भैरवी मन्दिरको पुनर्निर्माण सम्पन्न

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार १०:३९

विदुर, ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोटको ऐतिहासिक भैरवीदेवी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

भूकम्प गएको पाँच वर्ष पाँच महिनापछि मन्दिरले पहिलाकै स्वरूप पाएको छ । मन्दिरमा विधिपूर्वक पूजा गरेर धामी हरिमानसिंह डङ्गोलले गत सोमबार मन्दिरको मुख्य गजुर राख्न लगाएका थिए । कोरोनाका कारण निषेधाज्ञा नहटेकाले काठमाडौंबाट गुभाजु आउन नपाएपछि धामीले गजुर राख्न लगाएका हुन् । ०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएर मन्दिरमा क्षति पु¥याएको थियो । क्षतिग्रस्त मन्दिर ०७३ बाट पुरातत्व विभागले पुनर्निर्माण थालेको थियो । नुवाकोटको प्रमुख शक्तिपीठको रूपमा भैरवीलाई पुजिन्छ । मन्दिर पुनर्निर्माण गर्न निर्माण पक्षले भक्तपुरदेखि कालीगढ झिकाएर टुँडाल, काष्ठकलाका मूर्तिहरू र छाना छाउन लगाएको थियो । मन्दिर प्यागोडा शैलीको रहेको छ । मन्दिरमा माथिल्लो छाना सुनको जलपयुक्त रहेको छ । सुनको जलप लगाउन एक किलो ३० तोला सुन लागेको पुरातत्व विभागले जनाएको छ । पुरानै शैलीमा नयाँ सामग्री प्रयोग गरी मन्दिरको पुनर्निर्माण गरिएको हो । समयमा मन्दिर पुनर्निर्माण नभएपछि पटक–पटक म्याद थप्दै काम अगाडि बढाइएको थियो ।

मन्दिर परिसरभित्र ओछ्याइने तेलीय इँटा राख्ने काम भदौभित्र सकिने विदुर नगरपालिका-२ का अध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । मन्दिर पुनर्निर्माण चार करोड ६३ लाख रुपैयाँ लागतमा भएको कार्यालयले जनाएको छ । पुरानो डिजाइनमा जस्ताको तस्तै मन्दिर निर्माण गरिएको पुरातत्व विभागले जनाएको छ । यो मन्दिर १४औँ शताब्दीमा जगज्योति मल्लले पुनर्निर्माण गराएको इतिहासमा उल्लेख छ । मन्दिर निर्माण भए पनि सोह्रश्राद्ध सुरु र असोजमा अधिकमास भएकाले क्षमापूजा र अन्य विधिपूर्वक गरिने पूजा बाँकी रहेकाले सर्वसाधारणका लागि मन्दिरमा नियमित पूजाआजा र दर्शन गर्न भने अझ दुई महिना लाग्ने स्थानीय समाजसेवी रामराजा श्रेष्ठले जानकारी दिए । मन्दिर निर्माणको ठेक्का नुवाकोटकै गुल्लीभर कन्स्ट्रक्सनले लिएको थियो ।