निषेधाज्ञा परिमार्जन असोज १ देखि सार्वजनिक सवारी चल्ने

विदुर, नुवाकोट एक महिनादेखि जारी निषेधाज्ञालाई स्थानीयको सल्लाह र सुझावमा दैनिक जनजीवन सहज बनाउन जिल्ला प्रशासन कार्यालयले खुकूलो बनाई परिमार्जन गरेको छ ।

साउन २५ गतेदेखि लगातार निषेधाज्ञा जारी गर्दै आएको जिल्ला संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले स्वरूपमा परिवर्तन गरेर बेलकोटगढी नगरपालिका वडा नं.–२ अन्र्तगत धादिङको आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्र र वडा नं.–५ को गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक हुँदै नुवाकोट प्रवेश गर्ने सम्पूर्ण क्षेत्रलाई शिल गर्ने निर्णय गरेको छ । बैठकले शिवपुरी गाउँपालिकाको वडा नं.–६, ७, ८ र ककनी गाउँपालिकाको पासाङल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने वडा नं.–१, ८ र २ का सम्पूर्ण क्षेत्रमा भने भाद्र ३१ गतेसम्मको लागि निषेधाज्ञा जारी राखेको छ । जिल्लाको अन्य क्षेत्रमा भने स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर सामाजिक दूरी कायम गरेर नियमित कार्य गर्न छुट दिएको छ । प्रशासनले असोज १ गतेदेखि जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । त्यसको लागि ब्यवसायीले तोकिएको सुरक्षाका मापदण्ड र सामाजिक दूरी पालना गर्न अनुरोध गरेको छ । अन्य गतिविधी गर्न विगतकै निर्णायानुसार पाउने समेत उल्लेख गरेको छ ।

स्थानीय प्रशासनले कोभिड–१९ को संक्रमणका कारण दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भई खानाको अभाव भएका नागरिकलाई भोकै बस्नुपर्ने अवस्था आउन नदिन राहत उपलब्ध गराउन १२ वटै पालिकालाई अनुरोध समेत गरेको छ । कोरोनाको संक्रमितको संख्या बुधबारसम्म जिल्लामा १ सय ५ पुगेको छ । जसुमा २४ महिला र ८१ पुरूष रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । जिल्लामा पिसिआर परीक्षणको नतिजा १ सय ७१ वटा आउन बाँकी रहेको छ । कोरोनाबाट निको भएर अहिलेसम्म जिल्लाको ७७ जना घर फर्केका छन् ।