नदी उत्खनन रोकियो

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १०:३२
Logo of trishuli prawaha

धादिङबेंसी, नदीको अवैध उत्खननमा नियन्त्रण गर्न नसकेको धादिङ जिल्लाले गत बिहीबारदेखि नदी उत्खननमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

ढुङ्गा, बालुवा र गिटी निकाल्ने बहानामा नदी उत्खनन कार्य तीव्र भएपछि धादिङ जिल्लाभित्रका सबै नदी उत्खनन गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पत्रकार सम्मेलन गरेर जानकारी दिए । असार, साउन र भदौ तीन महिना मानवीय क्षति नहोस् भनेर नेपाल सरकारले ०७२ सालदेखि देशभरका सबै नदीजन्य सामग्री उत्खननमा रोक लगाउने निर्णय गरेको थियो । यो निर्णय धेरै जिल्लामा कार्यान्वयन भए पनि धादिङ र नुवाकोटमा कार्यान्वयनमा विवाद भएको थियो ।

सरकारको यो निर्णयानुसार प्रायः धेरै जिल्लामा नदीजन्य सामग्री बन्द नै भएको थियो । सरकारको निर्णयअनुसार धादिङ जिल्लामा मेसिन प्रयोग गरी नदीबाट ढुङ्गा, बालुवा निकाल्न रोक लगाएर भए पनि स्थानीय र जिल्लाबाहिरका कामदार लगाएर बालुवा व्यवसायीले नदीबाट ढुङ्गा, बालुवा निकाल्ने क्रम नरोकिएपछि जिल्ला प्रशासनले सरोकारवालासँगको छलफलबाट नदीजन्य वस्तु उत्खनन, प्रशोधनमा रोक लगाएको छ । विशेष गरी वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुँदा यो समयमा मजदुरको सुरक्षालाई ध्यान दिएर रोक लगाइएको प्रजिअ तामाङले जानकारी दिए । प्रजिअ तामाङले नदी र खोलामा बालुवा झिक्न लागिरहेको मजदुरसँग स्थलगत छलफल थालेका छन् । बालुवाको अवैध कारोबार गर्नेमा धादिङ जिल्ला अग्रपङ्क्तिमा रहेको छ । धादिङका बालुवा कारोबारीले स्थानीय प्रशासन, नगरपालिका र गाउँपालिकाका प्रमुखसँग समन्वय गरेर अवैध बालुवा उत्खनन प्रशोधनमा ख्याति कमाएका छन् ।

धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा सयको हाराहारीमा बालुवा, गिटी चाल्ने फिरफिरे उद्योग सञ्चालनमा रहेका छन् । फिरफिरे सञ्चालनका लागि प्रहरी–प्रशासनको आँखा छलेर रात–साँझ उत्खनन भइरहेको थियो । नदीकिनार क्षेत्रमा प्रहरीले राति गस्ती गर्ने र उत्खनन भएको देखिए÷पाइए स्थलगत कारबाही गरी दण्ड–जरिवाना गरिने बताइएको छ । मजदुरको सुरक्षा, प्राकृतिक सम्पदाको संरक्षण तथा त्रिशूली नदी बचत अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा प्रजिअ तामाङले गरेका छन् । विगतमा पनि प्रहरी लगाएर अवैध बालुवा र ढुङ्गा उत्खनन रोक्न प्रशासन असफल हुँदा प्रजिअ, प्रहरी प्रमुख अवधि नपुग्दै सरुवा भएको धादिङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कृष्ण श्रेष्ठले बताए ।