काँग्रेसको महाधिवेशन फागुन पहिलो साता होला ?

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १५:१८

नेपाली काँग्रेसको महासंग्रामको रुपमा हेरिएको १४ औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्मका लागि काठमाडौंमा तोकिएको छ । विश्व नै कोरोनाको महामारीमा छ । नेपालमा पनि कहिले कोरोना मुक्त हुने अझै निश्चित छैन । तर, काँग्रेस सभापति शेरबहादुर देउवाले आफूमाथि हुने सबैखाले राजनीतिक आक्रमणलाई अन्यत्र मोड्नका लागि महाधिवेशनको मिति तोकेका छन् । कोरोना नियन्त्रणमा आएमा मात्र काँग्रेसको महाधिवेशन फागुनमा हुनेछ ।

कोरोना मात्र होइन काँग्रेसभित्र पार्टी एकता पनि टुंगोमा पुगेको छैन । फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा विलय भएपनि विभिन्न जिल्लामा उक्त एकताले अन्तिम रुप पाएको छैन । कतिपय जिल्लामा एकता नभएको भनेर विवाद जारी छ । विवाद जारी रहेको बेला देउवालाई पार्टीका पुराना प्रतिद्धन्द्धी रामचन्द्र पौडेल समूहले पनि राजनीतिक आक्रमण जारी राखेको छ । देउवालाई महाधिवेशनमा हराउनै पर्ने दबावमा पौडेल समुह छ । किनकि अब पनि देउवाले महाधिवेशनमा कब्जा जमाएमा धेरै पुराना नेताहरु अर्को १५ औं महाधिवेशनसम्म सक्रिय राजनीतिबाट विदा लिने अवस्थामा पुग्ने छन् । त्यही भएर काँग्रेसमा यस पटकको महाधिवेशन बास्तवमै ठुलै भिडन्त जस्तै हुनेछ ।

काँगेंसले गाउँ/नगरको वडाको अधिवेशन आउँदो पुस ६ गते, गाउँ÷नगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा/क्षेत्रीय अधिवेशन पुस ११ गते प्रतिनिधीसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते गरेर महाधिवेशन भने फागुन ७ गते शुरू गर्ने तय गरेको छ । केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई आउँदो मंसिर मसान्तभित्रमा बुझाउनुपर्नेछ । काँग्रेसले महाधिवेशनका लागि विभिन्न कार्यक्रमको मिति तय गरेपनि पार्टीभित्रको विवादको कारण तोकिएको मितिमा हुनेमा कार्यकर्ता र शुभचिन्तकहरूले आशंका ब्यक्त गरेका छन् ।