कोरोना रोकथाम र नियन्त्रणमा पालिकाको प्राथमिकता

  • त्रिशूली प्रवाह
  • ४ भाद्र २०७७, बिहीबार ०९:५३

विदुर- नुवाकोटमा स्थानीय सरकारका प्रमुखले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्नु नै स्थानीय तहको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा स्थानीय तहका प्रमुखले जिल्लामै सङ्क्रमण रोकथामको प्रयासलाई मजबुत बनाउन स्थानीय तह अग्रसर हुने बताएका थिए । स्थानीय तह आफैँले सबै सेवा बन्द गरी नागरिकलाई घरघरमै रहेर अत्यावश्यक सेवा लिन आग्रह गरेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए । उनले भने, ‘केही समयका लागि जिल्लालाई पूर्ण रूपमा लकडाउन गरी भएका सङ्क्रमितको पहिचान र उपचार गर्ने नीति अपनाएको हो ।’ पटक–पटक निषेधाज्ञा जारी गर्दै नागरिकलाई दुःख दिनु मनसाय नरहे तापनि सङ्क्रमणकालीन अवस्थाले बाध्यात्मक परिस्थिति सिर्जना भएको उनको भनाइ छ ।

अहिले जिल्लाका १२ वटै गाउँपालिका निषेधाज्ञा जारी गर्न प्रशासनलाई सिफारिस गर्दै गाउँपालिकालाई पूर्ण रूपमा कोरोना सङ्क्रमित मुक्त गराउन लागिपरेका छन् । लिखु गाउँपालिकाले नौलो व्यक्तिलाई गाउँपालिका प्रवेशमा कडा गर्दै क्वारेन्टाइनमा नबसे पक्राउ गर्ने विज्ञप्ति प्रकाशित गरेको छ । निषेधाज्ञा अवधिभर कोही–कसैलाई केही समस्या भएमा वडा र गाउँपालिकामा सम्पर्क गर्न अध्यक्ष धु्रव श्रेष्ठले आग्रह गरेका छन् ।

निषेधाज्ञाको पूर्ण पालना गर्ने र बाहिरी जिल्लाबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखेमा मात्रै जिल्ला सङ्क्रमण मुक्त हुने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताएका छन् । जिल्लालाई रोगमुक्त बनाएर भोकले कोही नमर्ने वातावरण बनाउनुपर्ने धारणा उनले राखेका छन् । तत्कालका लागि केही समय जिल्ला पूर्ण रूपमा सिल गर्ने र जिल्ला भित्रिने नाकामा कडाइ गर्र्दै जिल्ला भित्रिएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखेमा जिल्लालाई सङ्क्रमणको जोखिमबाट कम गराउन सक्ने धारणा जिल्लाका सरोकारवालाले राखेका छन् । विगतमा जिल्लाबाहिरबाट आएकालाई नियन्त्रण गर्न नसक्दा कोरोनाको सङ्क्रमण फैलिएको हो ।