कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर चैत ११ गतेदेखि लकडाउन सुरु गरिँदा मुलुकमा जम्मा दुईजना सङ्क्रमित रहेको पुष्टि भएको थियो । साउनको पहिलो हप्ता लकडाउन अन्त्य गरेपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या देशभरि फैलिएको छ । सरकारले देशभर बन्दाबन्दी अर्थात् लकडाउन हटाए पनि सङ्क्रमण दर घटेको छैन । केही दिन केही कमी आएजस्तो देखिए पनि मुलुकभरको अवस्था विश्लेषण गर्दा ढुक्क हुने स्थिति छैन । स्थानीय प्रशासनले पालिकाको सिफारिसमा ४५ वटाभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरेर कोरोना रोकथाममा जुटे पनि नियन्त्रण हुन सकेको छैन । भदौ लागेसँगै एकैसाथ देशभर कोरोनाका नयाँ बिरामी थपिने क्रम बढिरहेको छ । कतिपय ठाउँमा कतै पनि यात्रामा ननिस्केका र सङ्क्रमितको सम्पर्कमा नबसेकालाई समेत कोरोनाको लक्षण देखिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणबाहिर जान लागेको यी घटनाले पुष्टि गरेको छ । चार महिनासम्म लकडाउन गरेर नियन्त्रण गरेजस्तो देखिए पनि अहिलेको सङ्क्रमण गतिलाई रोक्न तयारीका साथ सजगता अपनाउन सक्नुपर्छ । होइन भने प्राणघातक भाइरसले कोही–कसैलाई जतिखेर पनि आक्रमण गर्ने पक्का छ । यस्तो अवस्था आयो भने कोरोना नियन्त्रणको लागि विगतमा गरिएको लकडाउन व्यर्थ साबित हुनेछ । कोरोनाले मुलुक र जनतालाई अपूरणीय क्षति पु¥याउनेछ । यो क्षतिको हिसाबकिताब कुनै पनि नापबाट गर्न सकिने छैन ।
नुवाकोट वैशाखसम्म कोरोनामुक्त जिल्लाको रूपमा रहेको थियो । जेठ ११ गते ककनी गाउँपालिका-३ चाउथे ढुङ्गानाटोलको नवराज ढुङ्गानालाई कोरोना पुष्टि भएपछि नुवाकोटमा कोरोना सङ्क्रमितको खाता खुलेको थियो । ढुङ्गानालाई टेकु अस्पतालमा भर्ना गरी उपचारपछि थप परीक्षण गर्दा सङ्क्रमण नभएपछि घर पठाइएको थियो । उनी घर फर्केपछि जेठ २० गते भारतबाट आएका म्यागङ गाउँपालिकाको क्वारेन्टिन सामरीमा रहेका दुईजनामा कोरोना पोजेटिभ देखियो । त्यसपछि नुवाकोटमा कोरोना सङ्क्रमित सङ्ख्या बढोत्तरी हुन थाल्यो । सरकारले लकडाउन खुकुलो बनाउँदै अन्य जिल्ला र भारतलगायत मुलुकबाट आउन छुट दिएपछि नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या जेठदेखि बढेको बढ्यै छ । पछिल्लो दुई महिनाको जिल्लाको तथ्याङ्कले स्थिति भयावह देखाउँछ । छिमेकी जिल्ला रसुवा असार १५ गतेसम्म कोरोनामुक्त जिल्ला रहेको थियो । असार १५ पछि रसुवामा नौजना कोरोना सङ्क्रमित पुष्टि भयो, सङ्क्रमित सबै भारतबाट फर्केकाहरू मात्र थिए । रसुवा र नुवाकोटमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पालिकाको सिफारिसमा स्थानीय सरकारले निषेधाज्ञा जारी गरेर बाहिरबाट जिल्ला आउनेलाई पूर्ण बन्देज लगाएको छ । निषेधाज्ञा लामो समय लगाउनु व्यावहारिक हुँदैन । बाहिरबाट जिल्ला आउनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने र बाहिरबाट आएका सवारीचालकलाई निगरानीमा राखी सामान लोड–अनलोड गरेपछि सिमाना कटाउने व्यवस्था गर्नुपर्छ । स्थानीय प्रशासन र पालिकाले जनता रोगले भन्दा पनि भोकले मर्छन् कि भनेर सोच्नुपर्ने अवस्था आएको छ । लकडाउन र निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण हुने होइन । कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पूरा गर्ने, सामाजिक दूरी कायम गरेर काम गर्ने वातावरण बनाउन नसके रोगभन्दा पनि भोकले सङ्क्रमण फैलिन सक्छ । कोरोनासँगसँगै आफ्ना दैनिकी सुचारु गर्ने वातावरण बनाउन नसके भोकमरी बढ्नेछ । हरेक नागरिकले आफू सुरक्षित रहन सक्छु भन्नेबारेमा सोच्नुपर्छ । सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क, स्यानिटाइजर वा हात धुने व्यवस्था अनिवार्य गर्नुपर्छ । मास्क खरिद गर्ने क्षमता नभएकालाई स्थानीय सरकारले निःशुल्क वितरणको व्यवस्था गर्नुपर्छ ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीले प्रलोभनमा परेर जिल्ला प्रवेश गर्ने नाकालाई कडाइ गर्न नसक्दा कोरोनाका सङ्क्रमित विगतमा भित्रिएका थिए । अब खुला माहोल भयो भन्दैमा नागरिकले घरबाहिर निस्कँदा मास्क लगाउने, सम्भव भएसम्म हात धुने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने कुरा बिर्सनुहुन्न । भिडभाड हुन नदिनेमै जोड दिनुपर्छ । सकेसम्म त्यस्तो स्थानमा जानुहुँदैन । वृद्धावृद्धा वा जोखिममा भएका समूहले अझ बढी आफ्नो ख्याल गर्नुपर्छ, सम्भव भएसम्म घरबाहिर ननिस्कनु नै उत्तम हुन्छ । बढ्दो आवागमनका कारण सङ्क्रमण सर्ने जोखिम पनि बढेको तथ्य हरेकले ध्यान दिनुपर्छ । प्रत्येक नागरिकले सचेतनापूर्वक पाइला चाल्दा मात्रै महामारी घटाउन सकिन्छ । तसर्थ, सरकारले आफ्ना काम–कारबाहीलाई प्रभावकारी बनाउन जति आवश्यक छ, त्यति नै खाँचो पर्छ सेवाप्रदायक र आमनागरिकले आफ्नोतर्फबाट सतर्कता अपनाउन । योबेला सबै पक्षमा जिम्मेवारीबोध हुनुपर्छ, किनभने लकडाउन हटाइए पनि महामारी सकिएको छैन ।