नगरबासीलाई स्थानीय सरकारको अनुभुति गराईरहेका छौं

सञ्जु पण्डित
नगर प्रमुख
विदुर नगरपालिका, नुवाकोट

सञ्जु पण्डित अहिले विदुर नगरपालिका नुवाकोटको नगर प्रमुख हुनुहुन्छ । विकासप्रेमी राजनीतिज्ञको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पण्डित कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र सचेतनाको लागि दिनरात खटिरहेका छन् । अब सधैंभरी लकडाउन र निषेधाज्ञा गरेर मात्र समाधान नहुने उहाँ बताउनु हुन्छ । भौतिक दूरी र सुरक्षा उपाय अवलम्बन गरेर अगाडी बढ्नुको विकल्प नभएको बताउनु हुने नगरप्रमुख पण्डित कोरोनाको संक्रमण रोक्नको लागि नगरबासीको पूर्ण साथ र सहयोग पाएको बताउँछन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा प्रतिवद्र्धताको साथ आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढिरहेका पण्डित विगतमा नेकपा एमालेको विभिन्न कमिटीमा रही कार्यानुभव संगालेका छन् । पण्डित अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको जिल्ला कमिटी सदस्य रहेका छन् । स्थानीयको नजरमा विकासप्रेमी र सामाजिक ब्यक्तित्वको उच्च सम्मानको आसनमा बस्न सफल नगरप्रमुख पण्डितसँग त्रिशूली प्रवाह साप्ताहिकले गरेको कुराकानीको संक्षिप्त अंश :

नगरपालिकामा सम्पन्न तिन वर्षको समय अवधिभित्र के कस्तो विकास निर्माणका कार्य सम्पन्न भए ?
गणतन्त्र स्थापनापछिको पहिलो स्थानीयतहको चुनाव सम्पन्न भएपछि म निर्वाचित भएर यस नगरपालिकामा पदभार ग्रहण गर्दा कर्मचारीको पुर्णरुपमा अभाव र आवश्यक पर्ने कानून, नीति, नियम, निर्देशिका कुनै पनि निर्माण नभईसकेको र नगरपालिकाभित्र गठन गर्नुपर्ने सम्पुर्ण समितिलगायतका आर्थिक, भौतिक एवं प्रशासनिक संरचनाको निर्माण नभईसकेको अवस्थामा प्रथमतः ती सबै कार्य गर्नको लागि एउटा निश्चित समय लाग्यो । तथापी यसका बाबजुद हामीले पुर्वाधार विकास गर्नको लागि नगरपालिकालाई दुई भागमा वर्गीकरण ग¥यौँ, अलि विकसित क्षेत्रहरु साविकका नगरपालिका र भौगोलिक जटिलता एवं विकासको दृष्टि पिछडिएका साविकका गा.वि.स.लाई समानुपातिक दृष्टिले बजेट विनियोजन गरी सडक, खानेपानी, सिंचाईलगायतका पूर्वाधारहरु प्राथिमिकीकरण ग¥यौँ । टोल हुँदै वडाबाट प्रस्तावित योजनाकै आधारमा बजेट विनियोजन गरी विकास निर्माणका कार्यक्रम अगाडी बढाई हालसम्म पनि सम्पन्न नभएका योजनालाई क्रमिक रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य गरिरहेका छौँ ।

नगरपालिकाको बित्तिय अवस्था कस्तो रहेको छ ?
पुरानो नगरपालिका भएर पनि नगरपालिकाभित्र बित्तिय सुशासन कायम गर्न, २०५६ सालमै निर्धारण भएका करका दरहरु पुरानो संरचनामै सञ्चालित जनशक्तिबाट अक्षरस पालना गराउन शुरुका दिनमा केही कठिन भएको र स्थानीय सरकार ऐन २०७४ ले प्रत्याभुती गरेका करका दायरा भन्दा फरक नगराई नगरको आम्दानीको श्रोत बृद्धि गर्ने कार्यमा हाल कम्प्युटर प्रणालीबाट सफ्टवेयर जडान गरी राजश्व संकलनको कार्य अगाडी बढाएका छौँ । तर पनि जनताको मागअनुसारको बजेट विनियोजन गर्न आवश्यक पर्ने पर्याप्त आम्दानीका श्रोत अपुग भईरहेको छ ।

