त्रिशूली, तादी र लिखु नदी उत्खनन् रोक्न प्रहरी परिचालन

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १४:३३
Logo of trishuli prawaha

विदुर, नुुवाकोट जिल्लाभित्रका त्रिशूली, तादी, लिखु नदीमा अबैध उत्खनन् रोक्न प्रहरीको चौबिंसै घण्टा निगरानी भईरहेको छ । नदीमा अबैध उत्खनन् र दोहन रोक्नको लागि प्रहरी परिचालन भएको छ ।

मैलुङदेखि कोल्पुटारसम्म त्रिशूली नदीमा बालुवा उत्खनन् हुने स्थान वरपर चौबिंसै घण्टा प्रहरी परिचालन गरेको जिल्ला अनुगमन समितिले जनाएको छ । दिन दहाडै नदी दोहन हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो । दैनिक ठुला उपकरण प्रयोग गरी दिन र रातको समयमा नदी उत्खनन् हुन थालेपछि जिल्ला अनुगमन समितिले निर्णय गर्दै चौबिंसै घण्टा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले बताउनु भयो । अहिलेसम्म प्रहरीले एक थान स्काभेटर नियन्त्रणमा लिएको छ । अबैध नदी उत्खनन् गरिरहेको समयमा प्रहरीले स्काभेटर नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको नुवाकोट प्रहरी प्रमुख काफ्लेले बताउनु भयो । स्थानिय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सबै सरोकारवाला निकायको समन्वयमा नदीको उत्खनन् र दोहन रोकेर संरक्षण कार्यमा जुटेका छन् । बालुवा ब्यवसायीले दिनमा हाते औजारको प्रयोग र रातको समयमा ठुला उपकरणको प्रयोग गरी नदी उत्खनन् गर्न थालेपछि जिल्ला अनुगमन समितिले कडाई गरेको हो । समितिको बैठक बस्दै चौबिंसै घण्टा प्रहरी परिचालन गर्ने र प्रहरी दैनिक परिवर्तन हुने ब्यवस्था लागु गरेको छ ।

प्रहरीकै संरक्षणमा नदी उत्खनन् हुने गरेको जनप्रतिनिधिले बताएपछि दैनिक रुपमा प्रहरी परिवर्तन गरि परिचालन थालेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्राकृतिक स्रोत संरक्षणमा प्रहरी सक्रिय रहेको बताउँदै प्रहरी उपरिक्षक काफ्लेले आवश्यक समन्वय र सहजीकरणको लागि स्थानीय तहको ध्यानाकर्षण गराएका छन् । असार–साउन–भदौ ३ महिना नदीजन्य सामाग्री उत्खनन् गर्न नपाईने संबैधानिक ब्यवस्था रहेको छ । तर अबैध रुपमा नदीजन्य सामाग्रीको चोरी निकासी भने जिल्लामा बढ्दो अवस्थामा रहेको छ ।