कोरोनामुक्त जिल्लाबाट रसुवा बाहिरियो

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १०:३७

धुन्चे, रसुवा जिल्ला १७ दिनअघि मात्र कोरोनामुक्त जिल्ला भएको थियो, सोमबार एकजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कोरोनामुक्त जिल्लाको सूचीबाट रसुवा बाहिरिएको छ ।

सोमबार उत्तरगया गाउँपालिकाका २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रसुवा कोरोनामुक्त जिल्लाको सूचीबाट बाहिरिएको हो । सङ्क्रमित पुरुष भारतबाट आएर भुवनेश्वरी क्वारेन्टाइनमा बसिरहेका थिए । साउन २ गते रसुवाका सबै सङ्क्रमित निको भएपछि जिल्ला कोरोनामुक्त भएको थियो । रसुवामा हालसम्म १२ जनामा कोरोना पुष्टि भएकोमा ११ जना निको भएर घर फर्किसकेका छन् । नौकुण्ड गाउँपालिकामा नौ, उत्तरगयामा दुई र कालिकामा एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार हालसम्म एक सय ९६ वटा स्वाब सङ्कलन गरिएको छ । अहिले जिल्लाको विभिन्न क्वारेन्टाइनमा ११ जनालाई राखिएको छ । जिल्लामा ३५ शय्याको आइसोलेसन र तीन सय दुई शय्याको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ ।