विद्यालयबाट क्वारेन्टाइन हट्दै

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १०:३३
Logo of trishuli prawaha

विदुर, कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम हुँदै गएको र क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून भएपछि नुवाकोट जिल्लाका सामुदायिक विद्यालयमा पालिकाले सञ्चालन गरेका क्वारेन्टाइन हटाउने प्रक्रिया थालिएको छ ।

जिल्लाको १२ वटा पालिकाका ५९ वटा विद्यालयमा सञ्चालनमा रहेका क्वारेन्टाइन साउन सुरु भएसँगै क्रमशः हटाउने निर्णय जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको थियो । विदेशबाट आएका कोरोनाको शङ्कास्पद बिरामी र उनीहरूका परिवारका सदस्यलाई राख्ने गरी नुवाकोटमा सञ्चालन भएका अधिकांश क्वारेन्टाइन सामुदायिक विद्यालयमा रहेका थिए । विदेशबाट र अन्य जिल्लाबाट नुवाकोट आउने क्रम जेठ महिनामा ह्वात्तै बढेको थियो । जेठ महिनामा ५९ वटा विद्यालयमा सञ्चालन भएको क्वारेन्टाइनमा पाँच सयभन्दा बढीलाई १४ दिन राखेर उपचार गरिएको थियो । सरकारले भदौ १ गतेदेखि विद्यालय खोल्ने र भर्ना अभियान सुरु गर्ने निर्णय गरेपछि सामुदायिक विद्यालयबाट क्वारेन्टाइन हटाउने प्रक्रिया जिल्लामा अगाडि बढेको हो । विद्यालयबाट क्वारेन्टाइन हटाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । जिल्ला सङ्कट केन्द्रको बैठकले क्वारेन्टाइन सञ्चालन हुँदै आएको विद्यालयको विकल्पको रूपमा अन्य स्थानको पहिचान गरी स्थानान्तरण गर्न जिल्ला समन्वय समितिमार्फत जिल्लाको १२ वटै पालिकालाई अनुरोध गर्ने निर्णय गरेको थियो । विद्यालयमा सञ्चालन गरिएको क्वारेन्टाइन हटाउने गरी छलफल भइरहेको र केही पालिकाले कार्यान्वयनसमेत गरिसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । जिल्लाको विदुर नगरपालिकाले विद्यालयमा सञ्चालनमा रहेको क्वारेन्टाइन हटाइसकेको छ भने दुप्चेश्वर, पञ्चकन्या, किस्पाङ, तादी, लिखु हटाउने प्रक्रियामा रहेको जानकारी पाएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए । पालिकाभित्र रहेका अन्य वैकल्पिक संरचनाको खोजी गरी व्यवस्थापन गर्न अनुगमन र निर्देशन दिएकोसमेत उनले बताए ।

जिल्ला सदरमुकाममा रहेको विदुर नगरपालिकाले वीरेन्द्र मावि वि.न.पा.– १२ र च्वाडी पब्लिक मावि वि.न.पा.–५ मा सञ्चालन गरेको क्वारेन्टाइन बन्द गरिसकेको छ । नगरपालिकाले च्वाडी माविमा निर्माण गरेको क्वारेन्टाइनको सम्पूर्ण सामग्री विद्यालयको एउटा कोठामा स्टोर गरेर राखेको छ । नगरपालिकाले त्रिशूलीमा रहेको शौक्षिक तालिम केन्द्र र त्रिशूली पोलिक्लिनिकमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा नौजना पुरुष र एकजना महिला रहेको मेयर सञ्जु पण्डितले जानकारी दिए । कोरोनाको संक्रमण कायमै रहेकोले वैकल्पिक स्थानको खोजी गरेर विद्यालयबाट क्वारेन्टाइन खाली गरेर पठन–पाठनमा सहयोग गरेकोसमेत उनले बताए । जिल्लाको तारकेश्वर, ककनी, शिवपुरी र म्यागङ गाउँपालिका र बेलकोटगढी नगरपालिकाले वैकल्पिक स्थानको खोजी गरिरहेका छन् । विद्यालयमा रहेको क्वारेन्टाइन खाली भए पनि सामान राखिरहेकोले पठन–पाठन गराउन सहज नभएको विद्यालयका प्रधानाध्यापकले बताएका छन् । जिल्लाका क्वारेन्टाइनमा बुधबार बिहानसम्म चार महिला र ३३ पुरुष गरेर ३७ जना बसिरहेका छन् । ४६ विद्यालय र केही स्वास्थ्य संस्था तथा सामुदायिक भवनमा सञ्चालन रहेका क्वारेन्टाइनमा नौ सय ७७ बेडसङ्ख्या हालसम्म रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । बुधबार बिहानसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । ५३ जनाको रिपोर्ट आउन बाँकी छ भने ५३ जना आइसोलेसनबाट कोरोनामुक्त भएर घर फर्केका छन् ।