कोरोना भाइरसको सङ्क्रमण देशभर नियन्त्रण हुन नसक्ने गरी फैलिएको छ । नुवाकोटमा समेत एक वडाध्यक्षसहित टोल, वडा हुँदै पालिकालाई नै त्रसित हुने गरी फैलिएपछि स्थानीय प्रशासनले जिल्लाका १० वटा पालिकामा निषेधाज्ञा जारी गरेर फैलिन नदिन रोकथामको उपाय सुरु गरेको छ । कोरोनाको परीक्षणलाई व्यापक बनाइरहे पनि पोजेटिभको सङ्ख्या दिन प्रतिदिन जिल्लामा थपिने क्रम बढिरहेको छ । मानिस भन्न सक्छन्– पहिला लकडाउन आवश्यक थिएन । बरु सामाजिक रूपमा रोगको प्रकोप फैलिँदै छ, अबचाहिँ लकडाउन लगाउनुपथ्र्यो । के बुझ्न आवश्यक छ भने लकडाउन विदेशबाट नेपालमा भाइरसको प्रवेश नहोस् भनेर रोक्नका लागि गरिन आवश्यक थियो । त्यो लागू नभएको भए भारतसहित नेपालमा सङ्क्रमित हुने र सोही अनुपातमा मर्नेको सङ्ख्या निकै हुन्थ्यो अहिले ।
गत चैत ११ बाट देशभर लागू भएको लकडाउन मात्रै पूर्ण माध्यम भने थिएन । विशेषगरी छिमेकलगायतका अन्य देशबाट नेपालमा सङ्क्रमण नभित्रियोस् भन्नका लागि थियो लकडाउन । वास्तवमा परीक्षण, सुरक्षा, क्वारेन्टाइन, रेखदेख, निगरानी, आइसोलेसन एवम् आवश्यक पर्दा श्वास–प्रश्वासको भरथेग गर्न आवश्यक पूर्वतयारीका निम्ति थियो । आवश्यक सुरक्षा सामग्रीसहित उच्च मनोबलयुक्त स्वास्थ्यकर्मीको तम्तयारीको अवसर थियो । यो उपाय युद्धस्तरमा अपनाउनुपर्ने आवश्यकता थियो । विभिन्न तह र माध्यमबाट यिनको आवश्यकता औँल्याइएकै पनि हो । लकडाउनपूर्व दक्षिणी छिमेकी राष्ट्रसँग भएको एक–अर्का देशका नागरिकको सम्बन्धित मुलुकमा व्यवस्था गर्ने सहमति कार्यान्वयन हुन सकेन । एकैपटक ठूलो सङ्ख्यामा नागरिक स्वदेश भित्रिनु अनि सङ्घीय, प्रादेशिक एवम् स्थानीय सरकारका क्वारेन्टाइनलगायतका व्यवस्थापन कमजोर रहन पुगे । सामाजिक सङ्क्रमणको आधार नै त्यही बन्न पुग्यो ।
सापेक्षित रूपमा मूल्याङ्कन गर्दा नेपालमा पिसिआर परीक्षणको सङ्ख्या निराशाजनक होइन । तर, स्तर, दायरा, खर्च आदि बारे विभिन्न आलोचना भइरहेको छ । हतार र हतासमा कमी, कमजोरी रहन सक्छन्, तर यस्तै अवस्थामा अस्वाभाविक फाइदा लुट्ने स्वार्थीहरू पनि जम्जमाइरहेका हुन्छन् भन्ने ख्याल जिम्मेवारी तहमा बस्नेले लिनुपर्ने हुन्छ । सदाका लागि लकडाउन कायम हुन सक्ने सम्भावना थिएन र छैन पनि । दुःखका साथ भन्नुपर्छ, तीन तहकै सरकार हुँदाहुँदै पनि मानवीय आवश्यकता पूर्तिमा अपेक्षित सफलता देखिएन ।
सरकारले मूलतः आर्थिक कारणले नै जोखिम मोलेरै लकडाउन फिर्ता लिएको हुनुपर्छ । तर, लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजाने भन्नुको सट्टा फिर्ता भएको भन्ने अर्थ लाग्दा एक्कासि अनियिन्त्रत भिडभाड बढ्न थाल्यो । जिल्ला र राजधानीका सडक, कार्यालय एवम् व्यक्तिगत भौतिक दूरीमा ध्यान दिइएन । फलस्वरूप सङ्घीय राजधानी काठमाडौं उपत्यकामा लकडाउनपछिको अवस्था सम्हालिन र नियन्त्रित हुन सकेको छैन ।