नगरपालिकामा सुशासनको अवस्था सन्तोषजनक छैन भनिन्छ नि ?
जनसेवालाई चुस्त र दुरुस्त बनाउन वडा कार्यालयदेखि नगरपालिकाका सम्पुर्ण शाखामा आधुनिक सूचना प्रविधीका उपकरणमार्फत तत्काल सेवाप्रदान गर्नको लागि कर्मचारी मितब्ययी, जवाफदेही र अनुशासित ढंगले सेवामा समर्पित रहीरहनु भएको छ । कार्य सम्पादनको हिसाबले बजेट तथा कार्यक्रम अधिकतम सम्पन्न गर्ने नेपालका औँलामा गन्न मिल्ने नगरपालिकाभित्र विदुर नगरपालिका पनि एक पर्दछ । त्यसकै आधारमा तपाईले सुशासनको मुल्यांकन गर्न सक्नु हुन्छ । बाहिर कसले के भन्छ भन्दा पनि हामीले के गरिरहेका छौं मूल्याङ्कन गर्न नगरबासीलाई आग्रह गर्दछु । हामीले बुझ्ने सुशासनमध्ये सेवाग्राहीलाई तत्कालै सेवा प्रदान गर्नु भएकोले त्यसमा हाम्रो स्रोत र साधनको अत्याधिक प्रयोग गरेर सक्दो प्रयास गरेका छौं । भ्रष्टाचारमा शुन्य सहनशिलताको कुराहरू उठाउँदै घुष लिने मात्र नभएर दिने पनि अपराधी हुने कुरा नगरबासीमा सचेतना फैलाउँदै आएका छौं । सुशासनमा खलल पुग्ने खालका गुनासो अहिलेसम्म आएको छैन ।

नगरपालिकामा नीति, नियमको अवस्था कस्तो छ ?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्याभुत गरेका अधिकारको प्रयोग गरी स्थानीय सरकारको कर्तब्य र दायित्वलाई आत्मसाथ गर्दै विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधी, मापदण्डलगायतका अत्यावश्यक नीति तथा नियम विषयगत समितिमा छलफल गरी विधयेक समितिमार्फत नियमितरुपमा निर्माण गर्दै कार्यपालिका एवं नगर सभाबाट समेत पारित गरी लागू भईरहेको छ । हामीले आजसम्म उक्त नीति नियमको मातहतमा रहेर मात्र कार्य सम्पादन गरिरहेका छौँ । नीति, नियम आवश्यकताअनुसार निर्माण गर्ने कुरा भएकोले सोहीअनुसार निर्माण गरिरहेका छौं ।

तपाईको कल्पनामा सजिएको विदुर नगरपालिका कस्तो छ ?
सम्पुर्ण वस्तीमा कालोपत्रे गरिएका बाटाघाटा, खानेपानीको पहुँच र कृषियोग्य जमिनमा सिंचाई, साना तथा मझौलास्तरका उद्योगको स्थापना गरी रोजगारको श्रृजना, सक्षम, सबल र गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय, न्युनतम आवश्यकताका आधारभुत स्वास्थ्य सेवाप्रदान गर्ने स्वास्थ्य संस्था, प्रविधीयुक्त ब्यवसायिक कृषि प्रणाली, स्वच्छ सफा हराभरा सुन्दर नगर, साँस्कृतिक एवं ऐतिहासिक धरोहरसहितको रमणीय पर्यटकीय उद्यान एवं ब्यायम स्थल, रंगशाला, कभर्डहललगायतका खेलकुदका पूर्वाधार एवं गतिविधी, सुपथ र सुलभ बजारिकरणलगायतका संरचनाको आवश्यकताअनुसार स्थापना एवं उचित ब्यवस्थापनले नै एउटा नगरपालिका सबल र सक्षम एवं महशुस गर्न लायक हुन्छ भन्ने कल्पना गरेको छु । नगरपालिकामा भएका सबै सम्वादमा स्रोतलाई खोजी गरेर कार्यान्वयनमा ल्याउन प्रमुख लक्ष्य रहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ ?
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट विदुर नगरपालिका पनि अछुतो रहन सकेन । सिमित श्रोत र साधनका बाबजुद पनि सम्पुर्ण पदाधिकारी र आवश्यक कर्मचारी एवं सचेत नगरबासीको अथक प्रयास र परिश्रमबाट कोरोनालाई नगरभित्र महामारीको रुप लिनबाट बचाउन हामी हालसम्म सफल भईरहेका छौँ । जिल्लाकै सदरमुकाम एवं रसुवा जाने मुख्य सडक भएकोले अन्य स्थानमा जस्तो पुर्ण निषेधाज्ञा गर्न असहज भए तापनि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीको उचित परिचालन र ब्यवस्थापनका कारण सजगता अपनाई फिल्डमा अहोरात्र खटिई प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत सम्पुर्ण निर्वाचित पदाधिकारीको समन्वयमा समानजस्यतामा संक्रमण रोकथाम गर्नको लागि सफल भईरहेका छौं । न्युनतम आवश्यकता पूरा हुने स्तरीय र ब्यवस्थित क्वारेन्टाईन, थप सुविधासहितका होटल क्वारेन्टाइनको स्थापना र ब्यवस्थापनले नै शंकास्पद ब्यक्तिको नगर प्रवेश पश्चात् निगरानीमा राखिएकोले संक्रमणलाई भयावह रुप हुन बाट रोकथाम गर्न सकिएको छ । क्वारेन्टाइनमा रहनेहरुको खानपान एवं ब्यवस्थापनमा कुनै पनि कमि नहोस् भनि उचित खानेपानी, शौचालय, स्वास्थ्य जाँच, सञ्चार सुविधालगायतका विषयमा विशेष ध्यान दिईएको छ । एम्बुलेन्स सेवा चुस्तदुरुस्त बनाउन फोकल पर्सन तोकी चालकलाई क्वारेन्टाइनमै बसी आफु जाने र आउने समय र स्थानको अभिलेख राखी सेवा प्रदान गर्ने ब्यवस्था मिलाईएको छ । यसका अतिरिक्त स्थानीय सञ्चार माध्यम एवं माइकिङबाट संक्रमणबाट बच्ने सूचना प्रसारण, नगरबासीका नाममा अपिल र सम्बोधन, फोनमार्फत जानकारी, फिल्डमा खटिई सूचना प्रवाह, विविध स्थानमा राखिएका सूचना पाटीलगायतका माध्यमबाट जनचेतनाको अभिबृद्धि गरिरहेका छौँ ।

