किप्पायाङजेनको जन्मभूमि रसुवा कर्मभूमि युरोप

– फुर्पा तामाङ

परिचय : 
किप्पायाङजेन तामाङ उमेर ५२ वर्ष । जन्मेको स्थान, रसुवा जिल्लाको साविक स्याफ्रु गा.वि.स. वडा नं.–५, ठूलोभार्खु, हालको परिवर्तित गोसाइँकुण्ड गाउँपालिका वडा नं.–५ । बुबा कैसाङ तामाङ र आमा न्हीमाल्हामु तमाङको कान्छी छोरी । उनी भन्दा मुनिका बहिनीको मृत्यू भएकोले उनी कान्छी भएकी हुन् । उनकी एक दिदी पासाङ बुटी तमाङ र तीन भाई ल्हाक्पा, फुर्पा र कर्म ढिन्डुप छन् । हाल युरोपको जर्मन देशको जोस्ट शहरमा बस्छिन् । पेशा नर्सिङ सेवा । उनी सन् १९९१ को जुलाई १६ तारिखमा जर्मन गईन् र उतै विवाह गरी बसेका छिन् । उनका एक छोरी र एक छोरा छन् । आफ्नो परिवार, गाउँघर र देश सम्झेर पटक–पटक आई रहन्छिन् । भन्छिन्, ‘हवाई जहाजमा उडेदेखि नै आफन्त, गाउँघर र देशको माया झन् गाढा लाग्छ । के गर्नु ? कर्मले स्वदेशमा बस्न दिएन । जानै प¥यो । तर, सयौं, हजारौं डाँडा, खोला र देशहरु काटेर गएपनि र सुविधा सम्पन्न देशमा बस्दा पनि मनको अन्तर कुनामा आफ्नो मातृभूमिलाई भुल्न नसकिँदो रहेछ । गाउँदेखि शहर र शहरबाट युरोप पुग्दा मलाई जिवनमा सबै भन्दा ठूलो हतियार शिक्षा नै महशुस भयो । म ऊबेला त्यति पढेको हुनाले यहाँसम्म आईपुगेको हुँ । नत्र गाउँकै कुनै केटोसँग घरजम गरेर गाउँमै हुन्थे होला ।’

. बाल्यकाल :
किप्पायाङ जेनको जन्म सामान्य परिवारमा भएको हो । बाल्यकाल त्यति सजिलो थिएन । ऊ बेला चामलको भात खान मन लाग्ने तर पाउन मुश्किल । जाडोमा बाक्लो लुगा पुग्दो हुँदैनथ्यो । गाउँकै स्कुलमा ४ कक्षामा पढ्दाखेरी लाङटाङ घुम्न आएका मिस्टि हेली र जेफ् नाम गरेको एक अमेरिकी दम्पतीले जाडो महिनामा नाङ्गो खुट्टा र पातलो लुगा लगाएर गाग्रीमा धाराबाट पानी ओसारिरहेको देखेपछि तातो पछ्यौरी ओढाई दिएको र मन पराएर छोरी बनाई अमेरिका लैजाने कोसिस पनि गरेका थिए । नाबालिकाको पासपोर्ट नबन्ने भएपछि लैजान पाएनन् । हुलाकमार्फत थुप्रै लुगा पठाई दिएको उनी सम्झिन्छिन् । छोरी मान्छे भएकोले घरमा आमालाई सघाउनु पथ्र्यो । घर, गोठ, खेतबारीको काम, जंगलमा गएर दाउरा ल्याउने र अर्मपर्म गर्नुपथ्र्यो । उनलाई सबै गर्न आउँछ । ऊनीको टोपी, मोजा, गलबन्दी, पटुका आदि बुन्न सानैमा आमा र दिदीबाट सिकेकी हुन् । उनी स्कुलमा एक्ली छात्रा थिइन् । उनलाई पढ्न पठाएकोमा सारा गाउँले उनको बुबाको विरोध गर्थे । अर्काको घरमाजाने छोरीलाई पढाएर तिमीले ठिक गरेनौ भनेर झगडा गर्थे । उनकाबाबु भने सबैका छोरीलाई स्कुल पठाउनुपर्छ भन्दै हिँड्थे । स्कुल जाने र आउने बेला गाउँलेले छोरी मान्छे पनि पढ्छन् र ! भनेर जिस्काउँथे, उनी सम्झिन्छिन् ।

