विनपाको ९ र ककनीको ५ नं. वडा सिल

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १०:३५
Logo of trishuli prawaha

विदुर, नुवाकोटमा कोरोना सङ्क्रमित समुदायस्तरमै देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार विदुर नगरपालिकाको वडा नं. ९ र ककनी गाउँपालिकाको वडा नं. ५ मा बुधबार बेलुकी ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको सूचनाअनुसार विदुर नगरपालिकाको बुधबारको बैठकको सिफारिसको आधारमा विदुर नगरपालिकाको पूर्वमा सुनचापाको चौतारो र इन्टेकडिल र पश्चिममा हात्तीगौँडा, उत्तरमा १२ नं. खोला र दक्षिणमा सामरी दोभान खोला क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि अतिआवश्यक सेवाबाहेक सबै गतिविधि बन्द गरेको छ । त्यसैगरी, ककनी गाउँपालिकाको वडा नं.– २ र ५ को पूर्वमा ककनी घमाइलो, पश्चिममा पासाङल्हामु राजमार्ग र उत्तरमा ककनी हाइट नेपाल स्काउट तालिम केन्द्र र दक्षिणमा सशस्त्र प्रहरी बल तालिम केन्द्र क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन ऐन २८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको छ । मंगलबार सहिद गंगालाल हृदय रोग केन्द्र र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट प्राप्त कोभिड– १९ परीक्षण नतिजाअनुसार विदुर नगरपालिका वडा नं.– ९ का एकजना महिला र ककनी गाउँपालिका वडा नं.– ५ का एकजना पुरुषमा कोभिड– १९ सङ्क्रमण देखिएको थियो । सङ्क्रमित व्यक्तिसँग यस अवधिमा सम्पर्कमा आएका व्यक्तिको खोज–पड्ताल गरी कोरोना सङ्क्रमण फैलन नदिन विदुर नगरपालिकाको नगर कार्यपालिकाको साउन २१ गतेको बैठकको सिफारिसमा विदुर नगरपालिका क्षेत्रभित्र सिल गरिएको छ ।
गाउँपालिकाको सिफारिसमा गत हप्ता सूर्यगढी गाउँपालिकाको वडा नम्बर २ र ३ का पहरेथोक तथा बागेश्वरी माध्यमिक विद्यालय आसपासका पूर्वमा बोहोरेभञ्ज्याङ, दक्षिणमा पोखरीडाँडा, वडा नम्बर २ को कार्यालय, हिलेटोल, पश्चिममा नयाँ चौतारा र उत्तरमा बागेश्वरी भञ्ज्याङमा निषेधाज्ञा जारी गरेको थियो भने विदुर नगरपालिकाको सिफारिसमा वडा नं. ८ लाई सिल गरी सङ्क्रमित व्यक्तिसँग त्यस अवधिमा सम्पर्कमा आएका व्यक्तिको खोज–पड्ताल गरिएको थियो ।