कोरोना रोकथाम, नियन्त्रण र सचेतना मै नगरको हालसम्म के कति बजेट खर्च भएको छ ?
संघीय सरकार, वागमती प्रदेश सरकार र नगरपालिकाको तर्फबाट कोरोना विपद् ब्यवस्थापनमा विनियोजित रकममध्ये श्रावण मसान्तसम्म १ करोड ४४ लाख ५४ हजार खर्च भएको छ । जिल्लाकै सदरमुकाम एवं रसुवाको समेत केन्द्र भएकोले यहाँ विभिन्न पालिकाका मानिस कुनै न कुनै रुपमा क्वारेन्टाइनमा ब्यवस्थापन गर्नुपर्ने सिएमसिको निर्णय बमोजिम विदुर नगरपालिकाले ब्यवस्था गर्नुपर्ने, हाम्रै नगरपालिकामा रहेको त्रिशूली अस्पतालको आईसोलेशन कक्षलगायत अन्य जनशक्तिको समेत ब्यवस्थापनमा हाम्रो अहम भूमिका रहने हुनाले बजेट खर्चमा केही बृद्धि भएको देखिन जान्छ । सिएमसि नुवाकोटको निर्णयानुसार माननीय संघीय सांसद नारायणप्रसाद खतिवडामार्फत पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट नगरपालिकाको कोषमा सोधभर्ना हुने गरी त्रिशुली अस्पतालमा आर.टी. पि.सि.आर ल्याब स्थापना भई पुर्णरुपमा सञ्चालन गरी कोरोना रोकथाम एवं नियन्त्रणमा अर्को इँट्टा थप गर्नको लागि विदुर नगरपालिकामार्फत कार्य भईरहेको समेत नगरबासीलाई जानकारी गराउँछु । कोरोना रोकथाम, नियन्त्रण र सचेतनाको लागि बजेटको कमी हुन दिएका छैनौैं ।

नगरपालिकाको खर्चको विवरण पारदर्शी भएन भन्ने आवाज यदाकदा सुनिदै आएको छ नि । यस बारेमा तपाईको भनाई के छ ?
खर्चको विवरण कार्यपालिकाको बैठकमा पेश भई प्रत्येक खर्चमा छलफल गरी प्रस्तुत भईरहेको हुँदा त्यस्तो पारदर्शी भएन भन्ने ठाउँ नहुनुपर्ने हो । तथापी कसैलाई त्यसबारेमा प्रश्न भए प्रक्रियागत रुपले खर्च विवरण माग गर्दा पारदर्शी ढंगबाट उपलब्ध गराउन कार्यालय हरदम तयार छ ।

