रसुवागढी नाका सुचारू : रसुवाका ब्यवसायीलाई मात्र अवसर

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १४:३६

धुन्चे, रसुवागढी नाकामा रोकिएका ब्यवसायीका सामान मंगलबारदेखि नेपाल भित्र्एिको छ । उक्त नाका सञ्चालनमा आएपनि रसुवा जिल्लाका कन्टेनर चालक, कन्टेनर र लोडअनलोड गर्ने मजदुरले मात्र अवसर पाउने भएका छन् ।

असार १५ गते रसुवा उद्योग वाणिज्य संघ र रसुवा चेम्बर अफ कर्मशको संयुक्त संयोजकत्वमा रसुवाका ब्यवसायीको भेलाले ७६ जिल्लाका ब्यवसायी, सवारी चालक र मजदुरलाई प्रवेशमा निषेध गरिएको छ । भेलाले रसुवाबासीको कन्टेनर, रसुवाको नागरिकता लिएका सवारी चालक र मजदुरले मात्र रोलक्रमअनुसार काम गर्न पाउने निर्णय गरिएको छ । उक्त निर्णय कार्यान्वयन गरिदिन रसुवाका ५ वटै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रसुवा, रसुवा भन्सार कार्यालय, नेकपा रसुवा, नेका रसुवा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मशले पत्र पठाएर अनुरोध गरेको छ ।

ल्होसार र कोरोना भाईरसको कारण चिनियाँ सरकारले गत पुसदेखि बन्द गरेको रसुवागढी नाका सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । पटक–पटकको छलफलपछि चिनियाँ पक्षले नाका सञ्चालन गर्न सहमति जनाएको छ । चिनियाँ ल्होसारको कारण गत पुस एक महिना बन्द भएर माघमा १५ दिन सञ्चालनमा आएर माघ १५ गतेदेखि नाका पूर्णरूपमा बन्द भएको थियो । चिनियाँ पक्षले कोरोना संक्रमण फैलिन सक्छ भनेर रसुवागढी नाकाबाट आयात निर्यात र आवत–जावत पूर्णरूपमा ६ महिनादेखि बन्द गरेको थियो । उक्त नाका दशैंपछि सुख्खा पहिरो, हिमपात र ल्होसार पर्वको कारण पटक–पटक बन्द हुँदै सञ्चालनमा आएको थियो ।

चिनियाँ सरकारका प्रतिनिधीसँग पटक–पटकको छलफलपछि सोमबारदेखि नाका सञ्चालनमा आएको जानकारी रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले दिनुभएको छ । चिनियाँ पक्षले सोमबार बिहान केरूङबाट चार कन्टेनर सामान मितेरी पुलसम्म ल्याएको उनले बताए । उताबाट आएको चार कन्टेनर सामान यता १० देखि १२ ट्रक वा डिब्बा हुनेछ । त्यसमा जुत्ता, चप्पल, लत्ता कपडा रहेको उहाँले जानकारी दिए । चीनबाट अब दैनिक चार कन्टेनर सामान आउने छ । सामान लोडअनलोड गर्न १५ कामदार र ढुवानीका लागि १५ चालक गरी ३० जना नाकामा खटिएका छन् । मितेरी पुलमा बसेर सामान ढुवानी गर्ने चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिने छ । यसअघि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरेर त्यसको विवरण नेपाली पक्षले चिनियाँ पक्षलाई बुझाईसकेको छ ।

मितेरी पुलसम्मबाट १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पु¥याउने छन् । यार्डबाट जाँचपास भएपछि अन्य चालकले सम्बन्धित ठाउँसम्म लैजाने छन् । टिमुरे भन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारीबाहेक अन्यलाई जान रोक लगाईएको छ । सुरक्षित तरिकाले आयात सञ्चालन गर्ने विषयमा दुवै देशका सिमानाका जोडिएका जिल्लाका समकक्षीबीच असार १० मा मितेरी पुलमा छलफल भएको थियो । स्वास्थ्य प्रोटोकल पूरा गरेपछि नाका सञ्चालनमा आएको हो । रसुवागढी नाकाबाट केरूङसम्मको दूरी २४ किमि छ । रसुवाबासी बाहेक अरू जिल्लाको ट्रक चालक ब्यवसायी र मजदुरलाई टिमुरे जान रोक लगाईएको छ ।