नेकपा तारकेश्वर कमिटी सदस्यको सपथग्रहण

  • त्रिशूली प्रवाह
  • २६ भाद्र २०७७, शुक्रबार १४:४७
Logo of trishuli prawaha

तारकेश्वर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तारकेश्वर गाउँपालिका संगठन कमिटीले आफ्नो कमिटीका सदस्यलाई आईतबार सपथग्रहण गराई औपचारिक रूपमा कार्य क्षेत्रमा राजनीतिक काम गर्ने बाटो खुला गरेको छ । पालिका कमिटीका अध्यक्ष र सचिवको सपथ भने यसअघि नै सम्पन्न भईसकेको थियो । कमिटीका अध्यक्ष केशवप्रसाद घिमिरे, सचिव सोमबहादुर तामाङ, पालिका कमिटीका इञ्चार्ज राजेन्द्र न्यौपाने र सहइञ्चार्ज चुडामणी गजुरेल सम्मिलित बैठकले सपथको कार्यक्रम तय गरेको थियो ।

कोभिड–१९ को त्रासका कारण पालिका संगठन कमिटीको सपथग्रहण पहिलो चरणमा वडा नं.–१, ५ र ६ का सदस्यलाई भाद्र १९ गते वडा नं.–५ को मानेडाँडामा आयोजना भएको थियो भने दोस्रो कार्यक्रम वडा नं.–२, ३ र ४ का सदस्यका निम्ति भाद्र २१ गते वडा नं.–३ को शिवालयमा आयोजना गरिएको थियो । दुवै सपथग्रहण कार्यक्रमको अध्यक्षता कमिटीका अध्यक्ष केशव घिमिरेले र सञ्चालन सचिव सोमबहादुर तामाङले गर्नुभएको थियो । नेकपा जिल्ला कमिटीका अध्यक्ष हिरानाथ खतिवडाले दुवै कार्यक्रममा पार्टी झण्डा सामु सपथ गराउनुभएको थियो । कार्यक्रममा जिल्ला र प्रदेश कमिटीका विभिन्न नेताको उपस्थिती थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस र अन्य पार्टी परित्याग गरी तारकेश्वर वडा नं.–५ का जीतबहादुर तामाङ, फुर्वा लामा, रमेश रिमाल, शंकर रिमाल, भीमबहादुर ठकुरी, शर्मिला धिताललगायत १३ जनालाई अध्यक्ष खतिवडाले टिका, खादा लगाएर स्वागत गर्नुभएको थियो ।

आईतबारको कार्यक्रममा पार्टीको मार्गदर्शक सिद्धान्त, पार्टीको संगठन निर्माण, सञ्चालन र नवगठित कमिटीले तत्काल गर्नुपर्ने कामका विषयमा जिल्ला कमिटी सचिवालय सदस्य एवं जिल्ला कमिटी पार्टी स्कुल विभागका उपप्रमुख यम खतिवडाले सपथ लिनु अघि छोटो प्रशिक्षण दिनुभएको थियो । संघीय सांसद नारायणप्रसाद खतिवडाले सबै सदस्यलाई कम्युनिष्ट आचरण बनाई राख्न निर्देशन दिनुभएको थियो । उहाँले विकासका कार्यक्रममा लोभी अाँखा नलगाउन, नैतिक पतन हुने कुनै पनि क्रियाकलापमा सामेल नहुन र सधैं जनताको सुख दुःखको साथी भईरहन सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । वाग्मती प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले विकास तथा निर्माणको काममा सबै क्षेत्र र गाउँ वस्तीमा आफूले पक्षपातरहित काम गरेको र सधैं गरिरहने प्रतिवद्र्धता सो कार्यक्रममा ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य सुभद्रा नेपाल, बिन्दा ढुंगाना, खिलनाथ अधिकारी, जिल्ला कमिटी कार्यालय सदस्य बुद्धि प्रधान, जिल्ला कमिटी सचिवालय सदस्य हरि अधिकारी, समर आलेमगर, राजेन्द्र न्यौपाने, जिल्ला कमिटी सदस्य चुडामणी गजुरेल, रामहरि न्यौपाने, हरिप्रसाद रिमाललगायतले सपथग्रहण गरेका सदस्यलाई शुभकामना र बधाई दिनुभएको थियो ।