स्थानीयको सहयोगमा गाँजा फँडानी

  • त्रिशूली प्रवाह
  • १९ भाद्र २०७७, शुक्रबार ११:१८

विदुर, जिल्ला प्रहरी कार्यालय नुवाकोटमातहत रहेको प्रहरी चौकीले स्थानीयवासीको सहयोगमा जिल्लाको विभिन्न स्थानमा प्राकृतिक रूपमै उम्रेको गाँजा फँडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सूर्यगढी गाउँपालिका– १ लच्याङ, जोडडाँडा क्षेत्रमा व्यक्तिको घर, आँगन तथा करेसाबारीमा आफैँ प्राकृतिक रूपमा अन्दाजी दुई रोपनी जग्गामा उम्रेका गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ । अवैध लागुऔषध गाँजा फँडानीलाई निरन्तरता दिँदै प्रहरी चौकी भैरवी नुवाकोटका प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा भदौ १३ गते विदुर नगरपालिका– २ को सीतापोखरी र तीनधारे क्षेत्रका विभिन्न व्यक्तिको जग्गा तथा करेसाबारीमा आफैँ उम्रेका तीन सयभन्दा बढी गाँजाको बोट नष्ट गरिएको थियो ।

त्यसैगरी, प्रहरी चौकी देउरालीका प्रहरी हवल्दार केशव तामाङको नेतृत्वको टोलीले स्थानीय पाँचजना युवाको सहयोगमा म्यागङ गाउँपालिका– ३ को फासाङ गाउँ क्षेत्रमा आफैँ उम्रिएका अन्दाजी चार सय बोट अवैध लागुऔषध गाँजाको बोट आइतबार नष्ट गरिएको थियो । विभिन्न व्यक्तिको जग्गा तथा करेसाबारीमा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न क्षेत्रमा आ.व. ०७७/७८ मा ३० रोपनी जग्गाको पाँच हजार पाँच सय अवैध गाँजाको बोट फँडानी गरी नष्ट गरिसकेको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । अवैध गाँजाको बोट फँडानी र नष्ट अभियानमा स्थानीयले सहयोग गरिरहेको छ । यो अभियान जारी रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।