बाँदर धपाउन बन्दुक वितरण

  • त्रिशूली प्रवाह
  • २२ श्रावण २०७७, बिहीबार १५:०८

विदुर,  बाँदरआतङ्कबाट पीडित नगरवासीलाई विदुर नगरपालिकाले बाँदर धपाउन बन्दुक वितरण गरिरहेको छ । नुवाकोट जिल्लाको विदुर नगरपालिकाले बाँदरबाट पीडित किसानलाई एक सय थान बन्दुक (मङ्की एयरगन) खरिद गरेर मागको आधारमा वितरण थालेको छ ।

किसानको खेतबारीदेखि घरमा भण्डारण गरेको अन्नबाली बाँदरले खाएर दुःख दिएपछि धपाउन बन्दुक उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार पिभिसी पाइपमा कार्बन प्रयोग गरी ग्यास निकाली ठूलो ध्वनि निस्कने भएकाले बाँदरसहित बँदेललगायतका जङ्गली जनावर धपाएर क्षति न्यूनीकरण गराउन सकिने विश्वास लिइएको छ । बाँदरका कारण दैनिकजसो किसानको अन्नबाली क्षति गरेको भनेर गुनासो गरेपछि संरक्षणका लागि बन्दुक बाँडेको विदुर नगरप्रमुख सञ्जु पण्डितले बताए । कार्बन राखेर तयार भएको बन्दुकले ठूलो आवाज आउने र बाँदर डराएर भाग्ने भएकाले मङ्की एयरगन नगरपालिकाले किसानलाई निःशुल्क वितरण गरिएको उनले बताए ।

‘कार्बन’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किने बन्दुक नगरको बाँदर प्रभावित क्षेत्रका किसानलाई चलाउन तालिम प्रदान गरेर वितरण थालिएको छ । मङ्की एयरगन जय लक्ष्मी हार्डवेयर एन्ड सेनिटरी प्रा.लि. स्याङ्जाबाट खरिद गरेर नुवाकोटको विदुरसहित विभिन्न स्थानीय तहले बाँदर नियन्त्रणका लागि किसानलाई वितरण गर्न जिल्ला भित्र्याएका छन् । विनपाले वडा नं.–१२ का अध्यक्ष सीताराम अर्याललाई १४ थान यन्त्र र त्यसमा प्रयोग हुने कार्बन र लाइटर प्रदान गरेको छ । त्यसैगरी, वडा नं.– ३ का अध्यक्ष बद्रीप्रसाद रिमाललाई ६ थान, वडा नं.– १ का अध्यक्ष लेलिन रञ्जितलाई पाँच थान, विनपा– १३ का नारायण खड्काले एक थान यन्त्र र त्यसमा प्रयोग हुने कार्बन र लाइटर नगरपालिकाबाट बुझेर लगेका छन् ।