नेगीको जोखिमयुक्त बस्ती स्थानान्तरण

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार ०७:३७

घ्याङफेदी/ ०७२ को भूकम्पको कारण पहिरोको जोखिममा रहेको नुवाकोट जिल्लाको साबिक घ्याङफेदी गाउँपालिका– ३ हालको दुप्चेश्वर गाउँपालिका– १ को तादी खोलाको किनारका ३२ घरपरिवारलाई मंगलबार सुरक्षा स्थानान्तरण गरिएको छ ।

०७२ को महाभूकम्पपश्चात् खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौंद्वारा जुलाई ०१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिंहदरबार काठमाडौंमा पेस भएको प्रतिवेदनको बुँदा नं. ८.३.१ अनुसार साविक घ्याङफेदी गाउँपालिका वडा नं.– ३, नेगी (हाल दुप्चेश्वर गाउँपालिका वडा नं.–१) तादी खोलाको किनारमा भिरमुनि अवस्थित ३२ घरपरिवार भएको बस्तीको करिब एक सय ५० मिटरमाथि ठूलो ढुङ्गा अस्थिर अवस्थामा रहेकोले बस्तीका लागि खतरा देखिएकोले स्थानान्तरण गर्न प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनमा उक्त क्षेत्रमा पहिरो जान सक्ने सम्भावना रहेकाले सो जोखिमयुक्त बस्तीका ३२ घरपरिवारलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने व्यहोराको सिफारिससमेत प्रतिवेदनमा गरेको थियोे । प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख हुँदासमेत उक्त स्थानका अधिकांश लाभग्राहीले सोही स्थानमा घर निर्माण सम्पन्न गरी साबिककै जोखिम बस्तीमा बस्दै आएका थिए । अहिले उक्त ठूलो ढुङ्गा झर्न लागेको भनी स्थानीयबाट सूचना प्राप्त हुनासाथ जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रजिअ र समितिका सदस्यसहित स्थानीय तहको जनप्रतिनिधिको टोलीबाट भदौ ७ गते स्थलगत निरीक्षण गर्दा अस्थिर रहेको त्यो ठूलो ढुङ्गा चिरा पर्न गई जुनसुकै बेला पहिरो जान सक्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने देखिएकाले सो स्थानमा बसोवास गरेका सम्पूर्ण घरपरिवारलाई तत्काल नजिकको सुरक्षित स्थानमा अस्थायी आवास व्यवस्था बनाई सार्ने निष्कर्षमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको पहलमा ०७२ देखिको जोखिम बस्ती सार्ने सिफारिस यसपटक कार्यान्वयनमा आएको छ । प्रजिअले स्थानान्तरण गरी सम्भावित जनधनको क्षति रोक्न ५० थान टेन्ट उपलब्ध गराइदिन गृह मन्त्रालयमा अनुरोध गरेका थिए ।

गृह मन्त्रालयबाट २३ थान टेन्ट र १२ थान तार्पोलिन (त्रिपाल) दिने निर्णय भएकोमा सो सामग्री ल्याउन जिल्ला प्रशासन कार्यालयबाट दुईवटा टिपरमा ल्याएको सामग्री सङ्घीय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि र प्रहरीसमेतको उपस्थितिमा पीडित परिवारलाई मंगलबार उपलब्ध गराइएको थियो । भदौ १६ गते पीडितलाई नजिकको सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । प्रभावित परिवारलाई तत्कालका लागि अस्थायी बसोवास र वर्षायामपछि सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न पहल भइरहेको सङ्घीय सांसद तामाङले बताए ।