चन्द समूहको गतिविधि देखिन थाल्यो

  • त्रिशूली प्रवाह
  • १९ भाद्र २०७७, शुक्रबार ११:४१
Logo of trishuli prawaha

विदुर, नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीको चहलपहल फेरि नुवाकोटमा देखिन थालेको छ ।

विप्लव नेतृत्व सङ्गठन जिल्ला इन्चार्ज विन्तोष सिलवाल पक्राउ परेसँगै जिल्लामा विप्लवको गतिविधि शून्य भएको थियो । पछिल्लो समय सार्वजनिक सम्पत्ति, व्यक्तिको निजी सम्पत्तिमाथि आगजानी गर्ने, क्षति पु¥याउने कार्य बढ्न थालेको छ । विपल्व नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकै कारण नुवाकोटमा सुरक्षा चुनौती थपिएको बताइएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार जिल्लामा सुरक्षा चुनौतीको रूपमा विप्लव रहेको छ । नेत्रविक्रम चन्द समूहले नुवाकोटमा एक्स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ । समूहले जिल्लाको बेलकोटगढी नगरपालिका– १३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको एक्स्काभेटरमा आगजनी गरेको हो । म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरेको छ ।

समूहमा आएका अज्ञात व्यक्तिले एक्स्काभेटर गत हप्ता आगजनी गरेको पीडित तामाङले जानकारी दिए । उनका अनुसार आगजनीबाट एक्स्काभेटर अधिकांश रूपमा जलेर नष्ट भएको छ । त्यस स्थानमा समूहले कारबाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ । पत्रमा दुई वर्षअघि समूहले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रूपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझा–सीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ । त्यसैगरी समूहले विज्ञप्ति जारी गरी म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी माग्न र नमागे जनकारबाहीको चेतावनी दिइएको छ । विप्लव नेतृत्व माओवादी जिल्ला इन्चार्ज बिन्दुले विज्ञप्ति जारी गर्दै म्यागङ गाउँपालिका अध्यक्षलाई चेतावनी दिएको हो ।