्रियाकलाप बन्द गर्ने ? क्वारेन्टाइन नभएका र सुरक्षित विद्यालयमा पठनपाठन नथाल्नु भनेको शैक्षिक उदासिनता ठहरिन्छ । प्रायः शहरी क्षेत्रका विद्यालयमा अनलाईन कक्षा सञ्चालित छ । कतिपय विद्यालयमा ‘सिफ्ट सिस्टम’ चलाईएको देखिन्छ । पहाडी क्षेत्रका थोरै शिक्षकका कारण सिफ्टमा चलाउन नसकिने विद्यालयमा जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई बोलाउँदा हुन्छ । अझ आधारभुत तहमा सञ्चालित स्थानीय शिक्षक र स्थानीय विद्यार्थी मात्र भएका गाउँले विद्यालय पूर्ववत् ढंगले सञ्चालन गर्दा केही फरक पर्दैन । नुवाकोटका अधिकांश विद्यालयले पठनपाठन अभिभावकको सल्लाह, सुझाव र स्थानीय निकायको समन्वयमा अगाडी बढाएका छन् । सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर शैक्षिक क्रियाकलाप बढाउन जति ढिला गरिन्छ, त्यति नै सञ्चालनमा कठिनाई आउनेतर्फ सम्बिन्धत निकायले सोच्नु जरूरी छ ।