२. शिक्षाको महत्व : 
गाउँको भिमसेन प्राथमिक विद्यालयमा ५ कक्षासम्म पढेपछि स्याफ्रुवेशी वा धुन्चे मध्ये एक रोज्नुपथ्र्यो । पाँच कक्षा उत्तिर्णपछि बुबाआमाले उनी र भाई ल्हाक्पा तामाङलाई स्याफ्रुवेशी पढ्न राख्नुभयो । ६ र ७ कक्षा स्याफ्रुवेशीको श्यामे वाङफेल निम्न माध्यमिकमा पूरा गरे । त्यहाँ पनि छात्रको बीचमा उनी एक्ली छात्रा थिइन् । ७ उत्तिर्णपछि रसुवा माध्यमिक विद्यालय धुन्चेमा ८ मा पढ्न शुरु भयो । धुन्चेमा भने कक्षामा एकजना छात्रा साथी मिल्यो । उनी सानो भार्खुकी छोपेमा तामाङ थिइन् । बल्ल छात्रा साथीसँग भेट भयो । उनी खुशी भईन् । कक्षा ८ पूरा गरेपछि उनलाई गाउँमै शिक्षक भएर पढाउन प्रस्ताव आयो । किनभने स्कुल जाने बालिकाको संख्या बढिरहेको थिएन । उनले विद्यालय ब्यवस्थापन र जिल्ला शिक्षा कार्यालयको प्रस्ताव स्वीकार गरिन् । यता समय मिलाएर विद्यालय पनि कहिले काहीं जाने र परिक्षा दिँदै गइन् । एस.एल.सी. उत्तिर्ण गरिन् । जब गाउँमा शिक्षिका भएर आईन् तब गाउँलेले शिक्षाको महत्व बुझ्न थाले । गाउँका बाबुआमाले छोरीलाई स्कुल पठाउन थाले । गाउँको स्कुलमा पढाउँदै गर्दाको कुरा हो । २०४२ साल पुस १४ गते तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्यको रसुवा सवारी हुने भएछ । राजारानीलाई स्वागतको लागि नृत्य सिकाउनुपर्ने भयो । उनलाई धुन्चेस्थित बालमन्दिर विद्यालयमा काजमा झिकाइयो । सानानानीलाई नाच सिकाउने र रानीको स्वागत गर्ने जिम्मा आईप¥यो । बेत्रावतीका संगीतकार÷गीतकार तुलसीनारायण डंगोलको गीत संगीतमा नानीलाई नृत्य र स्वागत गीत दुवै मिलाएर सिकाए । उनी आफू पनि विद्यालयको कार्यक्रममा नाच्दै आएकीले त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिन् । जिल्लाकै तमाङ समुदायबाट तेस्रो महिला शिक्षिकाको रुपमा सेवारत छु भन्दा रानी खुसी भएर हात मिलाई धन्यवाद दिएको क्षण उनले अझै बिर्सेकी छैनन् । उनी भन्दा अघि ठूलोभार्खुकी पासाङ याङजेन तमाङ (प्रथम महिला शिक्षिका) र सानो भार्खुकी सेती तमाङ (दोस्रो महिला शिक्षिका) भिमसेन प्राथमिक विद्यालयमा शिक्षिका भएका थिए ।

