नुवाकोटका दुईजना सहसचिव हङकङ र ल्हासाका लागि महावाणिज्यदूत

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार १०:४९
Logo of trishuli prawaha

काठमाडौं, सरकारले सचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिज्यदूतमा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा जन्मेका उदय रानामगरलाई हङकङ र नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

ढकाल बेलकोटगढी नगरपालिका-११ तिगाउँमा जन्मिएका हुन् भने रानामगर वडा नं. १२ मदानपुरमा जन्मिएका हुन् । सरकारले रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिएको हो । ढकाल उद्योग मन्त्रालयको सहसचिव र रानामगर झापाको प्रमुख जिल्ला अधिकारी रहेका थिए । दुवैलाई महावाणिज्यदूत नियुक्ति गर्न सरकारको अघिल्लो मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमातहत सरुवा गरेको थियो । ढकाल ०७३ भदौदेखि ०७५ वैशाखसम्म निर्वाचन आयोगको प्रवक्ताको भूमिकासमेत निभाइसकेका व्यक्ति हुन् । उनकै कार्यकालमा देशमा स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ हङकङले लामो समयदेखि जनजाति समुदायका महावाणिज्यदूत पठाउन माग गर्दै आन्दोलनसमेत गरिरहेको थियो । रानामगर नुवाकोट बट्टारका स्थायी बासिन्दा हुन् । उनले विदुर नगरपालिकाको कार्यकारी अधिकृतको रूपमा समेत कार्यभार सम्हालिसकेका छन् । उनले चारवटा जिल्लामा प्रजिअको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाललाई तिब्बतको ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ । यसअघि नुवाकोटकै महेन्द्रबहादुर पाण्डेलाई चीनको राजदूतमा नियुक्ति गरी पठाइएको थियो ।