काँग्रेसमा युवा राजनीतिको योजनाबद्ध हत्या महाधिवेशनमा युवा पंक्ति खेतालाकै रुपमा क्रियाशील हुनुपर्ने

अहिलेसम्मको अवस्था हेर्दा काँग्रेसमा क्षमता भन्दा पनि योगदानको आधारमा नेता बन्ने चलन छ । योगदान भनेको कुनै परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, नयाँ विचार प्रतिपादन गरेको होइन । योगदान भनेको पार्टीको सदस्यता नत्यागी सधैं काँग्रेस भनेर बसेको, निर्वाचनमा काँग्रेसलाई मात्र मतदान गरेको, नेताले भनेको मान्ने, भनेको नमान्ने भए पनि निर्वाचनमा खुरुखुरु काँग्रेसलाई नै मत हालेको ब्यक्ति ।    

       काँग्रेसमा ६० वर्ष भन्दा मुनिका नेतालाई फुच्चेकै परिभाषामा राखिन्छ । अरु पार्टी छाडेर काँग्रेसमा प्रवेश गरेका गाउँ, नगर, जिल्ला र केन्द्रकै युवाले काँग्रेसको नेतृत्वमा पुग्छु भनेर सपना नदेखे पनि हुन्छ ।

     काँग्रेसमा युवा भनेको चुनाव प्रचारका खेताला मात्र हुने देखिन्छ । १४औं महाधिवेशनमा पनि काँग्रेसमा युवा पंक्ति खेतालाकै रुपमा क्रियाशील हुनुपर्ने बाध्यता देखिँदै गएको छ ।

कोरोना महामारीले थप चर्को रुप लिएन भने मात्र आगामी फागुन ७ गतेदेखि १० गतेसम्म नेपाली काँग्रेसको १४औं महाधिवेशन हुनेछ । त्यसअघि गाउँ, नगर, क्षेत्र, जिल्ला अधिवेशन गर्नुपर्ने छ । तर, कोरोनाको कारण ती अधिवेधन पनि नराम्रोसँग प्रभावित हुनेछ । अहिले पनि कतिपय तोकिएका कार्यक्रम प्रभावित बनिरहेको छ । संविधानुसार काँग्रेसले मात्र होइन सत्तारुढ नेकपा र मधेसवादी दलले पनि महाधिवेशन गर्नुपर्ने दबाव परिसकेको छ । पाँच वर्षमा महाधिवेशन नगरे दलको बैधानिकता समाप्त हुन्छ । त्यहीँ भएर दल महाधिवेशनको दबावमा छन् ।

विश्वभर कोरोना सक्रंमण तिव्र छ । सबै दल आफ्नो संविधान र कानूनअनुसार गर्नुपर्ने कामको दबावमा पनि छन् । नेपाल मात्र होइन अमेरिका पनि यो दबावमा छ । उसको निर्वाचन पनि आउनै लागेको छ । तर, कोरोनाको भ्याक्सिन बजारमा उपलब्ध भईसकेको छैन । कानुन सबैले मान्नुपर्ने बाध्यताको बीचमा महाधिवेशनका लागि सबै दलमा बहस शुरु भएको छ । सत्तारुढ नेकपामा त झण्डै यही मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पास नै भई सक्न लागेको थियो । तर त्यो प्रस्ताव पास हुन पाएन । तर, यही २०७७ सालभित्रमा महाधिवेशन गर्नुपर्ने दबाव छ ।

अन्य पार्टी भन्दा पनि अहिले महाधिवेशनको चटारो नेपाली काँग्रेसलाई छ । उसले फागुनमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ । त्यसका लागि काँग्रेसले देशभर कोरोनासँग सहकार्य र पौठेजोरी खेल्दै अधिवेशन पूर्वका कार्यक्रम गरिरहेको छ । उसले क्रियाशिल सदस्यता वितरणको कार्यलाई तिव्रता दिएको छ । तोकिएकै मितिमा सक्ने गरी अगाडी बढेको छ । कोरोनासँग पौंठेजोरी खेल्दा कतिपय नेतालाई कोरोनाले घरभित्रै नजरबन्द गरिदिएको छ । कतिपय नेताले कोरोनालाई परास्त गर्दै आफ्नो काम अगाडी बढाएका छन् । विश्वमै अहिले कोरोनासँग झगडा गर्दै अगाडी बढ्नुपर्ने सबैको बाध्यता छ । अब सधैं लुकेर बसेर कोरोना परास्त गर्न सक्ने अवस्था पनि देखिएको छैन । त्यहीँ भएर कोरोना र काम सँगसँगै अगाडी बढाउनुपर्ने बाध्यता छ ।

