क्रयशक्ति र उत्पादन गिरावट

  • त्रिशूली प्रवाह
  • १९ भाद्र २०७७, शुक्रबार ११:३९
Logo of trishuli prawaha

विदुर, कोरोना भाइरसको महामारीका कारण नुवाकोट जिल्लामा रोजगारी गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । रोजगारी गुमाएसँगै नागरिकको क्रयशक्तिमा गिरावट आएको छ भने उद्योग–व्यवसाय सञ्चालन नहुँदा उत्पादन घटेको छ ।

विशेषगरी दैनिक ज्यालादारी गर्ने, करारमा काम गर्ने, निजी क्षेत्रमा काम गर्ने र सानोतिनो व्यवसाय गर्नेको अहिले रोजगारी तथा आम्दानी गुमेको छ । रोजगारी गुम्दा गरिबी बढेको छ भने अर्काेतिर लकडाउन, निषेधाज्ञाका कारण सहज आपूर्ति नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको छ । बजार अनियन्त्रित हुँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्न थालेको छ । यसलाई सरकारले बेलैमा ध्यान दिएर भूमिका निर्वाह गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितले सुझाब दिएका छन् । कोरोना महामारीबाट जोगाउन भएको लकडाउनसँगै नागरिकको भोक टार्ने योजनासमेत आवश्यक रहेको उनले बताए ।

लकडाउन र निषेधाज्ञाका कारण नागरिक घरबाहिर निस्कन नपाएपछि जिल्लामा रहेका नागरिक उत्पादनशील क्षेत्रमा लाग्न पाएका छैनन्, जसले गर्दा व्यापार र उत्पादनमा गिरावट आएको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । उनले भने, ‘अब कोरोनासँगसँगै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर उद्योग–व्यवसाय सञ्चालन नगरे जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्था आउनेछ ।’ ठूलो जनशक्ति घरभित्रै बस्नुपर्ने बाध्यताले क्रयशक्ति र उत्पादन दुवैैमा गिरावट आएको उनले बताए । उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण नभए कर नउठ्ने, कर नउठे सरकारलाई अप्ठ्यारो हुने उनको धारणा छ ।