क्वारेन्टिन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री वितरण

  • त्रिशूली प्रवाह
  • १९ भाद्र २०७७, शुक्रबार ११:३४
Logo of trishuli prawaha

बेत्रावती, मोठ म्याकडोनाल्ड (Mott MacDonald) को आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र, नेपाल विदुर नुवाकोटले सञ्चालन गरेको कोभिड-१९ प्रतिकार्य खानेपानी सरसफाइ स्वच्छता प्रवद्र्धन परियोजनाले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाका क्वारेन्टिन सेन्टर (एकान्तबास केन्द्रहरू)लाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

केन्द्रले रसुवाको गौतम बुद्ध मावि, नौकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाको डाँडागाउँ पुलिस प्रिफ्याब, उत्तरगया सामुदायिक स्वास्थ्य इकाइ तथा भुवनेश्वरी आधारभूत विद्यालय क्वारेन्टिन सेन्टरमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका लागि खानेपानीको मर्मत, धारा जडान, शौचालयको मर्मत, नुहाउने कक्षको व्यवस्थापन, फोहोर पानीको व्यवस्थापनका लागि सोकपिटको निर्माण गरेको छ । केन्द्रले सरसफाइ प्रवद्र्धनका लागि डस्टबिनको व्यवस्थापन तथा सङ्क्रमणको नियन्त्रणका लागि पेडल टच ह्यान्ड वासिङ स्टेसनको वितरण, जडान तथा व्यवस्थापन गरिसकेको छ । करिब ७० बेड क्षमताको नौकुण्ड गाउँपालिका क्वारेन्टिन सेन्टरलाई थप व्यवस्थित बनाउन केन्द्रले नौ लाख ५२ हजार आठ सय ३५ रुपैयाँको अनुमानित लागतमा पक्की शौचालयको निर्माण अघि बढाएको छ । त्यसैगरी, क्वारेन्टिन सेन्टरमा बस्ने मानिसका लागि कोभिड किटको वितरण गरेको छ । कोभिड किटमा व्यक्तिगत स्वास्थ्य प्रवद्र्धनका लागि विभिन्न २२ थरीका स्वास्थ्य सामग्री रहेका छन् ।

कोभिड किट बुझ्दै क्वारेन्टिन सेन्टर बस्नेले पैसा भएर पनि किन्न गाह्रो परेको अवस्थामा सामुदायिक विकास केन्द्र, नेपालले आवश्यकतालाई साँच्चिकै नजिकबाट नियालेर उपलब्ध गराएकोमा खुसी व्यक्त गरेका थिए । सो परियोजनाअन्तर्गतको सेवाग्राहीको चापको आधारमा नौकुण्ड गाउँपालिकाको ६ स्वास्थ्यचौकी तथा वडा कार्यालय वडा नं. ३ र ४ मा पेडल टच ह्यान्ड वासिङ स्टेसनको वितरण, जडान तथा व्यवस्थापन गरिएको छ । त्यसैगरी, उत्तरगया गाउँपालिकाका ४ स्वस्थ्यचौकी तथा वडा कार्यालय वडा नं. ३, ४ र ५ मा पेडल टच ह्यान्ड वासिङ स्टेसनको वितरण, जडान तथा व्यवस्थापन गरिएको छ । सामुदायिक विकास केन्द्र, नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले समुदायस्तरमा कोभिड-१९ को सङ्क्रमणको खतरा बढ्दै गएकोले सो सङ्क्रमण रोक्नका लागि आवश्यक कार्य अघि बढाएको बताए । परियोजनाका फोकल पर्सन सुकुमान डङ्गोलले कोभिड– १९ रोगबाट बच्नका लागि नयाँ प्रविधिको प्रयोग गरी उचित किसिमले विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार खानेपानी, स्वास्थ्य तथा स्वच्छता प्रवद्र्धनका लागि कार्य गरिरहेको जानकारी दिए ।

नौकुण्ड गाउँपालिकाका प्रमुख नुर्पुसाङ्बो तामाङले पालिकाको समग्र स्वास्थ्य सेवामा सारथिको रूपमा सहयोगी भूमिका निभ्याएकोमा खुसी व्यक्त गर्दै महामारीको यो अवस्थामा कुनै पनि संस्थाको सहयोग नभएको बताए । सङ्कटको यो अवस्थामा सामुदायिक विकास केन्द्र, नेपाल नुवाकोटले क्वारेन्टिन सेन्टर व्यवस्थापन र नौकुण्ड गाउँपालिका क्वारेन्टिन सेन्टरका स्वास्थ्यचौकी तथा वडा कार्यालयमा समेत खानेपानी, स्वास्थ्य तथा स्वच्छता प्रवद्र्धनका लागि महत्वपूर्ण सहयोग गरेको बताए । उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले सामुदायस्तरमा कोभिड– १९ को सङ्क्रमण रोक्नका लागि खानेपानी, स्वास्थ्य तथा स्वच्छता प्रवद्र्धनका लागि गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरेका छन् । उनले स्थानीय सरकारको साझेदार भई हरेक कार्यमा संस्थाको महत्वपूर्ण सहयोग रहेको स्मरण गर्दै कोभिड– १९ को महामारीमा क्वारेन्टिन सेन्टर व्यवस्थापनको सहयोगलाई महत्वपूर्ण रूपमा लिएको बताए ।  कोभिड-१९ प्रतिकार्य खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन परियोजना रसुवाको नौकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकामा सञ्चालित छन् । परियोजनाबाट प्रत्यक्ष–अप्रत्यक्ष करिब दश हजारभन्दा बढी मानिस लाभान्वित हुने बताइएको छ ।