यहीँ बाध्यताको बीचमा नेपाली काँग्रेसमा नेतृत्वको लागि लफडा शुरु भएको छ । आगामी महाधिवेशनको अध्यक्ष बन्नेदेखि लिएर काँग्रेस केन्द्रीय कार्यसमितिमा कति प्रतिशत युवा पुग्ने भन्ने विषयमा काँग्रेसम तिव्र बहस छ । पार्टी सभापतिका लागि प्रतिस्पर्धामा उत्रिएका दुई नेता ७५ वर्ष माथिका छन् । त्यसपछि पदाधिकारीका लागि आएका नाममध्ये पनि अधिकांश ७० वर्ष माथिका छन् । केन्द्रिय कार्यसमितिका लागि आएका नाममा पनि ८० प्रतिशत त ६० वर्ष माथिका छन् । अहिलेसम्मको अवस्था हेर्दा काँग्रेसमा क्षमता भन्दा पनि योगदानको आधारमा नेता बन्ने चलन छ । योगदान भनेको कुनै परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, नयाँ विचार प्रतिपादन गरेको होइन । योगदान भनेको पार्टीको सदस्यता नत्यागी सधैं काँग्रेस भनेर बसेको, निर्वाचनमा काँग्रेसलाई मात्र मतदान गरेको, नेताले भनेको मान्ने, भनेको नमान्ने भए पनि निर्वाचनमा खुरुखुरु काँग्रेसलाई नै मत हालेको ब्यक्ति नै त्यागी मानिन्छ । त्यति लामो काम गर्दा मानिसको उमेर ६० वर्ष भन्दा माथि पुगिसकेको हुन्छ । अनि मात्र नेतृत्वका लागि काँग्रेसमा सामान्य अवसर आउँछ । त्यागीका परिभाषाभित्र परिन्छ ।

काँग्रेसमा त्यागीको लमेतन्दे परिभाषाको कारण युवा पुस्ता नेतृत्वमा आउने सम्भावना अत्यन्त न्युन बनेको छ । काँग्रेसमा विमलेन्द्र निधीले सभापतिको लागि प्रतिस्पर्धा गर्छु भन्दा पनि त्यो सम्भावना देखिंदैन । शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबै ७५ काटेका नेता मात्र सभापतिका लागि प्रतिस्पर्धामा छन् । त्यहीँ हाराहारीमा पुगेका छन्, कृष्ण सिटौला । सबै युवा भनिएका र ६० वर्ष उमेर पुगेका देउवा, पौडेल र सिटौला गुटमा छन् । गुटको अर्थ युवा उनीहरुलाई नेता मानेर अगाडी बढ्ने हो । यहाँ युवाले ती तीन नेतालाई आफू भन्दा तल राखेर जाने अवस्था छैन । गगन थापा, विश्व प्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेल, धनराज गुरुङ, बालकृष्ण खाँड, रमेश लेखक, उमाकान्त चौधरीलगायत कोही पनि देउवा, पौडेल र सिटौलालाई पछाडी पारेर अगाडी बढ्ने अवस्था छैन । सबै उनीहरुकै दौराको फेर समातेर नेतृत्वमा पुग्ने अवस्था देखिंदै गएको छ । निधीलाई समर्थन गर्नेको संख्या पनि त्यति छैन र निधी आफैं पनि अर्को अर्थात् १५औं महाधिवेशनको लागि उच्च बार्गेनिङमा रहेको देखिन्छ ।

