१७औं निजामति दिवस प्रशासनमा श्रेष्ठ उत्कृष्ट कर्मचारी/ब्याडमिन्टनमा प्रशासनको जित

विदुर, नुवाकोट जिल्लामा १७औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाईएको छ । निजामति दिवसको अवसरमा सोमबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई पुष्पगुच्छासहित प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सम्मान गर्नुभएको थियो ।

दिवसको अवसरमा उत्कृष्ट कार्य गर्नेलाई कार्यालयमा सम्मान गरिएको छ । इमान्दार, कर्तब्यनिष्ठ, लगनशील तथा उत्तरदायी भई निःस्वार्थभावले अनवरत रूपमा सेवा प्रवाह गरी सेवाग्राहीलाई पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हल्का सवारी चालक अर्जुनकुमार श्रेष्ठलाई यस वर्षको उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको छ । त्यसैगरी कम्प्युटर अपरेटर रमेशजंग पाण्डे र कार्यालय सहयोगी कालु लामालाई कदरपत्र प्रदान गरिएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी ढकालले सम्मान गर्नुभएको थियो । दिवसको अवसरमा प्रशासनले ईलोक्ट्रोनिक सूचना पार्टी समेत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । दिवसको अवसरमा मालपोत प्राङ्गणमा भएको ब्याडमिन्टन प्रतियोगिता नुवाकोट अदालत, मालपोत र जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहभागी थिए ।

उक्त खेलको फाईनल खेलमा जिल्ला प्रशासन र मालपोत पुगेका थिए । उक्त खेलमा २१–१७, २१–१५ को सोझो सेटमा जिल्ला प्रशासन कार्यालय विजयी भयो । विजयी टिमलाई मालपोत कार्यालयका मालपोत अधिकृत पूर्णबहादुर खड्काले पुरस्कार प्रदान गरेका थिए । उक्त खेल हालै जारी कोभिड–१९ को संक्रमणमा सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पनि खेल्नको लागि मालपोत अधिकृत खड्काले प्रोत्साहित गर्नुपर्ने बताए ।