निजी क्षेत्र विकासमा संघको नेतृत्वदायी भूमिका

विदुर, नुवाकोट उद्योग वाणिज्य संघले कोरोनाको संक्रमणबाट थिलथिलिएका ब्यवसायीको लागि राहतमुलक कार्र्यक्रम ल्याएको छ । संघले कोरोना माहामारीमा समेत ब्यवसायीको लागि उद्योग ब्यवसायको दर्ता नविकरण, कर भुक्तानी तथा करचुक्ता प्रमाणपत्र लिन सहयोग गरिरहेको छ । संघले ऋण लिनका लागि आवश्यक ब्यवसायिक योजना निर्माण, बैंक बित्तिय संस्थासँग समन्वय र ब्यवसायको लेखा ब्यवस्थापनका लागि परामर्श दिंदै आईरहेको छ । संघले जिल्लाको निजी क्षेत्र विकासमा नेतृत्व गरिरहेको छ ।

ब्यवसायीको लागि प्रस्तावना लेखन, प्राविधिक तथा आर्थिक सहयोग गर्ने निकायसँगको समन्वय समेत संघले गरिरहेको अध्यक्ष ताराबहादुर कार्कीले बताए । संघले कोरानाबाट बच्नको लागि कोल्पुटारमा यातायातको साधनलाई स्यानीटाईज गर्न ब्यवस्थापन मिलाउनुका साथै मास्क, स्यानीटाईजर, हात धुने साबु्न तथा हात धुने ब्यवस्थापन निर्माणका लागि विभिन्न स्थानमा धारासहितको पानी ट्यांकी ब्यवस्थापन समेत गरिरहेको छ । संघले चैत्र यता ब्यवसायीको लागि १५ हजार बढी मास्क, त्यतिकै संख्यामा स्यानीटाईजर तथा हातधुने साबुन तथा लिकुईडसमेत वितरण गरिसकेको छ । ब्यवसायीको ब्यवस्थापनमा सार्वजनिक रुपमा हातधुने ब्यवस्थापनका लागि ३९ वटा पानी ट्यांकीमा धारा जडान गरी जिल्लाका विभिन्न पालिकामा रहेका ब्यवसायीको लागि वितरण गरेको संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

कोरोना प्रभावका कारण ब्यवसायीको लागि परेको प्रभावका कारण ब्यवसायीको मानसिक स्वास्थ्यलाई समेत ख्याल गदै ब्यवसायिक परामर्श तथा मनोसामाजिक परामर्श सेवा समेत संघले दिईरहेको छ । तिन चरणमा प्रदान गरिएको परामर्श सेवा मागमा आधारित रहेर अनलाईन तथा प्रत्यक्षरुपमा प्रदान गरिएको थियो । जिल्लामा खाद्यान्न तथा निर्माण सामाग्रीको आपुर्ती श्रृंखला सवलीकरणमा सहजिकरणलाई निरन्तरता दिईएको संघले जिल्लामा आन्तरिक तथा बाह्य रुपमा आउने जाने यातायातका साधनको ढुवानी सहजिकरणका लागि समेत निरन्तर रुपमा काम गरिरहेको छ । खाद्यान्न तथा निर्माण सामाग्रीको जिल्लाका स्थानीयतह तथा सदरमुकाममा संकट ब्यवस्थापनका लागि सहजिकरण गदै दैनिक मौज्दात विवरण संकलन गर्दै जिल्लाका सवै सरोकारवाला निकायमा समेत जानकारी गराउने काम गरेको छ । यसले जिल्लामा हालसम्म पनि खाद्य संकट ब्यवस्थापनमा सहयोग पुगेको छ ।

जिल्लामा पटक–पटक भएको लकडाउनको समस्यामा परेका पोल्ट्री ब्यवसायीको समस्या समाधानको लागि संघको पहलमा हाल निर्वाधरुपमा ब्यवसायीले कुखुरा, दाना तथा चल्लाको आपुर्ती तथा निर्यातमा सहज भएको पोल्ट्री ब्यवसायी रामकृष्ण प्याकुरेल बताउँछन् । महिला, दलित तथा पिछाडिएको क्षेत्रका उद्यमी ब्यवसायीको ब्यवसाय दर्तामा भएको शुल्क बृद्धिको कारण परेको असरको समाधानका लागि संघले सम्बन्धित सरोकारवाला तथा ब्यवसायीसँग छलफल गरी बढेको शुल्क घटाउनलाई समेत पहल गरिरहेको छ । ब्यवसायीको ब्यवसाय नविकरणमा लाग्ने जरिवाना रकममा समेत बृद्धि भएको कारण ग्रामिण ब्यवसायी तथा यस्तो लकडाउनको समयमा सदरमुकाम क्षेत्रका ब्यवसायीलाई परेको समस्यालाई सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