नगरपालिकामा जनप्रतिनिधी र कर्मचारीबिचको सम्बन्ध सुमधुर नभएको कुरा बाहिरिएको छ नि ?
नगरपालिकामा जनप्रनितिधीको भिजन र मिसनअनुसार कानूनसम्मत कार्यान्वयन गरी लक्षित गन्तब्यमा पु¥याउन अहम भूमिका खेल्नुहुने कर्मचारी भएकोले नङ र मासुको सम्बन्धमा रहनु अति आवश्यक छ । विगतमा केही सुस्ताएको जस्तो देखिएको विविध गतिविधी जनप्रतिनिधीको आगमन पश्चात निश्चित समय र सिमाभित्र रही सिमित श्रोत परिचालन गरी अत्याधिक प्रतिफल हासिल गराउनको लागि आवश्यक गति प्रदान गर्न गाडीको गति बढाउन गेयर परिवर्तन गरेको जस्तै गरी कर्मचारीलाई परिचालन गर्दा शुरुका दिनमा केही असहजता उत्पन्न हुनु स्वभाविकै हो तर बिस्तारै जनप्रतिनिधीको रफ्तारमा कर्मचारी कार्य सम्पादनमा अभ्यस्त हुन थालेपछि यसले सुमधुर सम्बन्धका साथ काम अगाडी बढिरहेको छ । झण्डै २ सयको हाराहारीमा रहेका कर्मचारीको क्षमता र गतिमा एकरुपता नहुनु स्वभाविकै हो । त्यसैले छिटफुट एक दुई जनालाई अपवादमा राखी बाँकी सम्पुर्ण कर्मचारी र जनप्रतिनिधीको बिचमा एउटै डुंगामा सवारयात्रीको भावना अनुरुप काम भईरहेको छ । बाहिर के चर्चा हुन्छ मलाई थाहा हुँदैन, नगरपालिकामा कर्मचारी र जनप्रतिनिधीबीच मनमुटाव बढ्ने परिस्थितीको सिर्जना अहिलेसम्म भएको छैन । कहिलेकाँही बुझाईको कमि कमजोरीले केही समस्या आएपनि क्रमशः समाधान हुँदै गएको छ ।

महालेखाको प्रतिवेदन भन्दै बैकल्पिक डिपबोरिंङ खानेपानीको विषयमा भ्रष्टाचार भएको समाचार बाहिर आएको छ नि ? यथार्थ के हो ?
यस विषयमा पत्रकार सम्मेलन गरी नगरपालिकाको तर्फबाट एवं उपभोक्ता समितिको तर्फबाट समेत विषय वस्तुलाई प्रष्टाई सकिएको छ । तथापी यहाँको प्रश्नअनुसार महालेखाले खाली नीतिगत रुपमा ठुला मेशिन औजार प्रयोग गर्ने कार्यमा सकेसम्म ठेक्का प्रक्रियामा गई कार्य सम्पन्न गर्न दिईएको सुझावलाई आफूभित्र मनमा रहेका कुण्ठा र मसँगको ब्यक्तिगत असमझदारी एवं आफ्नो स्वार्थपुर्ती नहुने माग सम्बोधन नभएको परिवेशलाई कलमको दुरुपयोग गरी जुन तरिकाले समाचार सम्प्रेषण गरिए, त्यसप्रति खेद ब्यक्त गर्न चाहान्छु । बाह्र सय घरधुरीका जनतालाई खानेपानीको चरम अभाव न्युनीकरण गर्न नगरसभाबाट प्रमुखको लागि गाडी खरिद योजनामा विनियोजन गरिएको रकमलाई रकमान्तर गरी सहयोग गरेका थियौं । खानेपानी आपुर्तिमा ब्यवस्था गरेपश्चात जुन रफ्तारमा काम भयो, वडा नं.–२, ४ र ६ का जनताको मनोभावना र आवश्यकता पुुर्ती गर्न त्यो योजनाले ठुलो भूमिका खेलेको छ । त्यसैले जुन प्रश्न तपाईले उठाउनु भयो त्यो खाली ईश्र्या, डाह र छटपटाहटको एउटा नमुना रहेको र हामी निर्वाचित भएर आईसके पछाडीको अवधिमा भए गरेका सम्पुर्ण कार्यहरुको टिका टिप्पणी गर्ने कुनै पनि आधार नभेटेको परिवेशमा महालेखालाई हावाला दिँदै जुन समाचार सम्प्रेषण भएको छ त्यसले माथि उल्लेखित नगरबासी उपभोक्तालाई न्याय गर्दैन भन्ने मलाई लाग्छ । म आफू पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नेलाई पनि छाड्दिन । मेरो बारेमा भ्रष्टाचारको हल्ला गर्नेहरूले प्रमाण पेश गरून्, मेयर पद त्याग्न तयार छु ।

नगरमा सञ्चालित एक क्रसर उद्योग सम्बन्धमा तपाईलाई मुछेर हल्ला गरिएको छ । यथार्थ के हो ?

