नुवाकोटमा दरबन्दीअनुसार प्रहरी पुगेन

  • त्रिशूली प्रवाह
  • २० श्रावण २०७७, मंगलवार १५:१०
Logo of trishuli prawaha

विदुर, नुवाकोट जिल्लाको शान्ति सुरक्षा कायम गराउन ५ सय ५१ जना दर्जागत प्रहरी दरबन्दी भए अहिले ३ सय २० जनाले जिल्लाको सुरक्षामा खटिएका छन् । जनघनत्वको आधारमा एक जना प्रहरीले ८ सय ६८ जना नुवाकोटबासीको सुरक्षाको जिम्मा लिईरहेका छन् । जिल्लामा दरबन्दी भन्दा २ सस ३१ जना दर्जा अनुसारको प्रहरी कम रहेको छ ।

दरबन्दी कम भएपनि भएका प्रहरीले दिन रात नभनि जिल्लाको सुरक्षामा सिमित साधान, स्रोत र सुविधाको वावजुद पनि नुवाकोट प्रहरीले शान्ति, सुरक्षामा कुनै कमि हुन दिएको छैन । प्रहरीले आधुनिक प्रणलीमार्फत अपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन सफल भएको छ । मुद्दा दर्तापछि पक्राउ परेका प्रतिवादीले घटनामा बयान फेरेकै आधारमा पोलिग्राफीको प्रयोगबाट गत आर्थिक वर्ष २०७६÷०७७ मा चार किसिमका अपराधमा नुवाकोट प्रहरीले थप सोधपुछ गरी सफल भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले बताउनु भयो । नयाँ आधुनिक प्रणालीको प्रयोग सफल भएसँगै अपराध अनुसन्धान तथा फरार अभियुक्त पक्राउमा प्रहरीलाई बल पुगेको उहाँले बताउनु भयो । मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा एक जना र कर्तब्य ज्यानका ६ वटा मुद्दामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जनालाई पक्राउ गरी मुद्दाको अनुसन्धान पश्चात् कारागार चलान गरेको थियो । यस्तै, लागुऔषध ब्राउनसुगर मुद्दामा ४ जना र हातहतियार तथा खरखजाना मुद्दामा २ जनालाई कारागार चलान भएका छन् ।

अपराधिक प्रवेश तथा अपराधिक उपद्र सम्बन्धी कसुर, सार्वजनिक हित, स्वास्थ्य, नैतिकता र सुरक्षा शान्ति विरुद्ध, चन्दा सम्बन्धी कसुर र आगजनी कसुरमा प्रहरीले जिल्लाबाट ६ जना र काठमाडौंबाट १ जनालाई गत वर्ष पक्राउ गरेको थियो । पक्राउ परेकामा ६ जना धरौटीमा छुटेका र १ जना धरौटी बुझाउन नसकी जिल्ला कारागार चलान भएको थियो । प्रहरीले सवारी ज्यान, ज्यान मार्ने र लागुऔषध अपराधमा १÷१ जनालाई पक्राऊ गर्न सफल भएको छ । अदालतबाट फैसला भई फरार रहेका अपराधीलाई नुवाकोटका २ र धादिङका १ जनालाई पक्राउ गरेको थियो । यस्तै, कर्तब्य ज्यान मुद्दामा ५ र मानव बेचबिखनमा १ जनालाई पक्राउ गर्न सफल भएको छ । कर्तब्य ज्यान मुद्दामा २०५६ सालदेखि फरार रहेका भरत सुनुवार र २०६१ सालदेखि फरार अभियुक्त सन्तबहादुर तामाङ, केशव तामाङ, प्रेम लामा र परी लामालाई पक्राउ गरी जिल्ला अदालतको फैसलाअनुसार कारागार चलान गरेको छ । मानव बेचबिखनमा २०७१ सालदेखि फरार रहेकी सरस्वती तामाङ भनिने सारिका जेर्कु मेन्दो तामाङलाई काठमाडौं काभ्रेस्थलीबाट पक्राउ गरी कारागार चलान गरिएको थियो ।