सङ्क्रमण तीव्र गतिमा सामाजिक रूपमै फैलिने सम्भावना बढेको छ । झनै ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा त यदि सुरक्षा र सावधानीका उपाय अपनाउन सकिएन भने अमेरिकाको न्युयोर्क, भारतको बम्बै, दिल्लीको नियति नै भोग्नुपर्ने सम्भावना रहन्छ भनेर विज्ञले सुझाएका छन् । मानवीय सङ्कटका कारण लकडाउन लगाउन नसकिने भएपछि दैनिक मानवीय क्रियाकलाप कायम गर्दै कसरी सङ्क्रमणबाट बच्ने भन्ने सवाल नै अहम् बनेको छ । सङ्क्रमणको उपचार र भ्याक्सिन उपलब्ध नहुँदासम्म कीटाणुको आक्रमणबाट बच्नुको विकल्प रहेन ।
कीटाणुहरू सङ्क्रमितको खकार, थुकको थोपा आदिबाट सीधै अथवा हावाका माध्यमबाट स्वस्थ व्यक्तिमा नसरून् भन्नाका लागि तोकिएका निर्दिष्ट उपाय अपनाउनैपर्ने हुन्छ । विभिन्न वैज्ञानिक रूपमा सुझाइएका उपाय अपनाई कीटाणु सर्नबाट रोक्नुपर्ने आवश्यकता छ । व्यक्ति–व्यक्तिबीच अवस्था हेरी कम्तीमा एक–दुई मिटरको दूरी कायम हुनुपर्छ । तर, सङ्क्रमितमा खोकी छ भने त नजिक जानै हुन्न ।
तीनप्रति कपडा वा फाइवरको मास्कलाई नाक र मुख छोपिने गरी टपक्क लगाई अगाडिको भाग चस्माले छोप्नुपर्ने हुन्छ । मानिसको सम्पर्कमा रहेका बखत मास्क खोल्नै हुन्न । पटक–पटक नाक र मुख छुँदा प्रत्येक पटक फिँज आउने गरी साबुनले हात धुनुपर्छ । मुख्य चुनौती भनेको सामाजिक या व्यक्ति–व्यक्तिबीचको भौतिक दूरी कायम गर्न प्रत्येक घर, परिवार, समाज, सार्वजनिक स्थल आदिमा मापदण्ड कायम गरी सोको पालना गराउनुपर्ने हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रशस्त पानी पिउनुपर्छ । यथासम्भव हरिया तरकारी र फलफूल सेवन गर्नुपर्छ । चुरोट, खैनी, सुपारी, तमाखु, गुट्खा एवम् अल्कोहलयुक्त पेयपदार्थका अम्मल त्याग्नैपर्छ । यस्ता हानिकारक वस्तुले सङ्क्रमण बढाउँछन् । डायबिटिज, दमलगायत सबैखाले दीर्घरोगीलाई बाहिरी व्यक्तिसँग सम्पर्क हुनबाट टाढा राख्नुपर्छ । शारीरिक रूपमा मोटोपनले पनि रोग जटिल बन्न सघाउँछ । जगजाहेर छ– मानसिक रूपमा चिन्तित हुने व्यक्तिको रोगप्रतिरोधी क्षमता घट्छ ।
नियमित रूपमा शारीरिक व्यायाम, ध्यान र लामो लामो श्वास लिँदै, रोक्दै, छाड्दै गरिने प्राणायामबाट पनि शारीरिक रूपमा स्वस्थ र तनावबाट मुक्त रहन सहयोग मिल्छ । आत्मविश्वासले रोगविरुद्ध लड्ने क्षमता बढाउँछ । उत्तेजना एवम् अधैर्यजस्ता अवस्थाले शरीरभित्र नकारात्मक प्रभाव पार्छन् ।
लक्षणयुक्त एवम् गम्भीर बिरामीको सङ्ख्या बढ्दै गए सामाजिक सङ्क्रमण र मृत्युदर पनि बढ्न सक्ने भएकाले युद्धस्तरमा आइसोलेसन, आइसियू वार्ड एवम् भेन्टिलेटरको सङ्ख्यामा वृद्धि गर्नु अहिलेको आवश्यकता हो, त्यसका लागि तीनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्छ ।