नुवाकोटमा कोरोना संक्रमित थपिंदै, रसुवा कोरोना मुक्त

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०७७, शुक्रबार १४:०४

विदुर, नुवाकोटमा बुधबार एक जना कोरोना संक्रमित थपिएका छन् । यो थपिएपछि नुवाकोटमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ भने छिमेकी जिल्ला रसुवा गत हप्तादेखि कोरोना मुक्त भएको छ ।

कोरोना संक्रमण ढिला देखा परेको रसुवा जिल्ला चाँडै संक्रमित मुक्त पनि भएको छ । देशका सबै जिल्लामा कोरोना संक्रमित फेला परिसक्दा पनि जोगिएको भनिएको रसुवामा गत असार १३ गते पहिलो पटक संक्रमित फेला परेको थियो । जिल्लाका ११ जना कोरोना संक्रमित निको भएसँगै रसुवा कोरोना मुक्त भएको छ । गत शुक्रबारसम्म जिल्लामा १० जना संक्रमित निको भईसकेका थिए भने थप एक जनामा कोरोना पुष्टि भएको थियो । ती संक्रमितको पनि शुक्रबार कोरोना रिपोर्ट नेगेटिभ आएपछि जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । गत शुक्रबार कालिका गाउँपालिका वडा नं.–३ का २६ वर्षिय पुरूषमा कारोना पोजेटिभ देखिएको थियो । उनी कुवेतबाट आएका हुन् । उनले पनि कोरोना जितेर घर फर्किएपछि जिल्लाका कोरोना संक्रमित शुन्य भएको छ ।

नुवाकोटको सुर्यगढी गाँउपालिकाका २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले मंगलबार जनाएको छ । कोरोनासँग मिल्दो–जुल्दो लक्षण देखिएपछि त्रिवी शिक्षण अस्पतालमा उनको स्वाब परिक्षण भएको थियो । स्वाब परिक्षणमा कोरोना पुष्टि भएसँगै उनलाई शसस्त्र प्रहरी कोभिड–१९ अस्पताल काठमाडौंमा उपचारको लागि भर्ना गरिएको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । सुर्यगढी गाँउपालिका स्थायी घर भएका २३ वर्षिय पुरुष काठमाडांमा बस्दै आएका थिए । उनको उपचार पनि काठमाडौंमै भईरहेको सुर्यगढी गाँउपालिकाले जनाएको छ । जिल्लाका संक्रमितमध्ये ५ जनाको त्रिशूली अस्पतालमा, ३ जनाको खरानीटार अस्पतालमा, १ जनाको पाटन अस्पतालमा र अर्को एकजनाको शसस्त्र प्रहरी बल कोभिड अस्पतालमा स्वयम्भुमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जनार्दन सिलवालले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । नुवाकोटका २६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् ।