प्रहरी प्रशासन र जनप्रतिनिधी ब्यस्त हुँदा नदि दोहन रोकिएन

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १४:१६
Logo of trishuli prawaha

विदुर, जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन् असार–साउन–भदौमा पुर्णरुपमा बन्द गर्ने घोषणा गरेपनि लुकिछिपी उत्खनन् कार्य तिव्र भईरहेको छ । समन्वय समितिमा १२ वटै पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र अन्य सरोकारवालाले नदीजन्य सामग्रीको उत्खनन् पूर्णरूपमा निषेध गर्ने प्रतिवद्धता जनाएका थिए । नदी उत्खनन् भईरहँदा पनि प्रतिबद्धता जनाउनेहरू असार लागेसँगै गुपचुप बसेका छन् ।

बर्खा लागेसँगै जिल्लाका तादि, त्रिशूली, लिखु, सामरी, कोल्फुलगायतका नदीमा बालुवा उत्खनन् जारी रहेको छ । दिउँसोको समयमा स्थानीयले साबेलमार्फत बालुवा संकलन गर्ने भएपनि रातिको समयमा जेसिबी र ट्रिफर प्रयोग गरेर नदी दोहन भईरहेको छ । आर्थिक वर्षको अन्तिम महिना असार जिल्लाको प्रहरी प्रशासन र पालिकाहरू योजना सम्पन्न गराउन, अनुगमन गर्न र भुक्तानी दिन ब्यस्त भएपछि अवैध रूपमा विगतदेखि नै नदीबाट बालुवा उत्खनन्मा संलग्न ब्यवसायीहरूले मौका छोपेर बालुवा झिकी रहेका छन् । असारमै प्रमुख जिल्ला अधिकारीको सरुवा र आउने क्रममा ब्यवसायीले यसैलाई मौकाको रुपमा लिएका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल सरुवा भई झंकनाथ ढकाल आउनुभएको छ । प्रजिअ ढकाल आएदेखि नै जिल्लाको बारेमा बुझ्न, आन्तरिक भेटघाट र विषयवस्तुको अवगत गर्न नै ब्यस्त हुँदा अवैध बालुवा उत्खनन् गर्नेहरूले मौका पाईरहेका छन् ।

जिल्ला आएका प्रजिअ ढकालले कानुनले बन्देज गरेका कुनै पनि काम गर्न नदिने र अवैध काम गराउँन दबाव आए नमान्ने बताउनु भएको छ । असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खनन्मा पूर्णरुपमा रोक लगाएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो हो । नदी एवम् खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य सामाग्री उत्खनन् र निकासीमा रोक लगाएको र चालु आर्थिक वर्षमा लगाईएको ठेक्का सम्झौता जेठ मसान्तमा समाप्त भएकाले नदीजन्य सामाग्री निकासी समेत रोक्न प्रहरी प्रशासनलाई अनुरोध गर्दा पनि सक्रियता नदेखाएको दुःखेसो उहाँले गर्नुभयो ।

असार महिना सहित ३ महिना जिल्लाको त्रिशूली, तादी, लिखु, पंmलाखु, सलाखु, सामरीलगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टीलगायतका सामग्री उत्खननमा पूर्ण निषेध गरिएकाले त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । कोरोना भाईरसको प्रकोप जिल्लामा निम्तिने भन्दै हाते औजारको प्रयोग गर्न समेत नदिने जिल्ला समन्वय समितिको बैठकमा ठुलोठुलो स्वरमा प्रतिबद्धता जनाउने सरोकारवालाको भनाई र गराई माईनोटको मसी नसुक्दै फरक देखिएको छ । ३ महिनासम्म नदी र खोलामा ठेकेदार कम्पनी, राष्ट्रिय गौरवको आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालगायतलाई समेत उत्खनन् बन्द गरेको जिल्ला समन्वय समिति नुवाकाटले जनाएको छ ।

त्रिशुली, तादी र लिखु नदीको विभिन्नबाट ढुङ्गा, बालुबा उत्खनन् भइरहेको छ । यो विषयमा प्रहरीलाई राम्रो जानकारी रहेपनि नियन्त्रणका लागि चासो नदेखाएको आरोप पालिकाहरूले लगाएका छन् । स्थानिय तह सहितका अन्य निकायबाट बजेट विनियोजन भएको सडक निर्माणमा प्रयोग हुने सामाग्रीको नाममा पनि नदीजन्य पदार्थको उत्खनन् हुने गरेको छ । सडक निर्माणका लागि जेठ मसान्त अगाडी नै उत्खनन् गरि डम्प गरेको स्थानमा लुकिछिपी भण्डारण गर्ने र ब्यवसायीक रुपमा प्रयोग गरिने गरेको समेत पाइएको छ ।