समय तपाईले सान्दर्भिक प्रश्न गर्नुभएकोमा धन्यवाद । हामी निर्वाचित भएर आएको २०७४ सालको परिवेशलाई फर्किएर स्मरण गर्न म अनुरोध गर्दछु । जुन बेला स्थानीय जनता भूकम्पको राहतमार्फत आवास निर्माण गर्ने चरणमा थिए । त्यतिबेला निर्माणजन्य सामाग्री बालुवा र गिट्टीको मुल्य प्रति क्युबफिट ६० रुपैयाँ भन्दा बढी तिर्न बाध्य थिए नगरबासी । आफ्नै घर आँगनबाट बगेर जाने ढुंगा, गिट्टी, बालुवा कुनकुन अमुर्त कारणले हो लागत बृद्धि भई भूकम्प पिडित जनता महंगो मुल्यको निर्माणजन्य सामाग्री खरिद गर्न बाध्य पारिएको थियो । त्यसैले ती नदेखिएका अरिरिक्त खर्च कटौती गरी नगरबासीले सोही सामाग्री ३० रूपैयाँ भन्दा बढी तिर्न नपर्ने गरी स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी कार्यपालिकाको निर्णयानुसार नगरभित्र सञ्चालित सम्पुर्ण आयोजनाको कार्यमा प्रयोगमा आउने गरी र स्थानीय आपुर्ति समेत पुरा हुने गरी क्रसर सञ्चालनमा केही सहजता प्रदान गरेकै हो । तपाईमार्फत म पुनः एकपटक मेरो उल्लेखित बाहेकका कुनै पनि लुकेका ब्यक्तिगत स्वार्थहरु नरहेको र आफ्नो स्थानीयश्रोत बगेर जाने अनि चितवनदेखि १ सय २० रूपैयाँसम्म महंगो मुल्यमा आयात गरी कालोबजारी गर्ने नियत बोकेका सिमित ब्यक्तिको स्वार्थ केन्द्रित रही जनतालाई मारपार्ने किसिमका गतिविधीमा हामी बाधक रहेको कारणले छटपटाहट स्वरुप ती अभिब्यक्ति सुनिन थालिएको छ । जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखको परिवर्तनसँगै यस्ता खाले कुतत्वको चलखेल र सल्वलाहट अलि शंकास्पद पनि लागिरहेको छ । यसमा हामीले ध्यान दिएका छैनौं । नगरभित्रकै स्रोत र साधनको उचितम प्रयोगमा हामीले ध्यान दिईरहेका छौं ।

अन्तमा नगरबासीलाई केही भन्नु छ कि ?
जनचाहना र जनहितलाई शिरमा राखी नगरबासीको सेवा गर्न र नगरको विकास गर्नु एक मात्र लक्ष्य बोकी जनप्रतिनिधीको हैसियतमा उभिएको म लगायत विध्यमान सम्पुर्ण टिमका साथीको साथ र सहयोगमा भ्रष्टाचार शुन्य नगरपालिकाको रुपमा विदुरलाई चिनाउन लागिरहेका छौं । विकासको कार्यमा कानून सम्मत हुन सक्ने सम्पुर्ण कार्यको कार्यान्वयनमा आउन सक्ने सम्पुर्ण चुनौतीलाई पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मुल मर्मअनुसार काम गरिरहेका छौं । भविष्यमा समेत कुनै कमी नराखी अनवरत रुपमा आफ्ना कार्य अगाडी बढाई रहने प्रतिबद्धता जनाउन चाहन्छु । राम्रा र रचनात्मक सुझावको सदैव स्वागत गर्दै अगाडी बढ्ने र विदुरबासीको हित नै एक मात्र गन्तब्य हो भन्ने आशयका साथ सेवामा समर्पित रही रहने बाचा समेत गर्दछु । नगरबासीलाई स्थानीय सरकारको अनुभूति मिल्ने, प्रकृतिको विकास, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्रशासन, निर्यातमुखी ब्यवसायी कृषि प्रणाली, सरसफाईयुक्त नगरपालिका, बालमैत्री नगरपालिकाको रूपमा परिचित गराउने सोच छ । त्यसको लागि आवश्यक क्रियाकलाप सञ्चालन गर्दै आएका छौं ।