नुवाकोट उद्योग वाणिज्य संघको आपत्ति

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:४९
Logo of trishuli prawaha

विदुर, संविधानले ब्यवस्था गरेको ब्यवसायिक हक, अधिकारलाई कुण्ठित हुने गरी कोरोना भाईरसको परिस्थिती देखाएर रसुवामा ७६ जिल्लाका ब्यवसायी, सवारी चालक र मजदुरलाई निषेध गरेको भन्दै नुवाकोृट उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । संघले रसुवा उद्योग वाणिज्य संघ, रसुवा चेम्बर अफ कर्मश र रसुवाका ब्यवसायीले असार १५ गते गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै निर्णय सच्याएर प्रतिस्पर्धात्मक हिसावले सबै विल्लाका कन्टेनर तथा चालक र लोडअनलोडमा संलग्न मजदुरले अवसर पाउनुपर्ने माग अघि सारेको छ ।

रसुवागढी नाका पार गरेर चिनियाँ सामाग्री ल्याउने कन्टेनर चालक तथा मजदुर र कन्टेनर रसुवाकै हुनुपर्ने, रसुवा उद्योग वाणिज्य संघ, रसुवा चेम्बर अफ कर्मश र ब्यवसायीले निर्णय गरेका थिए । यस विषयमा रसुवामै असहमती र विवाद उत्पन्न भएको छ । भन्सार कार्यालय, रसुवा प्रशासन र प्रहरी कार्यालयले यो निर्णय सच्याउनुपर्ने बताएका छन् । नुवाकोट उद्योग वाणिज्य संघले असार २६ गते प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयलाई यो निर्णयको बारेमा ध्यानाकर्षण पत्र पठाएको छ । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले समग्र ट्रक कन्टेनर यातायात ब्यवसायीको तर्फबाट ध्यानाकर्षण पत्र प्रजिअमार्फत गृहमन्त्रालयमा पठाएको बताउनु भयो । ध्यानाकर्षण पत्र पढेर सुनाउनु हुँदै नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकीले रसुवा जिल्लाबासीको ट्रक, कन्टेनर मात्र सञ्चालनमा आउने गरी रसुवा उद्योग वाणिज्य संघ, रसुवा चेम्बर अफ कर्मश र रसुवाका यातायात ब्यवसायीले गरेको निर्णय विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

हामीलाई रसुवागढी जान निषेध गरे, रसुवाबाट नुवाकोट आउने कन्टेनरसहित सबै यातायातको साधनलाई बेत्रावतीमा रोक्न सक्ने कन्टेनर यातायात ब्यवसायी धु्रवलाल श्रेष्ठले बताउनुभएको छ । उद्योग वाणिज्य संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा ब्यवसायी श्रेष्ठले रसुवाका ब्यवसायीले मात्रै चीन पुगेर सामाग्री ल्याउने भए रसुवाबाट नुवाकोट प्रवेश गर्न नदिने र एक सय भन्दा बढि ट्रक कन्टेनर सडकमा तेस्र्याएर अवरोध गर्ने बताउनुभएको छ ।
नेपाल र चीन बिचको एक मात्रै अन्तराष्ट्रिय नाकाको रुपमा रहेको रसुवागढी नाकामा रसुवाका ब्यवसायीले एकाधिकार देखाउँदै जिल्ला प्रवेशमै नुवाकोटसहित ७६ जिल्लाको कन्टेनर रोकेको ब्यवसायी श्रीराम राईले बताउनु भयो । अन्तराष्ट्रिय नाकामा सिण्डिकेट लगाउँदै सिमित ब्यवसायीले बाँकी ७६ जिल्लाका नागरिकलाई गरेको दुब्यवहारको भण्डाफोर गर्ने बताउनु भयो ।

जिल्लामा विगत ३ वर्षदेखि राम्रोसँग बोलचाल समेत नगर्ने दुईवटा ब्यवसायी संघ एक भएर रसुवाका ब्यवसायीका मनोपलि अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । संस्थागत रुपमा केन्द्रदेखि नै जिल्लामा प्रतिस्पर्धा गर्नका लागि गठन भएको नुवाकोट चेम्बर अफ कर्मशले शुक्रबार नुवाकोट उद्योग वाणिज्य संघसँगै एकै मञ्चमा उभिएर प्रमुख जिल्ला अधिकारीको स्वागत र रसुवागढी नाका प्रवेशमा रसुवाका ब्यवसायीले लगाएको सेण्डिकेटको विरूद्ध एकवद्धता जनाएको छ । ब्यवसायीको समग्र हितका लागी उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मश नुवाकोट एउटै मञ्चमा देखा परेको यो पहिलो कार्यक्रम हो । उद्योग वाणिज्य संघले गरेको पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष कबिन्द्रमान प्रधानले जिल्लाका उद्योगी ब्यवसायीको हितका लागि विभाजित नहुने र संघसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भएको हो ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले एउटै उद्देश्य बोकेका उद्योग वाणिज्य संघ र चेम्बर अब एकताबद्ध सहकार्य हुने बताउनु भयो । पत्रकार सम्मेलनमा कन्टेनर ब्यवसायीले सिण्डिकेटको अन्त्य गर्दै प्रतिस्पर्धात्मक ब्यापारमा समन्वय गर्न आफुहरु तयार रहेको बताएका छन् । रसुवाका ब्यवसायीसँग सहकार्य गर्ने बताउँदै उनिहरुले एकतर्फी रुपमा पेलेमा उनीहरूलाई नुवाकोट प्रवेशमा रोक लगाउने बताएका छन् ।