नेकपालाई जसरी पनि कब्जा गर्ने रणनीतिमा ओली

  • त्रिशूली प्रवाह
  • २० श्रावण २०७७, मंगलवार १५:३५

राणा प्रधानमन्त्री जंगबहादुर राणाले जसरी कसैलाई पनि टेरेनन् र कसैलाई पनि टिक्न दिएका थिएनन् । इतिहासकारले उनको स्वभाव र मनमौजी इच्छालाई स्वर्ण अक्षरले लेखेका छन् । अहिले नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली पनि त्यही लाईनमा अग्रसर भएको देखिन्छ । उनी जंगबहादुर जस्तै आफ्ना विरोधीप्रति कडारुपमा प्रस्तुत हुन थालेका छन् । आफ्ना विपक्षमा रहेकाको राजनीतिक भविष्य समाप्तै पार्ने गरी ओली अगाडी बढेका छन् । जंगबहादुरले भने आफ्ना विपक्षीलाई भौतिक रुपमै समाप्त पारेका थिए । जंगबहादुरले जस्तै ओलीले केही नरम पक्षलाई आफ्नो वशमा पारेर अरुलाई भने राजनीतिक रुपमै सिध्याउने कामको थालनी गरिरहेका छन् । उनले वामदेवलाई अब महाधिवेशनसम्म कतै नजाने गरी तानेका छन् भने पूर्वमाओवादीका केही नेताहरुलाई पनि प्रचण्डको पक्षमा नजाने गरी तान्न सफल भएका छन् । थप केही नेताहरुलाई पनि तानेर ओलीले पार्टीमा एकलौटी राज गर्ने रणनीति तयार गरेका छन् ।

ओलीको जंगबहादुर शैलीले विरोधीलाई ठेगान लगाउने अडानको कारण आफू स्थायी समितिमा अल्पमतमा पर्दा पनि पार्टीको बैठक स्थगित गरेर नेकपामा देखिएका विवाद नयाँ मोडमा पु¥याएका छन् । यसले नेकपामा प्रचण्ड–माधव नेपाल समूहलाई पनि त्रसित पारिदिएको छ । प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्ष भनेर प्रचार गरिए पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको एकतर्फी निर्णयबाट मंगलबार स्थायी समिति बैठक नै स्थागित हुन पुगेको छ । यो घटनाले पनि ओली जंगबहादुर पथमा लम्किएको प्रष्टिन्छ ।

पार्टी बैठक स्थगित गरेका ओली स्थायी समितिमा अल्पमतमा छन् । अल्पमतमा भएपनि ओलीले गरेको निर्णय सबैले मान्नुपर्ने तर्क वामदेव गौतमले गर्दा प्रचण्ड–माधव नेपाल समुहले त्यसको खुलेर प्रतिवाद नै गर्न सकेका छैनन् । यसले राजनीतिमा नयाँ तरङ्ग ल्याउने देखिएको छ । बहुमत स्थायी समिति सदस्य जम्मा भएपनि बैठकको सट्टा भेला भएर तितरवितर भएका छन् । यसमा वामदेव गौतमको ठुलो भूमिका रहेको छ । ओलीले नेकपा एमाले गठन गर्न लगाएको गम्भीर आरोप प्रचण्डले लगाएपछि बस्न लागेको बैठकलाई ओली एक्लैले स्थागित गरिदिएपछि पार्टीमा को शक्तिशाली भन्ने वहशले अझै निस्कर्ष निकाल्न सकेको छैन । जे गरे पनि ओली जंगबहादुर जस्तै एकल शक्ति केन्द्र निर्माणमा थप सक्रिय भएको प्रष्ट देखिन्छ ।

स्थायी समिति बैठकको बीचको समयमा प्रचण्ड–नेपाल समुहमा रहेका वामदेव गौतमले मंगलबार विज्ञप्ती नै जारी गरेर अहिले सबैले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष मान्नुपर्ने भन्दै उनलाई हटाउने हो भने निर्वाचन र महाधिवेशन नै कुर्न पार्टीपंक्तिलाई जानकारी गराएपछि नेकपामा तरङ्ग उत्पन्न भएको हो । ओलीले अब धेरैलाई प्रयोग गरेर आफ्नो प्रतिरक्षामा उभ्याउन लगाउने देखिन्छ । नेकपामा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणी थापा पनि ओली समुहमै खुलेर लागेका छन् । यसले पनि ओलीलाई जंगबहादुर पथमा लम्किन थप हौसला पुगेको छ । गौतमले मंगलबार विज्ञप्ती जारी नगरी बसेको भए प्रचण्ड नेपाल पक्षले बैठक बसेर बहुमतले निर्णय गरेर अगाडी बढ्ने तयारी गरेका थिए । तर गौतमको विज्ञप्तीले सबैलाई त्रसित र सशंकित बनाएको छ ।

गौतमले जुन विज्ञप्ती जारी गरे प्रधानमन्त्री ओलीका अडान पनि तिनै हुन् । अर्थात प्रधानमन्त्री छाड्ने हो भने निर्वाचनमा जाने, पार्टी अध्यक्ष चाहिएको हो भने महाधिवेशन गर्ने । महाधिवेशनका लागि नेपाल समुह तयार देखिए पनि प्रचण्ड भने डराएका छन् । पूर्व एमालेका नेताहरु समेत रहेको एकीकृत पार्टीको एकल अध्यक्ष बन्ने प्रचण्डको योजना असफल हुने संकेत देखिंदै गएको छ । अब महाधिवेशनमा कि ओली आफू अध्यक्ष लड्ने र दोस्रोमा वामदेवलाई राख्ने । त्यो पनि भएन भने ओलीले आफ्नो तर्फबाट गौतमलाई अध्यक्षमा समर्थन गर्ने तानाबाना बुनिरहेको देखिन्छ । अहिलेको संकटमा ओलीलाई खुलेर गौतमले साथ दिएपछि नेकपाभित्र सबैले गौतमलाई आगामी महाधिवेशनमा ओलीको उम्मेदवारको रुपमा लिएका छन् । केही समय अगाडीसम्म गौतमले ओलीले पद त्याग गर्नुपर्छ भनेर प्रचण्डको भेलामा जाने गरेका थिए । भेलामा रामबहादुर थापा बादल पनि गएका थिए । तर, अहिले फेरी बादल पनि ओलीतिरै फर्किएका छन् । यसले प्रचण्ड–नेपाल समुहलाई निर्णय गर्न समस्या परेको छ । प्रचण्डले खुलेरै ओलीलाई नेकपा दर्ता गर्न लगाएको भनेर मुख छाडेर बोलेपछि अब ओलीले प्रचण्डलाई पार्टीभित्र उठ्नै नसक्ने बनाउने रणनीति गर्न सक्ने अड्कल राजनीति वृत्तमा भईरहेको छ । प्रचण्डको पेलाईमा परेका पूर्वमाओवादीलाई पनि ओलीले महाधिवेशनमा उचित स्थान दिने भएपछि महाधिवेशनमा ओली पक्ष हाबी हुन सक्ने अड्कल नेकपाका मध्यमार्गी नेताहरूले गरिरहेका छन् । ओलीले आफ्नो पक्षमा जिल्ला जिल्लामा समर्थकहरूलाई सडक आन्दोलन पनि गर्न लगाएका थिए । अर्थात जसरी भएपनि पार्टीमा प्रचण्डलाई उठ्नै नसक्ने अवस्थामा पु¥याउने योजनाका साथ ओली अगाडी बढेको संकेत देखिएको छ ।