स्वास्थ्यकर्मीमाथीको आक्रमण अक्षम्य अपराध

– बाबुकाजी कार्की

कोरोना कहरमा देवीदेवता समेत निरीह बनेको बेला स्वास्थ्यकर्मी कोरोना संक्रमितका लागि बोल्ने देवता हुन् । संक्रमितलाई आफन्त, नातागोता, साथीभाई समेत छन् डराउनुपर्ने अवस्थामा स्वास्थ्यकर्मीले मात्रै नजिकबाट स्वास्थ्य परीक्षण र उपचार गरेका छन् । संक्रमितको प्रत्यक्ष स्वास्थ्योपचारमा खटिएका विश्वमा कैयौं चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालक आदिले ज्यान गुमाएका छन् । चीनको बुहानमा सर्वप्रथम कोरोना भाईरस पहिचान गर्ने चिकित्सक कै संक्रमणका कारण मृत्यु भईसकेको छ । कोरोना संक्रमितको उपचारमा लागेका विभिन्न तहका चिकित्सक मध्ये विश्वभर ५ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन् ।
नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाईकर्मीलाई कोरोना पोजेटिभ देखिईसकेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा संक्रमण हुने दर तिव्र गतिमा बढ्दो छ । सौभाग्यवस सबैको स्वास्थ्य अवस्था सामान्य भएको र निश्चित समयको उपचारपछि पेसागत जीवनमा फर्किसकेका छन् । जनसमुदायमा संक्रमितको संख्या बढ्ने गतिसँगै यिनीहरुमा संक्रमण पनि बढ्ने जोखिम उत्तिकै छ । कोरोना विरुद्धको लडाईमा अग्रपङ्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि आक्रमण भएका निन्दनीय घटना पनि भएका छन् । केही दिन अघि बाँकेको नरेनापुरमा स्वास्थ्य र सुरक्षाकर्मीमाथि हमला भएको थियो । भरखरै डोटी स्वास्थ्योपचारका लागि आवश्यक सामग्री लिएर स्वास्थ्य केन्द्र हिंडेका स्वास्थ्यकर्मी माथी सांघातिक आक्रमण भएको छ । त्यस्तै कोरोना सर्छ भन्ने आशंका र आरोपमा स्वास्थ्यकर्मीको आफ्नो घर जाने बाटो नै बन्द गरिदिएको घटना सार्वजनिक भएको थियो । कोरोना विरुद्धको लडाईमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीमाथी मानसिक, शारीरिक तथा सामाजिक किसिमले, आक्रमण, दुब्र्यवहार र अपमान हुनु अक्षम्य अपराध हो ।
पछिल्लो समय चितवन र काठमाडौंमा नै यस्तो लज्जास्पद घटना घट्नु निन्दनीय दुश्कर्म हो । यस्ता अमानवीय दुश्कर्ममा कतिपय ठाउँमा जनप्रतिनिधीको अगुवाईमा नै हुनु लज्जास्पद हो । संक्रमितको उपचारमा नजिकबाट खटिएका स्वास्थ्यकर्मीरुपी देवदूतलाई हातपात, दुब्र्यवहार गरेको समाचार सार्वजनिक हुनु दुःखद हो । अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवस पनि यस्ता अप्रिय घटना हुने गरेका छन् । यस्ता अमानवीय घटनाप्रतिजिम्मेवार जो कोहीलाई पनि निर्मम कार्वाही गरी अग्रपङ्तीमा खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न हिच्किचाउनु गम्भिर भुल हुन जान्छ । यस्ता अमानवीय र आत्मघाती कदम गर्ने विविध कारण हुन सक्छन् । कोरोना कहरमा स्वास्थ्यकर्मीको महत्व थाहा नपाएर वा अरुको लहैलहैमा लागेर, जे गरेपनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीमा कोरोना संक्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झूण्डले वितण्डा मच्चाउने उच्छृंखल तत्वहरुको सक्रियतामा यस्ता असामाजिक दुब्र्यवहार हुने गर्छन् । यस्ता नकारात्मक प्रवृत्तिलाई निरुत्साहित र नियमन गर्न जनचेतनामूलक कार्य तथा सख्त कानूनी कार्वाही गर्न सरकार, समुदायलगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्व गरिनु हुन्न । स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिंदा आउने भयावह स्थितीको आंकलन गरेर बेलैमा कडा कार्वाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शिता ठहर्छ ।
उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीले आफ्नो बालबच्चा र घरपरिवारलाई नभेटेको कैयौं दिन भईसकेको छ । उता परिवारजन पनि आफन्तलाई केही होला कि भन्ने आशंका र चिन्ताले पिरोलिई राखेका हुन्छन् । अन्य पेसाकर्मी आफ्नो परिवारजनसँग रमाईरहेका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र सञ्चारकर्मी देश र जनताका लागि निरन्तर खटिईरहनु सम्मानयोग्य काम हो । तर उनीहरुले सरकार, सरोकार र जनसमुदायबाट पर्याप्त प्रशंसा, प्रोत्साहन र सम्मान नपाएको गुनासो जायज छ । केही समयअघी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबबाट पनि कट्टी गरी कोरोना राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको हल्ला चलेको थियो । जसको विपक्षमा ब्यापक सार्वजनिक आलोचनापछि कटौती नहुने सरकारले जानकारी गराएको थियो । उनीहरुलाई आकर्षक जीवन बीमालगायत अन्य आर्थिक, सामाजिक तथा मनोवैज्ञानिकरुपमा उच्च मनोबलयुक्त बनाउन सके मात्र कोरोना विरुद्धको लडाई सहजरुपमा जितिनेतर्फ नागरिक समाज र सरकारले हेक्का राख्नु जरुरी छ । स्वास्थ्यकर्मीको लागि आवश्यक ब्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव, राज्यको चौथाें अंगको रुपमा स्वीकार्यको सञ्चारकर्मीको लागि सामान्य सुविधा पनि आफैंले जोहो गर्नुपर्ने, सरसफाईकर्मीका लागि फोहोरमैलाको संक्रमणबाट बच्ने पीपीई, स्यानीटाईजरलगायतका सामग्रीमा पहुँच नहुनु, त्यस्तै अहोरात्र सडक र समुदायमा खटिने सुरक्षाकर्मीका लागि समेत पर्याप्त स्वास्थ्य सामग्रीको अभाव रहेको गुनासो समयमै संबोधनमा ध्यान जानुपर्दछ । उनीहरुलाई आफ्नो पेशाप्रति अझ दत्तचित्त भएर लाग्न प्रोत्साहित वातावरण र सुविधा प्रदान गर्न कन्जुस्याई गरिनु हुन्न ।
कोरोना महाब्याधी उपचारको अहिले सम्म निश्चित औषधी पत्ता लागिसकेको छैन । उपचार भन्दा पनि रोकथामका उपाय नै कोरोना बच्ने उत्तम उपाय ठहरेको छ । शुरुमा चमेरो बाट मानवमा सरेको कोरोना भाईरस अहिले मानवबीचको संसर्गबाट सर्दैछ । मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपाय हुन सक्छन् । अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रिय बनेको छ । त्यस्तै कोरोना संक्रमित पहिचान र उपचारका लागि ट्रेसिङ, टेस्टिङ्ग र ट्रिटमेन्टलाई अभियानको रुपमा संचालन गर्नुपर्ने बाध्यता भएको छ । कोरोनालाई परास्त गर्न स्वःअनुशासन, स्वस्थ र स्वच्छ बानी बेहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो । रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक ब्यायम तथा सकारात्मक सोच पनि प्रभावकारी हुने विज्ञको दावी छ । कडाउनमा पनि कतिपय ब्यक्ति अनावश्यकरुपमा घरबाहिर निस्केर रोग सल्किने जोखिमलाई निम्त्याएका कतिपय घटना सार्वजनिक हुने गरेका छन् । स्वास्थ्यकर्मी आफ्नो रोजीरोटीको लागि मात्रै नभएर मानव सेवा जस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलो ज्यानले लागेका छन् । उनीहरुको हौसला र मनोबल बढाउन सर्वसाधारणदेखि सरकारसम्मले मुक्तकण्ठले प्रशंसा, प्रोत्साहन तथा सम्मान गर्नु हामी सबैको धर्म हो ।

(लेखक : पूर्व उपसचिव शिक्षा मन्त्रालय )