राजस्व सङ्कलन वृद्धि

  • त्रिशूली प्रवाह
  • २२ श्रावण २०७७, बिहीबार १५:११
Logo of trishuli prawaha

विदुर, नुवाकोट जिल्लामा सरकारी कार्यालयले उठाउने राजस्व आर्थिक वर्ष ०७५÷७६ को तुलनामा आ.व. ०७६÷७७ मा ६ करोड वृद्धि भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ४६ करोड ४१ लाख २१ हजार सङ्कलन भएको छ भने अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा ४० करोड ४५ लाख ६९ हजार मात्र राजस्व सङ्कलन भएको थियो ।आ.व. ०७६/७७ मा झन्डै ६ करोडले बढी राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका सूचना अधिकारी युवराज डुम्रेले बताए । जिल्लामा सबैभन्दा बढी राजस्व जिल्ला प्रशासन कार्यालयबाट सङ्कलन भएको छ । राहदानी वितरणका कारण जिल्ला प्रशासन कार्यालयको राजस्व अन्य कार्यालयबाट सङ्कलितभन्दा बढी भएको हो । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा दुई करोड १५ लाख ५५ हजार ६ सय ३१ सङ्कलन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयपछि बेलकोटगढी नगरपालिकाबाट एक करोड ६२ लाख ९९ हजार, जिल्ला प्रहरी कार्यालयबाट एक करोड तीन लाख २७ हजार, डिभिजन सडक कार्यालयबाट एक करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा विभिन्न स्थानीय तहले ससर्तमा आएको बजेट, बेरुजु दाखिलालगायतबाट ३६ करोड ३३ लाख राजस्व जम्मा भएको कार्यालयका सूचना अधिकारी डुम्रेले जानकारी दिए ।