नुवाकोटमा कोरोना संक्रमित ३२ पिसिआर मेसिन साउनभित्र

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:५१

विदुर, नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या बुधबारसम्म ३२ पुगेको छ । संक्रमितमध्ये त्रिशूली अस्पतालमा सात जना, खरानीटार अस्पतालमा दुई जना र पाटन अस्पताल ललितपुरमा एक जना स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । कोरोना संक्रमणका लक्षण देखिएका मध्ये आईसोलेसनमा बसेर उपचारपछि ४० जनाको पिसिआर रिपोर्टमा नेगेटिभ देखिएपछि घर पठाईएको छ ।

जिल्लामा भारतलगायत बाहिर देशबाट आएर क्वारेन्टीनमा बस्दै आएकालाई मात्र कोरोना भाईरसको संक्रमण देखिएको छ । ब्यक्तिमा कुनै लक्षण नदेखिएको र शारीरीक रुपमा स्वस्थ्य भएकामा पनि कोरोना रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । कोरोनाको संक्रमित बढ्न थालेपछि नुवाकोटले पिसिआर मेसिन र केमिकल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पिसिआर मेसिन खरिदको लागि कोरियन सहयोग नियोग (जाईका) को आर्थिक सहयोगमा गुडनेवर्स ईन्टरनेसनलले स्वाब परिक्षण मेसिन उपलब्ध गराउन लागेको छ । जाईकाले साउनको दोस्रो हप्ताभित्र पिसिआर परीक्षण मेसिन जिल्ला आईपुग्ने बताएको छ ।