अहिलेसम्मको अवस्था हेर्दा काँग्रेसमा ६० वर्ष भन्दा मुनिका नेतालाई फुच्चेकै परिभाषामा राखिन्छ । अरु पार्टी छाडेर काँग्रेसमा प्रवेश गरेका गाउँ, नगर, जिल्ला र केन्द्रकै युवाले काँग्रेसको नेतृत्वमा पुग्छु भनेर सपना नदेखे पनि हुन्छ । त्यसको उदाहरण नुवाकोटमै देखिन्छ । नुवाकोटमा एमालेबाट गाविस अध्यक्ष जितेर काँग्रेसमा पनि दुईपटक गाविस तथा गाउँपालिकामा निर्वाचन जितिसकेका ध्रुव श्रेष्ठहरु काँग्रेसको जिल्ला सभापति हुने अझै पनि लक्षण देखिंदैन । अरुको हालत पनि त्यो भन्दा तल्लो छ । काँग्रेसमा लागेर त्यहीँका पूराना र बुढा त्यसमा पनि ६० वर्ष माथिकालाई सेवा गर्नु बाहेक केही देखिन्न ।अहिलेसम्मको अवस्था हेर्दा काँग्रेसमा ६० वर्ष मुनिका युवाले केन्द्रिय सदस्य बन्नकै लागि पनि आफ्नो ७०÷७५ वर्ष उमेर पार गरेका नेताको दौराको फेर समात्नुको कुनै विकल्प देखिन्न । जब पुरातनवादी नेतृत्वमा रहिन्छन् तबसम्म काँग्रेसले आफूलाई अब्बल पार्टी बनाउने देखिन्न । अब्बल पार्टी बन्नको लागि काँग्रेसमा वडादेखि पालिका र जिल्ला तथा क्षेत्रमा ६० प्रतिशत युवा हुनैपर्छ । तर, काँग्रेसमा युवा भनेको चुनाव प्रचारका खेताला मात्र हुने देखिन्छ ।

१४औं महाधिवेशनमा पनि काँग्रेसमा युवा पंक्ति खेतालाकै रुपमा क्रियाशील हुनुपर्ने बाध्यता देखिँदै गएको छ । काँग्रेसमा केन्द्रमा जबसम्म ६५ वर्ष मुनिका नेता सभापति बन्दैनन् तबसम्म काँग्रेसमा युवाको सम्मान होइन, खेताला मात्र हुनुपर्ने बाध्यता छ । काँग्रेसको संरचना त्यसै गरी बनेको छ । काँग्रेसको पुर्नसंरचना गर्नको लागि तलबाट होइन माथिबाट युवामा नेतृत्व आउनुपर्ने देखिन्छ । त्यो क्षमता कसैले पनि राखेको देखिन्न । गगन थापाहरुलाई हो मा हो मिसाएर ताली बजाए पनि उनलाई सभापति बनाउने हैसियत युवाले बनाएका छैनन् । किनकी प्रतिनिधी नै बुढाहरु जान्छन् । युवा प्रतिनिधी गए पनि भविष्यको लागि भनेर उनीहरु बुढाहरुकै पछि लाग्छन् । तसर्थ काँग्रेसमा युवा नेतृत्व चयन भन्ने कुरा गफ मात्र र युवा भनेका नेताका भ¥याङ मात्र हुने देखिन्छ । काँग्रेसमा युवा विचार र युवा राजनीतिको नेताले योजनाबद्ध रुपमा हत्या गरेका छन् । अर्थात् उनीहरुले युवालाई यो वा त्यो गुटको नाममा आफ्नो पछि लगाएका छन् । काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा युवा विचारलाई माथि अर्थात् नेतृत्वमा आउन नदिएर सबै गुटाका नेता मिलेर युवा विचार र पंक्तिको राजनीतिक हत्या गरिदिएका छन् । यदि काँग्रेसमा युवाले यो वा त्यो गुट भनेर पछि नलागी एक भएमा मात्र युवाले जित्छ । नत्र काँग्रेसमा युवा विचारको हत्या मात्र हुन्छ ।