तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २२ श्रावण २०७७, बिहीबार १४:१४
Buddha Eyes

अवैध धन्दा गर्नेहरूले नुवाकोटमा बालुवा उत्खननका लागि अनेक उपाय लगाइरहेका छन् । तादी, त्रिशूली र लिखुलाई आफ्नै बाबुको बिर्ता सम्झिनेहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारदेखि राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरी–प्रशासनलाई समेत बिटुल्याइरहेका छन् । बालुवालाई हलुवा बनाउनेहरूको एक जमात मंगलबार सिडिओ सा’वसँग दुःख पोख्दै आँसु नै चुहाएछन् । विगतमा क्रसर, फिरफिरे, अवैध सञ्चालन गरेर धनाढ्य बनेका रातमाटेतिरका मसानघाटसमेत बेच्न सफल सिग्देलले सिडिओ सा’वलाई पगाल्न सकेनन् । स्थानीय बेरोजगार भएकोले नदीबाट बालुवा झिक्न सदाशयता देखाएर बालुवा निकासीको वैध बाटो खोजेपछि उनको विगत खोज्ने प्रशासनको जवाफपछि कुलेलाम ठोकेछन् । सधैँ प्रशासनलाई काबुमा लिएर अवैध धन्दा चलाउनेहरू राजनीतिक दलको खोल ओढेर सदरमुकाम र नेताको ढोकाढोकामा चियाइरहेका छन् । विगतदेखि नै भ्रातृ संस्थाको रूपमा रहँदै आएको पत्रकार महासङ्घलाई मागीखाने भाँडा बनाइरहेका समूहलाई खनालको टिमबाट अनुकूल नभएपछि विभिन्न नौटङ्की । नेकपाका अस्थिर मनोवृत्तिका व्यक्ति ललिपपमा भुलेपछि कमरेडहरूको निद नै हराम ! तीन तहको सरकारको नेतृत्व गरे पनि नेकपाले जिल्लामा रहेका सामाजिक सङ्घ–संस्था भने विपक्षीको पोल्टामा पुग्दा बेलाबेलामा भूकम्पको परकम्प गइरहने !