ब्यवसाय तथा कामको शिलशिलामा जिल्ला बाहिर गएका जिल्लाका नागरिक जसले रोजगारी गुमाएर जिल्ला फर्किएका ब्यक्तिको विवरण संघले संकलन गरी रोजगारदाता कम्पनी, ब्यवसायिक फर्म तथा स्थानीयतहमा सहजिकरणका लागि पठाएको छ । स्थानीयतहमा सञ्चालित रोजगार सेवा केन्द्रसँग समन्वय गरी नेपाल सरकारले तोकेबमोजिम न्युनतम रोजगारी उपलब्ध गराउनका लागि संघले संकलन गरेको तथ्याङ्कले टेवा पुगेको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए । जिल्लामा सञ्चालनमा रहेका सबै किसिमका ब्यवसायको तथ्याङ्क संकलन गरी स्थानीयतहलाई सहयोग गर्ने तथा स्थानीयतहद्वारा निजी क्षेत्रको विकासमा नीति नियम निर्माणमा सहजिकरण गर्ने कार्य शुरुवात भईरहेको छ । संघले अहिलेसम्म जिल्लाका ३ स्थानीयतहको तथ्याङ्क संकलन तथा पाश्र्वचित्र निर्माणको काम सकेको छ । चार स्थानीयतहको पनि आगामी एक महिनाभित्र सक्ने गरी काम भईरहेका संघका कार्यक्रम संयोजक घनेन्द्रप्रसाद रिजालले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो ।

संघले आफ्ना गतिविधीमा सहजता बनाउनका लागि विभिन्न दातृनिकाय, पुर्णिमा कार्यक्रम, स्थानीय प्रशासन तथा तह, सरोकारवाला निकायसँगको साझेदारीमा कामलाई निरन्तरता दिईरहेको छ । संघका मुख्य गतिविधीमा मुख्य गरेर पुर्णिमा कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गरेको महासचिव कृष्णप्रसाद अधिकारीले बताउनु भयो । जिल्लाको निजी क्षेत्र विकासमा नुवाकोट उद्योग वाणिज्य संघले नेतृत्व गरिरहेको दावी अध्यक्ष कार्कीले गर्नुभएको छ । संघको छाताभित्र जिल्लाको ८ हजार भन्दा बढी ब्यवसायी आवद्ध रहेका छन् । संघले गत पौषमा ३ वर्षे रणनैतिक योजना निर्माण गरी संघका आन्तरिक गतिविधीलाई ब्यवस्थित गर्न, सबै ब्यवसायीको हितमा काम गर्ने तथा सरोकारवाला निकायसँगको समन्वयमा बृद्धि गर्ने योजना निर्माण गरेर अघि बढिरहेको छ । संघले सदस्यता हितका लागि दैविप्रकोप राहत कोष स्थापना गरेर प्रकोपमा परेका ब्यवसायीको पुर्नउत्थानमा सहयोग गर्न कोष स्थापना गरेको छ । लकडाउनका कारण निरन्तर ब्यवसाय बन्द पर्दा परेको असरलाई मध्यनजर गदै अब जस्तोसुकै परिस्थितीमा पनि ब्यवसायमा स्थानीय प्रशासनले तोकेका सुरक्षा मापदण्डको पालना गदै बन्द नगर्ने वातावरण तयार पार्नका लागि संघले प्रयास गरिरहेको छ । संघले यसरी गरिरहेका गतिविधिको निरन्तरता भएको कारण स्वच्छ र सुरक्षित ब्यवसाय सञ्चालन र ब्यवसायमैत्री वातावरण निर्माण हुने कुरामा दुईमत नभएको संघका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा बताउँछन् ।