नेकपामा गुट बनाउन छुट ! पूर्वएमाले दुईतिर/पूर्वमाओवादी एक ढिक्का ?

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:५३
Logo of trishuli prawaha

नेकपाका कार्यकर्ता र समर्थक जनता अहिले विभाजित हुन थालेका छन् । नेताहरुले केन्द्रमा बसेर अहिले तल्लो तहमा कार्यकर्ता तथा समर्थकलाई गुट बनाउन छुट दिएका छन् । यो छुटले तत्कालका लागि उनीहरुलाई राहत दिए पनि यसले दिर्घकालमा पार्टीभित्र विभाजन, फुट तथा धोकाको बिजारोपण गर्ने पक्का छ । नेताहरुले अहिले आफ्नो पक्षमा आन्दोलन गर्ने र आन्दोलन गर्न नजाने समुह खडा गरेका छन् । एउटा पक्षले सडकमा शक्ति देखाउने र अर्को पक्षले त्यो शक्तिलाई कमजोर बनाउने नाममा विभिन्न गुट खडा गरेर चोक–चोकमा पार्टी विरोधी गतिविधी सञ्चालन हुन थालेको छ ।

केन्द्रमा मात्र होइन जिज्ला र क्षेत्र तथा विभिन्न पालिकामा पनि कार्यकर्ताले गुट खडा नै गरेका छन् । एउटा पक्षले गरेको आन्दोलनलाई अर्को पक्षले सत्ताको स्वाद लिएको जस्ता शब्द प्रयोग गरेर आलोचना गरेका छन् । आखिर अहिलेसम्म नेकपाका सबै नेता, कार्यकर्ता मात्र होइन मतदाता पनि सत्तारुढ नै हुन् । नेकपाका कुनै पनि सदस्य र समर्थक विपक्षी होइनन् । एउटाले अर्कोलाई सत्तापक्ष र सत्ताको स्वादमा कुर्लिएको भनेर आलोचना गर्दा अहिले सत्तापक्ष भनिएको समुह कहिल्यै पनि अर्को पक्षमा नजाने अवस्था सिर्जना हुन सक्दछ, नेताहरुले मिलेमतो गरे पनि ।

नेताहरुले केन्द्रमा गला जोडे पनि कार्यकर्तामा गुटको सिर्जना हुनु भनेको पार्टीको जरामै किरा लाग्नु हो । कम्युनिष्ट पार्टीमा जरा नै कार्यकर्ता हुन् । तर, आफ्नो सिमित स्वार्थमा नेताहरु डुब्दा पार्टी कमजोर र गुटबन्दीको चरम शिकारमा परेको छ । समर्थन र विरोधमा गुट खडा गर्दै जाँदा काँग्रेस र मधेषवादी दललाई नै फाईदा हुने हो । अर्थात आफ्नो पार्टी आफैं सिध्याउने खेलमा लाग्नु हो । एउटा पक्षले मात्र सत्ताको स्वाद लियो भनेर जसरी प्रचार भएको छ त्यो देखिँदैन । किनकि केन्द्रको सत्तामा सबै समुह मिलाएरै मन्त्रिपरिषद् गठन गरिएको छ । राजनीतिक नियुक्तिमा पनि त्यस्तै देखिएको छ तर, नेकपामा विवाद भने जारी छ ।

नेकपाले आफूलाई मूलधारको राजनीतिक दलबाट विचलित नगर्ने हो भने तत्काल नेताहरुले एकता गर्नैपर्ने छ । लामो समयको विवादले नेकपा एक नहुने हो कि भन्ने अवस्थामा पुगेको छ । पार्टीमा भागबण्डा गरेर अध्यक्ष र प्रधानमन्त्री पद साटासाट गर्ने कि महाधिवेंशन र निर्वाचन गर्ने भन्नेसम्मको विवाद देखिएको छ । बीचमै सरकार ढाल्ने र पार्टीमा विवाद कायम राख्दा नेकपा झनै कमजोर बन्ने पक्का छ । नेतृत्व लिनेले महाधिवेंशनको तयारी गर्दा राम्रो देखिन्छ । बीचमा आएर सरकार सञ्चालनको विषयमा विवाद हुनु भनेको सरकारले अगाडी सारेका सबै काम अवरोध गर्नु पनि हो । राम्रा काम रोक्न विपक्षी पनि चाहन्छन् । जब सत्तापक्षले नै अवरोध खडा गर्छ भने पार्टी कमजोर पार्न विपक्षी नै चाहिन्न । यद्यपि नेपाली काँग्रेस अझै पनि कमजोर मात्र होइन नाजुक अवस्थामा छ । यो नाजुक अवस्थाको पार्टीलाई उठ्न सक्ने अवस्थामा नेकपाका नेताहरुले ल्याएका हुन् ।

नेकपाका नेताहरुले अब पार्टीलाई मजबुद बनाउने हो भने तत्काल एकता गरेर अगाडि बढ्दा हुन्छ । यदि एकता नगर्ने हो भने पनि तत्काल निर्णय गर्दा हुन्छ । अहिले अनिर्णयको बन्दी बन्नु भनेको पार्टीलाई चरम गुटबन्दीको शिकार बनाउनु हो । गुटबन्दीको शिकार बनाउनु भनेको पार्टी विभाजनको बिऊ रोप्नु हो । बिऊ रोपेर बस्नु भन्दा एउटा निर्णय गर्नु नै उपयुक्त हुन्छ । नेताहरुले झगडा गरेर दुनियाँ जगत हँसाउने खेल नगर्दा हुन्छ । भारत पनि नेपालमा अस्थिरता चाहन्छ र नेकपा विभाजनको पक्षमा छ । नेकपाका केही नेता पनि पार्टी विभाजनकै पक्षमा देखिन्छन् । यो बेलामा पार्टी विभाजन हुनु भनेको तत्कालीन एमाले विभाजन हुनु हो जस्तै दखिएको छ । पार्टी भित्रको विवादमा पूर्वमाओवादी एक ढिक्का र पूर्वएमाले दुईतिर छन् ।