३. जन्मभूमि नेपाल कर्मभूमि युरोपः
रसुवा जिल्लाकै तामाङ महिलामा सम्भवतः उनी एसएलसी उत्तिर्ण गर्ने पहिलो महिला हुन् । तामाङ जातिमा चेला र फूपुचेलीबीच विवाह गर्न हुन्छ । सानैदेखि स्कुलमा पढ्ने भएकोले मामा र फुपूका स्कुल नगएका छोराले उनलाई जिस्काउन, ठट्टा खेल्न र विवाहको प्रस्ताव ल्याउनै सकेनन् । उमेरसँगै वैंश पनि चढ्दै जाँदा गाउँको जोरीपारीले नआँटेपछि उनको विवाह पर्यटक पथप्रदर्शक काम गर्ने एकजना शेर्पासँग प्रेम विवाह भयो । तर, त्यो विवाहले सफलता पाउन सकेन । कारण बेग्लै साँस्कृतिक र जातीय मान्यता । गाउँले समुदायले शेर्पा (पूर्वेली) सँग विवाह ग¥यो भन्ने र शेर्पा समुदायले तमाङनीसँग विवाह भएको भनि दुवैतर्फबाट विवाहलाई सुमधुर सामाजिक र वैवाहिक सम्बन्ध जोड्नै दिएन । अन्ततः करिव ३ वर्षको अवधिमै उनीबीचको वैवाहिक सम्बन्ध बिच्छेद हुन गयो । सम्बन्ध बिच्छेदपछि गाउँमा केही समय बसिन् । काठमाडौंमा आएर पर्यटन ब्यवसायमा काम गर्न थालिन् । सोही बेला जर्मन नागरिकसँग चिनजान भई उनै जर्मन नागरिकसँग विवाह भयो ।

७. स्वदेशको माया :
यतिखेर किप्पायाङजेनको दैनिकी हेर्दा वसन्त ऋतुमा उड्ने चराझैं लाग्छ । विहान सबेरै उठ्छिन् । कार्यालय जानतयार गर्छिन् । ह्युन्दाइको स्पोट्र्स कार चलाएर हुईं किन्छिन् । साँझ कार्यालयबाट फर्केपछि स्पोर्ट क्लवमा जान्छिन् । शारीरिक ब्यायाम गर्छिन् । उमेरले आधा शताब्दी कटेपनि उनी छरितो र फूर्तिलो छिन् । उफ्रिने, कुद्ने र योगाभ्यास गर्न उनी रुचाउँछिन् । साताको छुट्टिमा उनी जर्मनलाई नेपाली खानेकुराका परिकार पकाउन सिकाउँछिन् । नेपाली दालभात, तरकारी, सेकुवा, सुकुटी, मःम, थुक्पा, ढिँडो, अचारहरु पकाउने कक्षा लिन्छिन् । जर्मन नागरिकले नेपाली खानेकुरा मन पराएकोमा उनी खुसी छिन् ।
उनको काम यतिमै सिमित छैन । उनी बेलाबेलामा आफू जोस्ट शहर र नजिकैको अर्को शहर हाममा टेलिभिजन कार्यक्रममा नेपाली नृत्य प्रस्तुत गर्छिन् । उसो त उनी स्र्पोट्सको लाइसेन्स प्राप्त प्रशिक्षक पनि हुन् । उनले यो लाइसेन्स सन् २००७ मा लिएर पार्टटाइम प्रशिक्षण पनि दिएकी हुन् । नर्सिङ सेवामा स्थायी जागिरे भएपछि भने उनले स्पोर्ट्स प्रशिक्षण छोडेकी हुन् । आफू जहाँ गएपनि विदेशमा नेपाललाई चिनाउने केही काम गर्नैपर्ने रहेछ । नेपाली भान्सामा पाक्ने खानेकुरा सिकाउन पाउँदा निकै खुसी हुन्छु, उनी बताउँछिन् ।

२०७७।०५।१९
ठूलो भार्खु, रसुवा ।

phurpatamang10@gmail.com