सुगिष्मा उत्कृष्ट पाठक

बेलकोट, १३औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बेलकोटगढी नगरपालिका वडा नं.–१० तादीमा रहेको बरदेवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेल नेपालभरीबाटै यस वर्षको सर्वोत्कृष्ट पाठक घोषित भएकी छिन् ।

कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअल रुपमा मनाईएको थियो । स्वास्थ्य जोखिमका कारण शिक्षालय र पुस्तकालय गत चैत ५ गतेदेखि बन्द रहे तापनि डिजिटल प्रणाली र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको दिवस मनाएको थियो ।

मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाले यस वर्षको सर्वोत्कृष्ट पाठक भएको उहाँलाई घोषणा गर्नुभयो । भर्चुअल समारोहका प्रमुख अतिथी एवं शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलको समुपस्थिति उहाँलाई भर्चुअल रुपमै प्रशंसापत्र प्रदान गरिएको थियो । नेपालमा सम्वत् १८६९ साल भाद्र १५ गते पुस्तक चिताई तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गिर्वाणयुद्ध विरबिक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै सम्वत २०६५ साल भदौ १५ गतेदेखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।