चिज उत्पादन केन्द्रले दुध लिएन

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड मार्गको चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रले किसानको दुध नलिंदा चौरी पालन किसान मर्कामा परेका छन् ।

बंैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन केन्द्रलाई दुध बिक्रि गर्दै आएका किसानले यस वर्ष पुरा समय दुध बिक्रि गर्न पाएका छैनन् । विश्वब्यापी फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण केन्द्रमा उत्पादित चिज बिक्रि नभएपछि दुग्ध विकास संस्थान अन्र्तगत रहेको केन्द्रले दुध लिन छाडेको छ । रसुवाको नौकुण्ड गाउँपालिका वडा नं.–१, सिमबन्दीका दावा सिदार तामाङले वार्षिक रुपमा केन्द्रलाई दुध बिक्रि गरेर परिवार पाल्दै आएका थिए । तर अहिले केन्द्रले दुध लिन छाडेपछि के गर्ने भन्ने अन्यौलमा पुगेका छन् । उनको पुरै परिवारले चौरी पालेर केन्द्रलाई दुध बिक्रि गर्दै आएका थिए । अहिले पनि उहाँसँग १५ वटा चौरी रहेको छ । उहाँको परिवार विगत २० वर्षदेखि यही पेशामा संलग्न छ । उहाँले प्रत्येक वर्ष बैंशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन केन्द्रलाई दुध बिक्री गर्दै आउनुभएको थियो । पहिले कृषकले दुध बिक्री नहुँदा घिउ र छुर्पी बनाएर बिक्री गर्ने गरेका थिए । तर अहिले रसुवामा दुग्धजन्य उत्पादनको बिक्रि शुन्य रहेको छ ।

भूकम्पको समयमा समेत दुध बिक्री भएको रसुवाका कोरोना भाईरसको प्रकोपले उत्पादन ठप्प भएको छ । कृषकले १० वटादेखि ४० वटासम्म चौरी पालेका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ पाङलेखर्कमा रहेको चीज उत्पादन केन्द्रले २०७१ देखि नियमित दुध लिँदै आएको थियो । केन्द्रमा उत्पादन भएको चीज बिक्री नभएको र केन्द्रको भण्डारण क्षमता भन्दा बढी चीज उत्पादन भएपछि भदौ १६ गतेदेखि नै चीज उत्पादन बन्द गरेको छ । दुग्ध विकास संस्थान अन्र्तगत सञ्चालनमा रहेका केन्द्रबाट उत्पादन भएको चीज अहिले संस्थानमा लैजान सकिएको छैन । केन्द्रका प्रमुख जीतबहादुर जिरेलले भूकम्पले भत्केको भवन अहिलेसम्म पुनःनिर्माण हुन नसकेको र संस्थानमा पनि चीज जान छाडेपछि उत्पादन बन्द गर्नु परेको जानकारी दिनुभयो ।